गएको असार महिनामा धनुषाको बट्टेश्वर गाउँपालिका १ चित्रपुरमा बगैचामै आँप मेलाको आयोजना गरिएको थियो । आँपै- आँपको बगैचा भनेर चिनिन्छ, बट्टेश्वरको १ चित्रपुरलाई। आँपको प्रसार प्रचार तथा प्रवद्र्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको थियो । चित्रपुरका किसानको मुख्य खेती आँप हो । यो गाउँमा तीन सय बढी विघामा आँप खेती हुने गरेको छ। आँप खेती प्रति सरकारको ध्यानाकार्षण गराउन मेलको आयोजना गरिएको थियो । २० भन्दा बढी प्रजातीका आँप मेलामा राखेर प्रदर्शनी गरिएको थियो ।

त्यसको करिब एक महिनापछि ८०विघामा रहेको आँपको बगैचा फाँड्न थालिएको छ। आँपको बगैचा फाँडेर सौर्य प्लान्ट स्थापना गर्ने तयारी भएको हो । काठमाडौको जन्दादेवी सोलार प्रालिले आँप पकेट क्षेत्रमा सौर्य प्लान्ट स्थापनाको काम अघि बढाएको छ। ५० मेगावाटको सौर्य विद्युत उत्पादन गर्न भन्दै ३० वर्षका लागि जग्गा लीजमा लिने गरी सम्झौता गरेको छ। कम्पनीले गएको असार २९ मा गरेको सम्झौता अनुसार प्रति कठ्ठा ८ हजार रुपैया र प्रत्येक दुइ वर्षमा १० प्रतिशत जग्गा भाडा बृद्धि गर्ने गरी सम्झौता गरेको हो ।

संघीय सरकारको उर्जा, जलश्रोत तथा सिचाइ विभागले त्यो आँप बगैचा भएको जग्गा सिचाइ योग्य नभएको भन्दै प्रमाणित गरेको पाइएको छ। यस विषयमा बट्टेश्वर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोककुमार मेहतालाई यस विषयमा जिज्ञासा राख्दा, उनी भन्छन्, “यस क्षेत्रबाट वर्षेनी लाखौको आँप उत्पादन हुने गर्दथ्यो । ८० विघा जग्गा चाहिने भनिएको छ, त्यहाँ अहिले पनि अाँपको बगैचा छ। किसानको आँपको बजार सुनिश्चित गर्नुपर्ने सरकारले सौर्य प्लान्ट संचालन गर्न अनुमति दिएको छ, जुन अचम्म लागिरहेको छ।”वर्षेनी भारत लगायतका मुलुकबाट नेपालमा आँप भित्रिन्छ, सरकारी तथ्याँक अनुसार गएको आर्थिक वर्षमा करिब पौने एक अर्बको आँप आयात भएको थियो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको असारसम्ममा ७७ करोडको हाराहारीमा आँप आयात भएको देखिन्छ। यो अघिल्लो आर्थिक वर्षभन्दा ८ करोडले बढी हो । त्यस अघिको आर्थिक वर्षको सोही अवधिमा रु ६९ करोड १९ लाख १५ हजार बराबरको आँप आयात भएको थियो । जुन तथ्यांकले आँपमा पनि परनिर्भरता बढेको देखाँउछ । यस विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेल माग बढेसंगै आयात बढेको बताउँछन्।

यसरी वर्षेनी आँपको माग बढ्दो छ। उता नेपाली किसानहरुले उत्पादन गर्ने आँपका लागि सरकारले कुनै सहुलियत दिदैन। सरकारी संरक्षण विना नेपाली किसानहरु पलायन भइरहेका छन् । त्यसैको एउटा ज्वलन्त उदाहरण हो, बट्टेश्वर गाउँपालिकाका किसानहरु सौर्य प्लान्टलाई प्रति विघा वार्षिक ८ हजारमा जग्गा भाडा दिन तयार भएको घटना पनि ।कृषिलाई प्रवद्र्धन गर्नुपर्ने सरकारले किसानको दुःख र दर्द देख्दैन। बरु संघीय मन्त्रालयले नै आँपको बगैचामा सौर्य प्लान्ट बनाउन सिफारिस गर्दछन्। सौर्य प्लान्टका लागि अन्य जग्गा खोज्नुको साटो किसानकै बगैचा रोज्नुले सरकारी कथनी र करणीबीच विरोधाभास देखिन्छ ।
