५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

महाविचौलिया दीपक भट्ट पुगे जेलमा ! सुलभ पनि साथमै !


४ असार २०८३, बिहिबार  


एकताका एक जना त्यस्ता असामान्य सम्बन्ध भएका सामान्य मानिस थिए। जो सार्वजनिक जीवनमा खासै देखिदैनथिए । विरलै सार्वजनिक स्थलमा देखिने उनी हेर्दा सादगी, सरल र मृदुभाषी जस्ता देखिन्थे । उनी पार्टीका शीर्ष नेतादेखि मुख्यसचिव, सचिव अनि सेना प्रहरीका कमाण्डरसंगै मात्रै भेटिन्थे ।

यद्यपि उनको राजनीतिक, संवैधानिक र प्रशासनिक कुनै पनि हैसियत थिएन र होइन पनि । न त उनी जननिर्वाचित जनप्रनिधि थिए । न त उनी लोकसेवा उत्तीर्ण गरेका विशिष्ट व्यक्तित्व हुन्। उनी राजनीतिक नियुक्ति पाएका संवैधानिक व्यक्ति पनि थिएनन् र होइनन् । केवल उनी एक ठेकेदार कम्पनीका संचालक जस्तै हुन् । इन्फिनिटी होल्डिङ्सका संचालक मात्रै थिए, उनी ।


हेर्दा सामान्य व्यापारी थिए उनी । तर, उनी नेता, कर्मचारी र फौजी अड्डाका भाग्यविधाता जस्तै थिए । उनी चेसको गोटी झै सत्ताधारीहरुलाई खुबै चलाउँथे । उनीमा यस्तो अद्धितिय शक्ति थियो । जो प्रहरीको आइजीपी बनाउनेदेखि प्रधानमन्त्री र मन्त्री फेर्नेसम्मको ल्याकत राख्दथे । सरकार बनाउन र ढलाउन ड्राफ्ट उनी आफै गर्दथे । मानौ उनी यो देशका सृष्टिकता,संरक्षणकर्ता भाग्यविधाता हुन् । उनीमा इश्वरीय शक्ति छ । जसको अघि मै हुँ भन्ने नेता र प्रशासक निहुरिन्थे ।


उनकै बाहुबलीमा प्रधानमन्त्री, मन्त्री, राजदूतदेखि मुख्यसचिव र सचिवको नियुक्तिसंगै ठेक्कापट्टा मिल्थ्यो । त्यस्ता बाहुबली व्यक्ति को थिए होलान् ? सायद तपाईले अनुमान पनि गरिसक्नु भयो होला । ती व्यक्ति थिए, महाविचौलिया दीपक भट्ट । सुदूरपश्चिममै जन्मिएका एउटा प्रशासकको घरपरिवारमा हुर्किएका ती महाविचौलिया दीपक भट्टले गएको दश वर्षमा यो देशको राजकाजमा अदृष्यरुपमा नियन्त्रणमा राखे । ओली, देउवा र प्रचण्डलाई चेसको गोटी झै खेलाउने गरे । डेढ अर्बको हतियार खरिद गर्ने निर्णय गराउनसम्म सिपालु थिए, उनी । दीपकले आरजुलाई औधि श्रद्धा गर्दथे । ओली, देउवा र प्रचण्डलाई फकाउन र चलाउन जानेका उनको सत्तामा पहुँच कसरी पुग्यो ? त्यो थप अनुसन्धानको विषय होला नै ।


तर, उनै विचौलियाले एक दशक सत्ताको धुरीमा बसेर पर्दापछिबाट राजकाज खुबै चलाए । तर, समय बलवान मात्रै रहिनछ । परिवर्तनशील पनि रहेछ। समयले देउवा ओली र प्रचण्डको स्थानमा रवि र बालेनलाई पुराइदियो । समयको वेगले विगतको दश वर्षमा सत्तामा राइँदाई गरेका ओली, देउवा र प्रचण्डलाई सडकमा हुत्याइदियो । ओली, देउवा र प्रचण्डको हैसियत माटोमै मिल्दै गएपछि दीपक भट्टको पनि दिनगिन्ती शुरु भयो । समय, सम्पत्ति र सत्ता स्थायी हुन्नन् । परिवर्तनको हुरीले सबैलाई एक स्थानबाट अर्काै स्थानमा हुत्याउँदो रहेछ । हिजो पर्दापछिबाट राजकाज चलाउने दीपकको हातमा आज हत्कडी लागेको छ । उनको मात्रै हत्कडी लागेन । आफ्नै दोस्ती सुलभ अग्रवाललाई संगसंगै जेलमै लिएर गए ।


सम्पत्ति शुद्धीकरणको कसुरमा उनीहरूविरुद्धको प्रमाण र बिगो हेरेर विशेष अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले विभिन्न तह सिर्जना गरी गरेको कारोबार तथा हिमालयन लार्ज क्याप फन्डका सिइओको बयान लगायतलाई आधार मान्दै जेल पठाउने आदेश गरेको हो ।


दीपक भट्ट र सुलभ अग्रवालमाथि विभिन्न बीमा कम्पनीहरूका साथै हिमालयन लार्ज क्यापसमेतको सामूहिक कोषको रकम दुरुपयोग गरेको अभियोग लगाइएको छ । भट्टको हकमा कुल बिगो २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी छ भने अग्रवालमाथि २५ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा दर्ता भएको थियो । बिमा ऐन, बैंकिङ कसुर तथा सजाय ऐन, सम्पत्ति शुद्धीकरण निवारण ऐन, धितोपत्रसम्बन्धी ऐन, विदेशी विनिमय नियमित गर्ने ऐनविरुद्धका कसुर गरेको भन्दै मुद्दा दर्ता भएको हो ।


विगतमा बालुवाटारमा प्रधानमन्त्रीकै ओछ्यानमा पुग्ने दीपक र सुलभहरु यतिबेला जेलमै पुगेका छन् । इतिहासकै सबै भन्दा ठूलो वित्तिय अपराध गरेर कीर्तिमान राखेकाहरु प्रहरी खोरमा पुगेपछि उनका गडफाडरहरु भने सुरक्षित छन् । तर, एउटा सत्य कुरा के हो भने विगतमा अदृष्य राजकाज चलाएका दीपक सुलभहरुले अब जेलको हावा खानेछन्। पाप धुरीबाट कराउँछ भने झै राष्ट्रदोहनको घडा विस्फोट भएको छ । यही पापकै कारण उनीहरु अब सत्ताको रिमोट चलाउने हैसियतमा कदापि फर्किनेछैनन् । ००००

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  १ : ४२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित