२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

विदेशी विमान कम्पनीले तिरे अफलाइन टिकट कर,इमिरेट्सको पौने दुई अर्ब !


२२ चैत्र २०८२, आइतबार  


नेपालबाट हवाइ टिकट बेचेवापत सरकारलाई एक अर्ब ९० करोड ६४ लाख रुपैया कर प्राप्त भएको छ । नेपालबाट सिधै उडान सञ्चालन नगरे पनि नेपालमा टिकट बिक्री गर्ने विदेशी एयरलाइन्स कम्पनीहरूले ठूलो मात्रामा मूल्य अभिवृद्धि कर (भ्याट) सरकारलाई प्राप्त भएको हो ।

आर्थिक वर्ष ०८०÷८१ देखि चालू आर्थिक वर्षको फागुन मसान्तसम्म अफलाइन हवाई यातायात सेवा प्रदान गर्ने विदेशी एयरलाइन्सबाट कुल एक अर्ब ९० करोड ६४ लाख रुपैयाँ भ्याट संकलन भएको हो ।

सरकारले हवाई सेवामा भ्याट लाग्ने कानुनी व्यवस्था गरेपछि इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा)ले नेपालबाट काटिने हवाई टिकटमा भ्याट लाग्ने प्रणाली बनाएको थियो । तर, नेपालमा रहेका अफलाइन एयरलाइन्सले भ्याट तिर्नुपर्ने–नपर्ने विषय भने स्पष्ट भएको थिएन  । यस विषयमा आयटाले समेत नेपाल सरकारसँग स्पष्टता खोजेपछि सरकारले आर्थिक ऐन, २०८० मार्फत अफलाइन सेवा दिने विदेशी एयरलाइन्सले समेत भ्याट तिर्नुपर्ने व्यवस्था गरेको हो ।

सरकारले लागू गरेको ‘गैरबासिन्दा व्यक्तिले प्रदान गर्ने अफलाइन हवाई यातायात सेवामा मूल्य अभिवृद्धि करसम्बन्धी कार्यविधि, २०८१’ अनुसार नेपालबाट उडान सुरु नगर्ने, तर नेपालमा एजेन्ट, पार्टनर एयरलाइन्स, टिकट विक्रेता वा ग्लोबल डिस्ट्रिब्युसन सिस्टममार्फत टिकट बिक्री गरी यात्रुलाई सेवा प्रदान गर्ने विदेशी एयरलाइन्सलाई अफलाइन हवाई सेवाप्रदायक भनेर भनिन्छ । यस्ता सेवाप्रदायकले नेपालमा टिकट बिक्री गरेपछि त्यसबाट हुने कारोबारमा भ्याट तिर्नुपर्ने व्यवस्था गरिएको हो ।

कार्यविधिअनुसार नेपालमा एक वर्षमा ३० लाख रुपैयाँभन्दा बढी कर लाग्ने अफलाइन हवाई सेवा कारोबार गर्ने विदेशी कम्पनीले भ्याटमा दर्ता हुनुपर्नेछ । त्यस्ता कम्पनीले १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर असुल गरी सरकारलाई बुझाउनुपर्नेछ । प्रत्येक कर अवधि समाप्त भएको २५ दिनभित्र अनलाइनमार्फत कर विवरण पेस गर्नुपर्ने र यही अवधिमा कर दाखिला गर्नुपर्ने व्यवस्था रहेको छ ।
यसरी अफलाइन हवाई टिकट वापतको सबै भन्दा बढी कर तिर्ने कम्पनी हो, इमिरेट्स हो । जसले पौने दुई अर्ब भ्याट बुझाएको हो । प्राप्त जानकारी अनुसार अफलाइन एयरलाइन्समध्ये सबैभन्दा बढी भ्याट इमिरेट्सबाट संकलन भएको हो । इमिरेट्सले हालसम्म कुल एक अर्ब ७४ करोड रुपैयाँभन्दा बढी भ्याट बुझाएको छ ।

त्यसपछि एयर इन्डियाको सहायक कम्पनी एयर इन्डिया एक्सप्रेसले करिब आठ करोड ६७ लाख रुपैयाँ, डेल्टा एयर लाइन्सले करिब चार करोड ६८ लाख रुपैयाँ र केएलएम रोयल डच एयरलाइन्सले एक करोडभन्दा बढी भ्याट बुझाएका हुन्। तर, स्पाइसजेटले भने हालसम्म भ्याट तिरेको छैन । ०००००

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ५ : ५४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित