२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

नेपालले डलरमा बेच्न थाल्याे विद्युत, शुक्रबारदेखि बंगलादेशमा निर्यात


१ मंसिर २०८१, शनिबार  


नेपालमा उत्पादित विद्युत् शुक्रबारबाट बंगलादेश निर्यात हुन थालेको छ ।

नेपालबाट ४० मेगावाट विद्युत् भारतको प्रसारण लाइन हुँदै बंगलादेश पुर्‍याइएको हो । नेपालबाट बंगलादेशमा विद्युत् निर्यात करिब ६ वर्षको गृहकार्यपछि सम्भव भएको हो ।

दिउँसो साढे १२ बजेबाट साढे ११ घण्टा विद्युत् निर्यात गर्दा नेपाल विद्युत् प्राधिकरणलाई २८ हजार १ सय ६० डलर आम्दानी भएको छ ।  

नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा उत्पादित विद्युत् ५ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिक्री गर्ने छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट बिजुली बंगलादेशतर्फ निर्यातका लागि कात्तिक २९ मा स्वीकृति दिएको थियो । यो स्वीकृति सन् २०२९ अक्टोबर २ सम्मका लागि छ ।

विद्युत् बंगलादेश निर्यात गर्दा ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसन पुर्‍याइन्छ । त्यहाँबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेशमा विद्युत् पुग्छ ।

भारतसँग भारुमा मात्रै विद्युत् खरिदबिक्री भइरहेको छ । विद्युत् बिक्रीबापत प्राधिकरणले बंगलादेशबाट प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउँछ । ‘शुक्रबार बंगलादेशतर्फ ४० मेगावाट विद्युत साढे ११ घण्टा निर्यात गर्दा प्राधिकरणले ३७ लाख ९३ हजार ४ सय ३३ रुपैयाँ पाउने ’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । घिसिङका अनुसार प्राधिकरणले विद्युत्को मूल्य भारतको मुजफ्फरपुर बिन्दुको हिसाबमा पाउँछ । मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्क बंगलादेशले नै बेहोर्नेछ ।

नेपाल र बंगलादेशले २०७५ साउन २५ मा ऊर्जा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । विभिन्न चरणको बैठक र छलफलपछि बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले २०२३ डिसेम्बर ६ (गत वर्ष मंसिर २०) मा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृत गरेको थियो ।

त्यसपछि बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले बंगलादेश, भारत र नेपालका निकायबीचको त्रिपक्षीय सम्झौताअनुसार नेपालबाट उत्पादित विद्युत् पाँच वर्षसम्म खरिद गर्ने गरी गएकाे सन २०२३ जनवरी अर्थात २०८० पुस १६ मा बोलपत्र आह्वान गरेको थियो । तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात प्राधिकरणले गत माघ दोस्रो साता पेस गरेको थियो ।

प्राधिकरणको टोली र बीपीडीबीअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच गत फागुन १० मा ढाकामा वार्ता भएको थियो । नेपालले बिजुलीको मूल्य प्रतियुनिट ६.७० अमेरिकी सेन्ट प्रस्ताव गरेको थियो । नेपालले भारतलाई बेचेको भन्दा कम मूल्यमा विद्युत् नदिने अडान राखेपछि बैठकमा सहमति जुटेन । तर पछि सिंगापुरमा विश्व बैंकले आयोजना गरेको सार्कका ऊर्जा सचिवस्तरीय बैठकका क्रममा भएको द्विपक्षीय छलफलमा बंगलादेश ६.४० अमेरिकी सेन्टमा बिजुली खरिद गर्न सहमत भएको थियो । बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले नेपालबाट आयात गरिने विद्युत्को मूल्य गत जेठ २९ मा स्वीकृत गर्‍यो ।

बीपीडीबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना असार २३ मा प्राधिकरणलाई दिएको थियो । त्यसमा प्राधिकरण सहमत भएपछि बीपीडीबीले सम्झौताको मस्यौदा पठाएको थियो । त्यसलाई अन्तिम रूप दिएर गत असोज १७ मा नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन), बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच त्रिपक्षीय सम्झौता भएको थियो ।

सम्झौतापछि प्राधिकरणले गत असोज २३ मा बंगलादेश निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले बिहीबार स्वीकृति दिएपछि शुक्रबार विद्युत् निर्यात गरिएको हो ।

नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कविर खानले शुक्रबार भर्चुअल विधिमार्फत स्विच अन गरी विद्युत् निर्यातको उद्घाटन गरेका थिए । योसँगै नेपालमा उत्पादित विद्युत् पहिलो पटक तेस्रो मुलुकमा निर्यात सुरु भएको हो । यसअघि नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएको थियो । बंगलादेशमा विद्युत् निर्यात भने यो वर्ष शुक्रबार मात्रै गरिएको छ । अब प्राधिकरणले आगामी जुन १५ (असार १) बाट विद्युत् बिक्रीलाई निरन्तरता दिनेछ ।

भारतका विद्युत्मन्त्री खट्टरले नेपाल र बंगलादेशको विद्युत् व्यापारले ऊर्जामा क्षेत्रीय ‘कनेक्टिभिटी’ बढाउने बताए । भारतको प्रसारण लाइनमार्फत दक्षिण एसियाली मुलुकमा विद्युत् विस्तार गर्ने कार्य सराहनीय भएको पनि उनले उल्लेख गरे ।

बंगलादेशका ऊर्जा, जलस्रोत मन्त्रालयका सल्लाहकार खानले नेपालसँग भएको विद्युत् व्यापार सम्झौताले क्षेत्रीय ऊर्जा समन्वयमा ठूलो सहयोग पुगेको बताए ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ५ : ४५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित