१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

सरकार र हिन्दु सम्राट सेनाबिच १९बुँदे समझदारी, आन्दोलन स्थगित


१७ श्रावण २०८३, आइतबार  


पछिल्लो केही दिनदेखि मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा विकसित तनावपूर्ण अवस्थाबिच गृहमन्त्री सुधन गुरुङ र हिन्दु सम्राट सेना नेपालबिच भएको वार्ता १९बुँदे समझदारीमा टुंगिएको छ।

सरकारी पक्षले मागहरू अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि हिन्दु सम्राट सेनाले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ। आइतबार जनकपुरधामस्थित एक होटेलमा करिब डेढ घण्टा चलेको वार्तामा गृहमन्त्री गुरुङको नेतृत्वमा सरकारी प्रतिनिधिमण्डल सहभागी भएको थियो।

वार्तापछि हिन्दु सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीले शनिबार बुझाएको १३बुँदे मागपत्रमा थप ६ बुँदा समेटेर १९बुँदे प्रस्ताव सरकारसमक्ष प्रस्तुत गरिएको जानकारी दिए। उनका अनुसार सरकार ती मागप्रति सकारात्मक देखिएको छ र कार्यान्वयनका लागि आवश्यक गृहकार्य गर्न उपयुक्त समयमा समिति गठन गर्ने समझदारी बनेको छ।

समझदारीका मुख्य विषयहरूमा आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्ने, उनीहरूमाथि मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाइएको घटनाको छानबिन गरी दोषी सुरक्षाकर्मीमाथि कानुनबमोजिम कारबाही गर्ने विषय समावेश छन्।

सरकारी पक्षबाट माग सम्बोधनतर्फ पहल हुने आश्वासन प्राप्त भएपछि हिन्दु सम्राट सेना नेपालले सबै प्रकारका आन्दोलन, विरोध र दबाबमूलक कार्यक्रम स्थगित तथा फिर्ता लिएको जनाएको छ।

यसैबिच गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालयको सभाहलमा हिजो प्राप्त १३ बुँदे मागपत्र र आज बुझाइएको थप ६बुँदे प्रस्ताव सरकारका तर्फबाट औपचारिक रूपमा ग्रहण गरिएको बताए। उनले प्रस्तुत मागहरू सम्बन्धित निकायमार्फत अध्ययन गरी आवश्यक निर्णय प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन्।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ३ : २० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित