नेपाल एकीकरण पूर्व बाइसे चौबिसे राज्य कालमा लिगलिगकोट चौबिसे राज्य अन्तर्गत पर्दथ्यो। इतिहासमा उल्लेख भए अनुसार मगर घलेहरूको यस राज्यमा राज्य गर्दथे । अन्य राज्यहरुमा राजाका छोराहरु राजा बन्दथे । तर, लिगलिगमा अलग्गै नियम थियो । दसैंको दिन दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि लिगलिगे वाङ अर्थात राजा हुने प्रचलन थियो। नेपाली राजनीतिमा बेला बेलामा प्रयोग हुने वाक्य हो, लिगलिगै दौड । सत्ताका लागि दौडधुप गरी रहनेहरूलाई फरक रूपमा चित्रण गर्दा ‘लिगलिगे दौडमा छन्’ भन्ने गरिन्छ।
तर, इतिहासलाई हेर्ने हो भने त्यस बेलाको चलन अनुसार दौड गराएर राजा छान्ने चलन तत्कालीन अवस्था अनुसार प्रजातान्त्रिक र उपयुक्त भएको देखिन्छ । त्यस बेला साना–साना राज्यहरूबीच भई रहने झगडा र लडाइँका कारण राज्यलाई संरक्षण गर्न सक्ने जुक्ति र बल भएका व्यक्तिले मात्रै राज्यको नेतृत्व गर्नु उपयुक्त मानिन्थ्यो र ठानिन्थ्यो । त्यही कारण पनि जो सबैभन्दा फूर्तिलो र सबभन्दा बलियो छ, त्यही व्यक्तिलाई राजाको रूपमा छनोट गर्ने चलन भएको हुनुपर्छ । यस राज्यमा दलसुर घलेमगर बाह्रौं पटकसम्म लिगलिग राज्यको राजा बनेका थिए । १३ औं पटकको दौडमा भने द्रब्यशाहले जितेका हुन् ।
तत्कालीन लिगलिग राज्यमा लोकतान्त्रिक पद्धति भएको मानिन्छ । जहाँ खेलकुदलाई महत्व दिएर आफ्नै विशिष्ट संस्कृति ‘लिगलिगे दौड’ द्वारा राज्य सञ्चालित हुने परम्परा बसालिएको थियो। त्यो समयमा लिगलिग राज्यमा मात्र राज्य सञ्चालन प्रक्रियामा समान सहभागी हुन पाउने हक अधिकार थियो । अनि त्यस प्रक्रियाको परिणामलाई स्वीकार गर्ने एउटा अद्वितीय लोकतान्त्रिक पद्धतिको अभ्यास र मान्यताको विकास गरिएको थियो ।
यस ऐतिहासिक तथ्यलाई केलाएर हेर्दा के भन्न सकिन्छ भने, हाल विश्वमा प्रजातान्त्रिक मुलुक मानिएका राष्ट्रहरूभन्दा पनि अगावै लिगलिगकोटमा लोकतान्त्रिक पद्धतिको विकास भैसकेको थियो ।
विक्रम सम्वत १६०४ देखि यहाँ लिगलिगे दौडमार्फत राजा छनौट गर्ने चलन शुरु भएको थियो । यहाँ दलसुर घले मगरहरूले जित्दै आएको लिगलिगे दौड वि.सं. १६१६ मा लमजुङका राजकुमार द्रव्यशाहले दौडेर लिगलिग राज्य आफ्नो हातमा लिएका थिए। यद्यपि यसमा भने विवाद छ। कसैले दौडेर जिते भनेका छन् भने कसैले गणेश पाँडे, गंगाराम रानाहरूको सहकार्यमा दौडका बेलामा आक्रमण गरी घलेमगर राजालाई मारेर लिगलिगकोट रजाइँ गरे भनेका छन्।
द्रब्यशाहले लिगलिगकोट जितिसकेपछि केही घले मगरहरूलाई लखेट्दै ५ घले मगरलाई मारेकाले पाँच चिहान अर्थात पाच्यान भन्ने गरियो भन्ने छ। तर, मगर भाषाले पच्यङ भन्नाले पत्रैपत्रको ढुंगा भनेर बुझिन्छ । पच्यङ अपभ्रंश भएर पाच्यान भएको पनि हुन सक्छ। योभन्दा भिन्न अर्काे तथ्य पनि छ। यहाँ आँपपिपल भञ्ज्याङभन्दा वर रघुवा अर्थात रगुवा मगर भाषाले रगतै रगतको आहाल सत्य नजिक पनि हुन सक्छ। किनकी, गणेश पाण्डेहरूले छोप्राकमा द्रब्यशाहलाई छोपेर, लुकाएर राखेकोबाट लिगलिगकोट हान्न द्रब्यशाहलाई ल्याउँदै गर्दा बीच बाटोमा पर्ने ठाउँ रघुवामा सबै मगरहरूलाई मार्दै गर्दा रगतको आहाल बनेको पनि हुन सक्छ। यद्यपि द्रव्य शाहले घले मगरहरुको हत्या गरेर लिगलिगकोट आफ्नो हातमा लिए या दौडेर जितेका हुन्। यसमा इतिहास विभाजित छ । तर, सत्य कुरा के हो भने, द्रव्यशाहको उदय पश्चात् लिगलिगे दौडको परम्परा पनि अन्त्य भयो । पछि द्रव्यशाह गोरखा राज्यको गद्दीमा आसिन हुन पुगे र उनैको सन्तान पृथ्वीनारायण शाहले साना राज्यहरूको एकीकरण गरी आधुनिक नेपालको जग बसालेका हुन् ।
यसै कारणले पनि लिगलिगकोटलाई आधुनिक नेपालको उद्गमस्थलको रुपमा भएको बुझिन्छ ।
लिगलिगे दौडको समाप्ती बिन्दु लिगलिगकोट कालिका मन्दिर हो। यो तथ्य अकाट्य छ। तर, सुरूआती बिन्दुको हकमा भने इतिहास लेखनमा फरक फरक तर्क छन् । कसैले मस्र्याङदी र चेपेको दोभानबाट सुरू हुन्थ्यो भनेका छन्। त कसैले भुसुन्डी चोरकाटे शिवालयबाट भनेका छन्। कसैले तल्लोकोटबाट भनेका छन्। यर्थातमा कुन विन्दु सुरुवाती हो भन्नेमा यकिन तथ्य भएको देखिन्न । ००००








