२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

खाना पकाउने ग्यासको माग ३० प्रतिशतले वृद्धि,बजारमा कृत्रिम अभावकाे संकेत !


३० मंसिर २०८१, आइतबार  


ह्वात्तै चिसो बढेसंगै खाना पकाउने ग्यासकाे माग पनि उत्तिकै बढेको छ।

ग्यास बिक्रेता महासंघका अनुसार गर्मीभन्दा जाडोमा खाना पकाउने ग्यासको खपत करिब ३० प्रतिशतले बढ्ने गर्दछ । आधिकारिक तथ्यांक नभए पनि चिसोमा ग्यास खपत बढ्ने नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघको पनि भनाइमा एकमत छ ।

केही दिनयता उपत्यकाको तापक्रम घट्दै गएको छ । यही बेला बढी खपत हुने ग्यासको आपूर्तिमा भने समस्या भइरहेको छ ।

ग्यास ढुवानीमा अवरोधको कारण नभए पनि नेपाल, तारा, नेपाल गण्डकी, एचपी, राजधानी, त्रिवेणी, ओम, आरतीलगायत ग्यास बजारमा अभाव देखिएको हो । यी ब्रान्डको ग्यास अभाव देखिन थालेपछि ग्यास बिक्रेता महासंघले शुक्रबार आयल निगमलाई जानकारी गराएको छ ।

‘बजारमा नेपाल ग्यास दशैंदेखि नै अभाव थियो । यो ग्यास सबैभन्दा बढी उपत्यकामै बिक्री हुन्छ तर धेरैजसो डिलर बिक्रेतामा ग्यास नै छैन,’ ग्यास बिक्रेता भन्छन् ।उनी भन्छन्, ‘पछिल्लो समय अन्य ग्यासमा पनि त्यही समस्या देखियो । जाडो महिनामा बढी ग्यास खपत हुन्छ तर नेपाल, तारा, नेपाल गण्डकी, एचपी, राजधानी, त्रिवेणी, ओम, आरतीलगायतको ग्यास कमै पाइन्छ ।’

समयमै ग्यास आपूर्ति नहुँदा एउटा मात्रै ग्यास सिलिन्डर भएका उपभोक्तालाई धेरै समस्या हुने ती बिक्रेताहरू बताउँछन् । उनीहरू भन्छन् ‘विगतमा तत्काल भर्न सकिन्थ्यो, अहिले अभाव छ । एउटा मात्रै सिलिन्डर भएको उपभोक्ताको घरमा ग्यास सकिए कम्तीमा ५/७ दिन कुर्नुपर्छ।’

माग बढेका बेला ग्यास आपूर्तिमा समस्या भएको महासंघका अध्यक्ष चन्द्र थापाले पनि पुष्टि गरे । दशैंयता केही डिलरमा ग्यास कमै मात्रामा आएको उनले बताए । ‘जाडो महिना भनेको ग्यासको माग बढ्ने सिजन हो । गर्मीको तुलनामा जाडो महिनामा करिब ३० प्रतिशतले माग बढ्छ तर सर्वसाधारणले समयमै नपाएकाे अध्यक्ष चन्द्र थापा बताउँछन् । उनी भन्छन् ,‘सरकार र ग्यास उद्योगीले जतिसक्दो छिट्टै सहज बनाउनुपर्छ ।’

ग्यास उद्योगले ग्यास ढुवानी नगरेको हो कि निगमले ग्यासको प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गर्नमा कन्जुस्याइँ गरेको हो, त्यसबारेमा निगमलाई ध्यानाकर्षण गराएकाे पनि अध्यक्ष थापाले बताए ।

मुलुकभर ५९ ग्यास उद्योगहरू रहेका छन् । ती ग्यास उद्योगका लागि निगमले मासिक करिब ४५ हजार टन ग्यासको पीडीओ जारी गर्दै आएको छ । त्यस हिसाबले बजारमा अभाव हुनु नपर्ने निगमको तर्क छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले ग्यास ढुवानीमा कुनै समस्या नभएको बताउँछन्। उनले बजारमा नेपाल ग्यासमा केही समस्या देखिए पनि अन्य ग्यास अभाव नभएको दाबी गरे ।

निगमले २०७८ सालमा गरेको ग्यास सिलिन्डर प्रमाणीकरणअनुसार मुलुकभर १ करोड ४४ लाख सिलिन्डर छन् । पछिल्लो समय सिलिन्डरको सख्या थपिएको छ । तर यी सिलिन्डरको अवस्थाबारे नियामक निकायले खासै चासो दिएको छैन । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले व्यवस्थापनको कमजोरीले ग्यासमा समस्या देखिएको बताए । बजारमा देखिएको अभाव हटाउन तालुक निकायले तत्काल हस्तक्षेप गर्नुपर्ने उनले बताए ।

निगम राजनीतिक र आर्थिक रूपमै सबल छ । ढुवानीमा अवरोध भएर ग्यास अभाव हुनुपर्ने कुनै कारण पनि छैन तर बजारमा केही कम्पनीको ग्यास अभाव देखिएको छ।

यश विषयमा निगमका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले नेपाल ग्यासबाहेक अन्यमा समस्या नभएको दाबी गरे । उनले गर्मीमा ४० हजारदेखि ४५ हजार टन पीडीओ जारी गरेकामा जाडो महिनामा ४५ हजार टनभन्दा बढी नै जारी भएको बताए ।

‘अहिले समस्या देखिएको नेपाल ग्यासमा हो, निगमले मागेजत्तिकै पीडीओ दिएको छ, तर पीडीओ उठाएनन् । ग्यास लोडिङमा समस्या नभए पनि उद्योगीले पर्याप्त नल्याइदिएकाे गाेईतले बताए।

उनका अनुसार नेपाल ग्यासले मासिक करिब २ हजार टन पीडीओ पाएको छ । उद्योगीको मागअनुसार पीडीओ पनि थप्दै जाने उनले बताए । ‘उपत्यकामा सबैभन्दा बढी नेपाल ग्यासकै सिलिन्डर छ तर ग्यास थोरै ल्याइदियो, त्यही भएर केही समस्या देखिएको छ,छलफलबाट समस्या हल गरिन्छ, उनलेे भने।

निगमले ग्यासको पीडीओ जारी गरेपछि ग्यास उद्योगीले भारतीय आयल कर्पोरेसन्स (आइओसी) को बरौनी, दुर्गापुर, पारादीप, हल्दिया, मथुरा रिफाइनेरीबाट ग्यास आयात गर्छन् । भारतीय ट्रान्सपोर्टरमार्फत ग्यास ढुवानी हुन्छ ।

नेपाल ग्यासका सञ्चालक गोकुल भण्डारीले ग्यास अभाव हुनुको मुख्य दुई कारण रहेको दाबी गरे । उनका अनुसार भारतीय ट्रान्सपोर्टरले भाडा बढाउन दबाब दिँदै आएका छन् । भाडा बढाइदिन भन्दै उनीहरूले चिठीसमेत पठाएका छन् ।

‘भाडा निगमले बढाइदिने हो, भाडा नबढाउँदा ढुवानी राम्रोसँग गरेनन् । ग्यास बुलेट समयमा नआउँदा केही समस्या देखियो,’ भण्डारीले भने । भण्डारीका अनुसार अर्को कारण भारतीय ट्रान्सपोर्टरले पुराना बुलेट हटाएर नयाँ राख्न थालेका छन् । ढुवानीमा ग्यास बुलेटको कम उपलब्धता हुँदा पनि समस्या देखिएको उनको दाबी छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ४३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित