अयोध्यासंग पौराणिक सम्बन्ध रहेको सरजु नदी क्षेत्रलाई धार्मिक ट्रेलको रुपमा विकास गरिने भएको छ। चालू आर्थिक वर्षको बजेटभित्र यसको सम्भाव्यता अध्ययनका लागि पालिकाले कार्यक्रम अघि बढाएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १ रामपुर सिमलटारामा सरजु नदीको उद्गम स्थललाई जोडेर सरजु(बबई) करिडोर बनाउने गरी प्रस्ताव गरिएको हो । यही सिमलटाराबाट उत्पत्ति भएर सरजु नदी भारतको अयोध्या पुग्छिन्। रामायणकालीन युगमा भगवान रामको बाल्यकाल सरजु किनारामै वितेको थियो । रामायण जस्ता ग्रन्थमा पवित्र सरजु नदीको महिमाको वर्णन गरिएको छ।

यही पौराणिक कालीन महिमा र महत्व रहेको सरजुको विषयमा अहिलेसम्म ठोस अध्ययन र अनुसन्धान भने भएको छैन । प्राचीन सभ्यता र संस्कृतिको विकास भएको यस क्षेत्र अहिलेसम्म ओझेलमै पर्दै आएको हो । सरजु(बबई) करिडोर सम्पन्न भएमा भारतीय पर्यटकहरुलाई दाङ भित्र्याउन सबै भन्दा छोटो र महत्वको रुट बन्ने छ। प्राचीन तथा मध्यकालीन युगका विभिन्न सन्दर्भहरुसंग जोडिएको सरजु नदी किनारा क्षेत्रमा पर्यटनको विकाससंगै यहाँको रैथाने उत्पादन र रोजगारी सिर्जना हुनेछ। धार्मिक पर्यटनको हिसाबले अत्यन्तै सामरिक महत्व मानिएको क्षेत्रभित्र दर्जनौ धार्मिक तथा सांस्कृतिक महत्वका गन्तव्यहरु पर्दछन्। ती धार्मिक तथा सांस्कृतिक महत्व र महिमा भएका सम्पदाहरुको पनि प्रवद्र्धन हुनेछ। जसले आन्तरिक तथा बाह्य पर्यटक आगमनको नयाँ ढोका खोलिनेछ। सुरजूको शीर रामपुरलाई पर्यटनको विश्व बजारमा पुराउन र लाखौ पर्यटकलाई भित्र्याउन सरजु(बबई) करिडोरको अवधारणा अघि सारिएको छ, भन्छन्, घोराही उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राममणी पाण्डेले । वडाध्यक्ष पाण्डे भन्छन्,”सरजुको दीगो पर्यटन विकासको लागि हामीले पालिकामा बजेटसहित प्रक्रिया अघि बढाएका छौ, विज्ञहरुको सरसल्लाह र परामर्शको आधारमा अघि बढिनेछ। प्राचीनता, पौराणिक र पर्यावरणीय विशेषताहरु भएको नयाँ गन्तव्य बन्ने छ।”

पालिकाले पहिलो चरणमा २० लाखको बजेट विनियोजन गरेको छ, क्रमागतरुपमा करिडोर निर्माणको आयोजना अघि बढाइनेछ। करिडोर निर्माण गरी यस क्षेत्रको धार्मिक पर्यटनको प्रवद्र्धन गरी उत्पादन र रोजगारी अभिवृद्धि हुने अपेक्षा गरिएको छ। नेपालको धार्मिक पर्यटनको लागि यो नयाँ गन्तव्य हुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको सन्दर्भमा रामायण परिपथ(सर्किट)को सम्भावनाको चर्चा गरेका थिए। उनै मोदीले भने जस्तै रामायण परिपथभित्र यसलाई पनि समावेश गरेर अघि बढिने भएको छ। त्यसका लागि वडाध्यक्ष राममणी पाण्डेसहितका अगुवाहरु सक्रिय छन् ।









