त्रिभुवन विश्वविद्यालयमा डीन र क्याम्पस प्रमुख नियुक्तिको विषयमा हानथाप छ। विशेषगरी एमाले कांग्रेस र माओवादीका करिब डेढ महिनादेखि नियुक्ति अवरुद्घ छ।
यीनै दलरूपी धमिराका कारण विश्वविद्यालय ध्वस्त भएको छ। विशेषगरी २०४६ मा प्रजातन्त्रको पुनःउदयपछि देशकाे शैक्षिक संस्थामा ग्रहण लाग्न थालेको हाे ।
एमाले -कांग्रेस नामका व्यापारी र व्यभिचारीहरूका कारण ग्रहण लागेपछि देशको जेठाे विश्वविद्यालय तहसनहस भएको छ। विश्वविद्यालय पार्टीका कार्यकर्ताले कब्जा गरेपछि शैक्षिक उदेश्य, लक्ष्य र मर्म सबै खरानी बनाइएकाे छ।
शिक्षा क्षेत्रमा यस्तो अराजक र अराजनीतिक कुकार्यमा पछिल्लो समय माओवादी पनि मिसिएको छ।शान्ति प्रक्रियापछि माओवादी पनि शैक्षिक व्यापारकाे दलदलमा फसेपछि विश्वविद्यालयकाे हालत यस्तो भएको हाे।
तत्कालीन प्रचण्ड सरकारले त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रतिस्पर्धामा नियुक्ति गर्ने थिति बसाेलेपनि पछिल्लो समय डीन र क्याम्पस प्रमुख नियुक्तिमा रडाकाे मच्चाईएकाे छ।
दलरूपी माफियाहरूबीच भागबन्डा नमिल्दा त्रिभुवन विश्वविद्यालयका ८ डिनसहित १८ क्याम्पस र ७ जना सहपरीक्षा नियन्त्रकको नियुक्ति असोज दोस्रो सातादेखि रोकिएको छ । त्रिविले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयमा नियुक्ति गर्ने भन्दै छनोट तथा सिफारिस समिति गठन गरी आवेदन माग गरेको थियो । छुट्टाछुट्टै सिफारिस समितिले कार्यविधिअनुसार ३/३ जनाको नाम सिफारिस गरे पनि कार्यकारी परिषद्ले निर्णय गर्न नसकेको हो ।
उपकुलपतिको अध्यक्षतामा कार्यकारी परिषद् रहने व्यवस्था छ । त्यसमा रेक्टर, रजिस्ट्रार, मनोनीत डिन र प्राध्यापक गरी ७ जना रहन्छन् । कार्यकारी परिषद्भित्र नियुक्तिसम्बन्धी कुरा नमिलेकाले निर्णय हुन सकेको छैन। दलीय भागबन्डा नमिलेकै कारण करिब डेढ महिनादेखि नियुक्ति अल्झिएकाे छ।
राजनीतिक दल नामका भाइरस र तिनका भ्रातृ संगठनहरूले विभिन्न संकाय/संस्थानका डिनसहित क्याम्पस प्रमुखको दाबी गरेका कारण निर्णय गर्न विलम्ब भएको बुझिएको छ।
गएकाे असारदेखि संस्थान/संकायहरू डिन र क्याम्पसहरू प्रमुखविहीन छन् । निमित्तलाई जिम्मेवारी दिइएको छ ।
सिफारिस समितिहरूले असोज दोस्रो साता नियुक्तिका लागि ३/३ जनाको नाम सिफारिस गरेपछि पदाधिकारीले राजनीतिक दलका नेतृत्वसँग भेटघाट गरेका थिए । भेटघाटपछि भागबन्डाको आधारमै डिन नियुक्ति हुने आशंका त्रिविका प्राध्यापकहरूले गरेका छन् । उपकुलपति केशरजंग बराल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर डिन नियुक्तिबारे जानकारी गराएका थिए । कार्यकारी परिषद्को बैठक डाकेर नियुक्ति प्रक्रिया अघि बढाउन खोजे पनि भागबन्डामा कुराकानी नमिल्दा सफल हुन नसकेको परिषद्ले बताएको छ।
चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम), इन्जिनियरिङ अध्ययन संस्थान (आईओई), कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, विज्ञान, प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिकशास्त्र संकाय, वन विज्ञान अध्ययन संस्थान, शिक्षा र व्यवस्थापन संकायमा डिन नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । व्यवस्थापन, विज्ञान प्रविधि र वन विज्ञानबाहेकमा सिफारिस समितिले नियुक्तिका लागि नाम सिफारिस गरिसकेको छ । सबै डिनहरू एकै पटक प्याकेजमा नियुक्ति गर्ने तयारी भएकाले ढिलाइ भएको त्रिवि पदाधिकारी दाबी गर्छन् ।। नियुक्तिमा कुनै राजनीतिक दबाब नभएको र भागबन्डा पनि नहुने उनकाे जिकिर छ। जबकि नियुक्ति कसलाई गर्ने भन्दै नेताकाे दैलाे चाहार्दै हिडेका छन् ,त्रिवि पदाधिकारी।
कांग्रेस, एमाले र माओवादीले डिन र क्याम्पस प्रमुख नियुक्तिमा आआफ्नो दाबी गरेकाले प्याकेजमै भागबन्डा गरेर मिलाउन खोजिएको उपकुलपति कार्यालयका एक कर्मचारीले बताए । कांग्रेसले आईओएम, आईओई, शिक्षा, व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी र कृषि संकायको डिनको दाबी गरेको स्रोतले जनायो । त्यस्तै एमालेले पनि आईओएम, आईओई, व्यवस्थापन, मानविकी र कृषिको डिनको दाबी गरिरहेको छ । माओवादीले पनि शिक्षा, कृषि, मानविकीलगायतका डिन माग गरिराखेकाले भागबन्डा मिल्न नसकेको ती कर्मचारीले बताए ।
‘दुई वटा पार्टी र तिनका प्राध्यापक संगठनले एउटै डिनमा दाबी गरेपछि निर्णय लिन मुस्किल परेजस्तो देखिन्छ,’ उनले भने । त्रिविका पदाधिकारीले भने सिफारिस समिति गठन भएका कानुन संकायबाहेक सबै डिनका लागि सिफारिस आएपछि मंसिर १५ सम्म नियुक्ति गरिसक्ने समझदारी कार्यकारी परिषद्मा भएको बताएका छन् । पाटन संयुक्त, भैरहवा, पृथ्वीनारायण, रामस्वरूप रामसागर क्याम्पस जनकपुरमा पनि प्रमुख नियुक्ति हुन सकेको छैन ।
सानोठिमी, सुर्खेत बहुमुखी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, रत्नराज्य लक्ष्मी (आरआर), बुटवल बहुमुखी, ललितकला क्याम्पस कीर्तिपुर, भोजपुर बहुमुखी, सूर्यनारायण सत्यनारायण क्याम्पस सिरहा र विश्वभाषा काठमाडौं, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, वीरेन्द्र बहुमुखी, डोटी बहुमुखी, जुम्ला क्याम्पस र शंकरदेव क्याम्पसमा पनि प्रमुख नियुक्त हुन बाँकी छ । सिफारिस समितिले दरखास्त आह्वान गरी कार्यविधिका आधारमा क्याम्पस प्रमुख नियुक्तिका लागि ३/३ जनाको नाम सिफारिस गरिसकेका छन् ।
त्रिवि परीक्षा नियन्त्रण केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयसहित ६ जना सहपरीक्षा नियन्त्रक र शिक्षा विकास तथा अनुसन्धान केन्द्रलगायतमा निर्देशक पनि नियुक्ति हुन सकेको छैन । ठूलो संख्यामा डिन, क्याम्पस प्रमुख, निर्देशकलगायत विभागीय प्रमुखहरू नियुक्ति नहुँदा विश्वविद्यालयमा अनिश्चितता, अस्तव्यस्तता र अन्योलको स्थिति आएको प्राध्यापक तथा कर्मचारीको गुनासो छ ।
आईओएममा डिन नियुक्तिमा ढिलासुस्ती भएको भन्दै त्रिवि प्राध्यापक संघ महाराजगन्ज चिकित्सा क्याम्पस एकाइले उपकुलपतिको ध्यानाकर्षण गराएको छ । उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै कार्यवाहक एकाइ सभापति डा. गोपाल सेढाईंले डिन नियुक्ति नहुँदा क्याम्पस प्रमुख, कार्यकारी निर्देशक, विभागीय प्रमुख नियुक्ति र अध्यापक बढुवा अवरुद्ध भएको प्राध्यापक संघले जनाएको छ ।
डिन छनोटका लागि चिकित्सामा प्राध्यापक केके ओलीको संयोजकत्वमा छनोट तथा सिफारिस समिति गठन गरिएको छ । इन्जिनियरिङमा जीवराज पोखरेल, शिक्षाशास्त्रमा हेमराज ढकाल, मानविकीमा नवराज कँडेल, कृषिमा कैलाश प्याकुरेल, व्यवस्थापनमा प्रेमराज पन्त, वन विज्ञानमा पीके झा र विज्ञानमा तुलसी पाठकको संयोजकत्वमा समिति गठन गरिएको छ ।
क्याम्पस प्रमुख छनोट र सिफारिसका लागि पनि छुट्टाछुट्टै समिति बनाइएको छ । समितिले नियुक्तिसम्बन्धी मापदण्डअनुसार एक सय पूर्णाङ्कका लागि आवेदकबीच प्रतिस्पर्धा गराएर ३/३ जनाको नाम सिफारिस गरेका छन् । सिफारिस भएका मध्येबाट भागबन्डा गरी नियुक्ति हुने सम्भावना बढी रहेको आशंका त्रिविका प्राध्यापकहरूको छ । गत फागुनमा उपकुलपति र वैशाखमा रेक्टर, रजिस्ट्रार खुला प्रतिस्पर्धाबाट नियुक्त भएपछि मातहतको नियुक्ति पनि सोही प्रक्रियाबाट गर्न उनीहरूमाथि दबाब परेको छ ।








