४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

घरजग्गा कारबार बौरिदै करिब पाँच प्रतिशतले वृद्धि !


३० भाद्र २०८३, मंगलबार  


राष्ट्र बैंकको अध्ययनअनुसार गएको आर्थिक वर्षमा घरजग्गा कारोबार संख्या ४.७४ प्रतिशतले बढेको छ भने चौथो त्रैमासमा मात्रै कारोबार १२.२५ प्रतिशतले उक्लिएको देखिन्छ।


लामो समय सुस्त रहेको घरजग्गा कारोबार पछिल्ला महिनामा उक्लिन थालेको राष्ट्र बैंकको अध्ययनले देखाउँछ। राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थितिअनुसार गत आर्थिक वर्षमा घरजग्गा कारोबार संख्या ४.७४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार संख्या १.८४ प्रतिशतले घटेको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा मात्रै घरजग्गाको कारोबार १२.२५ प्रतिशतले बढेको छ । यसले गएको आर्थिक वर्षको यही त्रैमासमा घरजग्गा कारोबारमा सुधार आएको देखाएको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या १४.६५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा घरजग्गा कारोबारमध्ये लिखत पारितअन्तर्गतको कारोबार संख्या १२.२८ प्रतिशतले बढेको प्रतिवेदनले औंल्याएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या १५.४५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा लिखत पारितअन्तर्गतको राजीनामा कारोबारको संख्या २२.८८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या ८.१५ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ ।

गएको आर्थिक वर्षमा चौथो त्रैमासमा कारोबार भएको कुल क्षेत्रफल १५।.४१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ७ खर्ब २०.८६ अर्ब बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षमा ३ खर्ब ८६.१५ अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो ।

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा २ खर्ब ७३.७६ अर्ब बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १ खर्ब २७.६१ अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो ।

गएको वर्षको अन्तिम त्रैमासमा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व ४८.२६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो राजस्व २३.४५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

गएको आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गा कारोबारबाट संकलन भएको पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लाभकर २९.९८ प्रतिशतले बढेको थियो । ‘गएकाे आर्थिक वर्षको चौथो घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा (आवासीय घरजग्गा कर्जासहित) ६.९३ प्रतिशतले बढेको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो ।’

प्रादेशिक रूपमा हेर्दा पनि गएकाे आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गा कारोबारमा सुधार भएको प्रतिवेदनले औंल्याएको छ । यसअनुसार आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा बागमतीमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ६९.३८ प्रतिशतले बढेको र मधेशमा ३.४४ प्रतिशतले घटेको छ । अन्य सबै प्रदेशमा यस्तो कारोबार संख्या बढेको प्रतिवेदनमा उल्लेख छ ।

गएको आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गाको कारोबार भएको कुल क्षेत्रफल अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बागमतीमा सबैभन्दा धेरै ५०.२४ प्रतिशतले बढेको छ, मधेशमा भने सबैभन्दा धेरै ६.१९ प्रतिशतले घटेको छ ।

‘चौथो त्रैमासमा सातवटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यस अवधिमा बागमतीमा सबैभन्दा धेरै १७५.३३ र मधेशमा सबैभन्दा कम ३१.९८ प्रतिशतले कारोबारको कुल मूल्य बढेको छ,’ राष्ट्र बैंकले भनेको छ ।

समीक्षा अवधिमा सातै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा धेरै कारोबार भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मधेशमा २० आनाभन्दा बढीका प्लटमा सबैभन्दा धेरै कारोबार भएको थियो । उक्त अवधिमा अन्य सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा धेरै कारोबार भएको थियो ।
महानगरपालिकास्तरमा पनि घरजग्गा कारोबारमा सुधार भएको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा काठमाडौं महानगरपालिकामा घरजग्गाको कुल कारोबारको संख्या सबैभन्दा धेरै १५५.७४ प्रतिशतले बढेको छ । त्यसपछि क्रमशः ललितपुर महानगरमा १३६.९२, पोखरा महानगरमा १०८.७१, भरतपुर महानगरमा ६३.०४, विराटनगर महानगरमा ४७.५९ र वीरगन्ज महानगरमा २९.१९ प्रतिशतले बढेको देखिन्छ ।

समीक्षा अवधिमा कारोबार भएको कुल क्षेत्रफल सबै महानगरपालिकामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको प्रतिवेदनले औंल्याएको छ । यस्तो वृद्धिदर काठमाडौं महानगरमा सबैभन्दा धेरै २०८.२२ र वीरगन्ज महानगरमा सबैभन्दा कम १३.३१ प्रतिशत रहेको देखिन्छ ।

गएको आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गा कारोबारको कुल मूल्य सबै महानगरपालिकामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको प्रतिवेदनले औंल्याएको छ । यस्तो वृद्धिदर काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै २१७.४० प्रतिशत छ ।

उप–महानगरपालिकास्तरमा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा कलैया उप–महानगरपालिकाबाहेक सबै उप–महानगरपालिकामा घरजग्गा कारोबारको संख्या बढेको छ । यसअनुसार धनगढी उप–महानगरमा सबैभन्दा धेरै ७३.१६ प्रतिशतले बढेको छ । कलैया उपमहानगरमा भने यस्तो कारोबार संख्या स्थिर रहेको प्रतिवेदनले औंल्याएको छ ।

गएको आर्थिक वर्षको चौथो त्रैमासमा कारोबार भएको कुल क्षेत्रफल सबै उपमहानगरपालिकामा बढेको छ । यसअनुसार हेटौंडा उपमहानगरमा सबैभन्दा धेरै १०४.१६ प्रतिशतले बढेको छ ।

गएको आर्थिक वर्षको अन्तिम त्रैमासमा घरजग्गा कारोबारको कूल मूल्य ११ वटै उपमहानगरमा बढेको छ । हेटौंडा उपमहानगरमा सबैभन्दा धेरै १८६.८० प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको हो ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ११ : ५० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित