महेन्द्र राजमार्ग अन्तरगतको नवलपरासीमा अवस्थित दाउन्ने सडक खण्ड यस्तो जोखिमयुक्त सडक हो । यस खण्डको सडकले दिएको सास्ती र हैरानीको विषयमा चिरपरिचत तपाई हामी सबै अवस्य छौ होला ।
बुटवलदेखि नारायगढ काठमाडौको यात्रा गर्दा सधै दुःख, हैरानी र सास्ती बेहोर्ने भुक्तभोगी यात्रु र चालकहरु सायदै होलान् । वर्षाैदेखि तपाई हामीलाई हैरानी दिने यस दाउन्ने सडक खण्डमा दुर्घटनादेखि जामकै कारण घण्टौ कुर्नुपर्ने उदेकलाग्दो सडकको सकस अब अन्त्य भएको छ ।
सरकारले यस क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी सडकको आयू तोकेरै निर्माण गरेपछि यस्तो सकस र हैरानी अन्त्य भएको हो । सरकारले सवारी तथा ढुवानीसाधनको चापलाई मध्यनजर गरि करिब चालिस वर्षसम्म निर्धक्कसंग सञ्चालन हुने गरी निर्माण गरेको हो । सडक निर्माणको काम अन्तिम चरणमा पुगेकोले अब यस क्षेत्रको यात्रा सहज र दीगो हुने दाबी गर्दछन्, सडक विभाग, आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकाल ।
यतिबेला यस महेन्द्रराजमार्ग अन्तर्गत यो दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यस खण्डमा गरिएको ढलानको आयु कम्तीमा ३० वर्ष हुने आयोजनाले दाबी गरेको छ । आयोजनाका अनुसार यस दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको छ । कम्तीमा ३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेको र यदी भार नियन्त्रण हुनसके र डिजाइन अनुसारका अन्य मापदण्डहरू पालना भएमा ४० वर्षसम्मै ढलान टिक्ने छ ।
यसबाट नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुने विश्वास गरिएको छ ।सडकको भारवहन क्षमता एकल चक्कामा १० टन रहेको छ । आगामी २० देखि ३० वर्षको सवारी चापको पूर्वानुमान अर्थात फोरकास्टलाई आधार मानेर दैनिक १२ देखि २० हजार सवारी साधन आवतजावत गर्दा पनि सडकमा कुनै क्षति पुग्ने छैन ।
यतिबेला दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिव ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी रहेको बेला सडकको एकातर्फको भाग पूर्ण रूपमा सम्पन्न भई सवारी आवागमन सुचारु भइसकेको छ । भार नियन्त्रण भयो र डिजाइनअनुसारका अन्य मापदण्डहरू पालना भएमा यो सडक ३० देखि ४० वर्षसम्म टिक्नेछ, जसले गर्दा नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुनेछ ।
यस सडकबाट दैनिक १२ देखि २० हजारसम्म सवारी साधन आवतजावत गरे पनि यो सडकलाई केही असर पर्दैन । कालोपत्रे गर्दा सडक छिटो बिग्रने र सर्वसाधारणले निरन्तर सास्ती खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलाईको विकल्प रोजेको हो । यससँगै दाउन्ने खण्डमा वर्षेनी हुने सडक अवरोध र मर्मतको समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास पनि सरकारको दाबी छ । ०००००








