१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

एयरपोर्टको घुसबाट क्यानको पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई जग्गा !


१७ श्रावण २०८३, आइतबार  


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठाँउका विमानस्थल निर्माणको ठेक्काबाट घुस संकलन भएको र त्यसबाट नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले जग्गा किनेको दाबी गरेको छ ।

अख्तियारका अनुसार विशेष अदालतमा पेस गरेको कागजात अनुसार, करिब तीन दर्जन भन्दा बढी मझौला र साना प्रकृतिका ठेक्कामा करिब एक प्रतिशतका दरले घुस संकलन भएको देखिन्छ । त्यसरी संकलित रकम प्रयोग गरेर अधिकारीले आफ्नी पत्नीको नाममा १३ आना जग्गा किनेका हुन् ।

क्यान महानिर्देशक अधिकारी २०६८ सालदेखि एक दशकसम्म विभिन्न आयोजनाको जिम्मेवारी र पदमा थिए । त्यही सिलसिलामा उनले २०७५ सालमा श्रीमती सुफल केसीको नाममा १३ आना जग्गा किनेका थिए । त्यो जग्गा ती आयोजनाबाट प्राप्त घुसको व्यवस्थापनको सिलसिलामा किनिएको अख्तियारको जिकिर हो ।

जग्ग किन्ने अधिकारी, भुक्तानी गर्ने अर्कै व्यक्ति

अख्तियारले विशेष अदालतमा पेस गरेको आरोपपत्र अनुसार, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रहेका बेला अधिकारीले श्रीमती सुफल केसीका नाममा क्यानडामा बस्ने सूर्य ताम्राकार र रजनी श्रेष्ठ ९ताम्राकार० बाट ललितपुरमा १३ आना जग्गा किनेका थिए ।

मालपोत कार्यालय, ललितपुरमा उनीहरूले ९१ लाख रुपैयाँको लिखत पेस गरेर त्यति रकममा कारोबार भएको देखाइ विवरण बुझाएका थिए ।

उनीहरूले सूर्य र रजनी ताम्राकारको खातामा पनि त्यति नै रकम भुक्तानी गरेको भनी मालपोत कार्यालयमा चेकको विवरण समेत पेस गरेका थिए ।

तर जग्गा बिक्री हुँदा सूर्य र रजनी दम्पतीको खातामा त्यो बाहेकको रकम पनि भेटियो । अख्तियारले विशेष अदालतमा पेस गरेको कागजातमा ठेकेदारहरू बासु खड्का, प्रेमप्रकाश ढकाल र ध्रुवप्रसाद तिमल्सिना अनि उनीहरू आवद्ध उमा एन्ड कम्पनी र तुलसी कन्स्ट्रक्सनबाट रकम भुक्तानी भएको थियो ।

सूर्य र रजनी दम्पती आफूले जग्गा बेचेपछि प्रदीप अधिकारीको परिवार बाहेकबाट एक करोड ७१ लाख रुपैयाँ लिएको स्विकारेका छन् र अख्तियारको दाबीमा त्यो रकम ‘घुस’ हो ।

‘घुसको रकम जग्गामा’

उमा एन्ड कम्पनी प्रालि र गायत्री निर्माण सेवाले नेपाल नागरिक उड्डयन प्राधिकरण र त्यसअन्तर्गत देशभर रहेका विभिन्न आयोजनामा मझौला र खुद्रे ठेक्काहरू पाएको विशेष अदालतमा पेस गरेको कागजातहरूबाट देखिन्छ ।

बासु खड्का, प्रेमप्रकाश ढकाल र ध्रुवप्रसाद तिमल्सिना उमा एन्ड कम्पनीका सञ्चालकहरू हुन् । लेनदेनमा जोडिएका अर्का व्यक्ति राजन खड्का उमा एन्ड कम्पनीका कर्मचारी हुन् । उनीहरूले अधिकारी दम्पतीलाई जग्गा बेच्ने रजनी श्रेष्ठ र सूर्य ताम्राकारलाई पटकपटक गरी एक करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको अख्तियारको आरोप हो ।

अख्तियारको दाबी अनुसार, देशभरका विभिन्न विमानस्थलमा निर्माणका कामहरू गर्दा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले घुस बापत रकम पाउनुपर्ने हिसाबकिताब भएको थियो ।

आफूले पाउनुपर्ने रकम जग्गा बेच्ने रजनी र सूर्य ताम्राकार दम्पतीको खातामा भुक्तानी गर्न लगाएको र उनीहरूबाट नाममात्रैको रकममा जग्गा किनेको अख्तियारको दाबी हो । कुल दुई करोड ७५ लाख रुपैयाँ मूल्यांकन भएको जग्गा मालपोतमा ९१ लाख रुपैयाँको मूल्यांकन ९थैली देखाएर० किनबेच भएको र बाँकी रकम घुसबापत व्यवस्थापन भएको अख्तियारको दाबी हो ।

‘सहकार्य र सहयोग हो’

अख्तियारमा बयान गरेका दुई कम्पनीका सञ्चालकहरूले विभिन्न ठाँउमा आफूहरूले ठेक्का पाएको र त्यसक्रममा सहकार्य र सहयोग बापत जग्गाको रकम तिरिदिएको बयान गरेका छन् । अख्तियारमा बयान गरेका बासु खड्काले महानिर्देशक अधिकारीसँगको सहकार्य र सहयोगमा प्राधिकरण र मातहतका निकायहरूको ठेक्का पाएको बयान गरेका छन् ।

उनले त्यसको सहजीकरणका लागि प्रेमप्रकाश ढकालले जग्गा बेच्ने ताम्राकार दम्पतीको खातामा कयौं पटक गरी रकम ट्रान्सफर गरिदिएको स्वीकारेका छन् । उनका अनुसार, ढकालले आफू आबद्ध कम्पनीहरूबाट एक करोड ४९ लाख रुपैयाँ सूर्य ताम्राकारको बैंक खातामा रकम पठाएका थिए ।

उनले बयानमा भनेका छन्, ‘ठेक्कापट्टामा नागरिक उड्डयन प्राधिकरणका कर्मचारी अधिकारीले विभिन्न समयमा ठेक्का प्राप्ति तथा सञ्चालनमा सहजीकरण तथा सहयोग गरे बापत प्रदीप अधिकारी र प्रेम प्रकाश ढकालले भने बमोजिम खातामा रकम दाखिला गरेको हो ।’

ठेकेदार कम्पनीका अर्का सञ्चालक ध्रुवप्रसाद तिमल्सिनाका अनुसार, नागरिक उड्डयन प्राधिकरणबाट उनीहरूले ३३ वटा ठेक्कामा करिव तीन अर्ब जति लागतका आयोजनाको काम गरेका थिए । उनले बयानमा ‘आगामी दिनको ठेक्काको सहजीकरणका लागि प्रदीप अधिकारीले भने बमोजिमको खातामा रकम दाखिला गरेको साँचो हो’ भनी स्वीकारेका छन् ।

‘अरूको कारोबार म जान्दिन’

यसअघि नै श्रृङखलावद्ध रूपमा भ्रष्टाचार मुद्दा खेपिरहेका क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले बयानका लागि बोलायो । उनले आफूले ९१ लाख रुपैयाँमा नै जग्गा किनेको र त्यसरी जग्गा किन्दा भुक्तानी गरेको रकम आफ्नो वैध स्रोत भएको दाबी गरे ।

उनले आफूलाई जग्गा बेच्ने व्यक्तिले अरूसँग गरेको कारोबारमा आफू जवाफदेही र जिम्मेवार हुन नसक्ने बयान दिए ।

‘जग्गा खरिद गर्दा ९१ लाख मैले भुक्तानी गरेको छु र वैधानिक स्रोतबाट रकम गएको छ,’ उनले बयानमा भनेका छन्, ‘असम्बन्धित व्यक्तिहरूबीच भएको कारोबारको विषयमा मलाई जानकारी हुने कुरा भएन र उनीहरूबीचको कारोबारहरूका कानुनी पक्षहरूको जिम्मेवारी निजहरूको नै हुने हो ।’

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ३ : ३३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित