२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

मध्यरातमा सडकमै भेटिन्छन्,वडाध्यक्ष थापा


२२ आश्विन २०८१, मंगलबार  


उनी हुन्, थाक्रे गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिराबहादुर थापा। उनी यही असोज दोश्रो सातादेखि निकै बेचैनमै छन्। उनी बेचैनी हुनुको कारण, अविरल वर्षातबाट वडामा पुग्ने क्षति हो। प्राकृतिक प्रकोपबाट उत्पन्न क्षतिको न्यूनीकरणका लागि उनी दिन रात सक्रिय छन्। पछिल्लो समय वर्षात रोकिएपनि वडाध्यक्ष थापा वडाको सडक पूर्वाधारको मर्मतका लागि अविरलरुपमा सक्रिय भएका हुन्।

जल तथा मौसम विज्ञान विभागले वर्षातको खतरा भएको खबर सम्प्रेषण गरेदेखि उनी सडकमै छन्। विभागले दिएको पूर्व सूचना अनुसार अविरल वर्षातले गाउँ जोड्ने सडक भत्कायो । थाक्रे गाउँपालिकाका विभिन्न बस्तीहरु निकै जोखिममा परे। यीनले नेतृत्व गरेको वडाका सडकहरु पनि अवरुद्ध भए। अविरल वर्षात त रोकियो,तर, वडाध्यक्ष थापाको चिन्ता र चासो उस्तै अविरल छ।

अविरल वर्षातले वडा नम्बर ६का टोलहरु कार्कीटोल, माटीखोला, दश किला, तामाङगाउँ, रानीबारी, फेदी, ठूलो चौतारा सहितका टोलहरु जोड्ने सडकहरु भत्किएका छन्। वडालाई २३ किलोमिटर सडकले जोडेको छ। यही २३ किलोमिटर मध्ये ६ किलोमिटर सडक तहसनहस भएको छ। यही सडक मर्मत सम्भारमा वडाध्यक्ष मध्यरातमा पनि डोजरका अघि अघि कुदिरहेको देखिन्छन्। यस सडकले यहाँका करिब ८ सय घरधुरीलाई प्रत्यक्ष प्रभाव पार्दछ। थाक्रे गाउँपालिकाको वडा नम्बर ४,५ र ६ नम्बर वडा जोड्ने सडकहरु भत्किएपनि उनी मर्मतका लागि दिनरात खटिरहेका छन्।

डाबासीलाई पहिलेकै अवस्थामा सडक सेवा सहज र सर्वसुलभ बनाउन उनी लागिपरेका हुन्। वडाध्यक्ष थापा भन्छन्, “अविरल झरीले वडाका सडक भत्किएका छन्,यीनको चाँडो मर्मत गरी सडक सुचारु गर्नुपर्ने भएकोले दिनरात आफै खटिएको छु, जनताका लागि यसरी काम गर्दा मलाई आनन्दको महशुस भएको छ। म जनताको प्रतिनिधि मात्रै होइन, सेवक पनि भएकोले यो सक्रियता मेरो दायित्व पनि हो ।”


अवस्य पनि जनताको जनप्रतिनिधि हिसाबले उनले त्यो दायित्व पूरा गरेका हुन्। तर, सरकार आफ्ना नागरिक नक्खुखोलामा बगिरहँदा भिजिविलिटी छैन, भन्दै पन्छिएको बेला यीनै वडाध्यक्ष थापाको कार्य निकै अनुकरणीय भएको स्थानीय अगुवा बताउँछन्।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १ : ४१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित