अढाई सय वर्षे वंशवादी शाही सत्ताका पेचकिलाहरु उखेलिएको दिन हो, बैशाख ११ । तत्कालीन विद्रोही माओवादी र संसदवादीको सडकमोर्चाकै बलमा सैन्य बलमा सत्ता चलाइरहेका ज्ञानेन्द्र शाह सत्ताको घोडाबाट खसालिएको क्षण हो, आज । यस दिनलाई बसन्तक्रान्तिको नामले पनि चिनिन्छ।
नेपाली जनताको पूर्णलोकतन्त्रको पक्षमा चलेको लामो राजनीतिक संघर्षको उत्कर्षको क्षण पनि हो । जनता यो देशका निर्माता हुन्। उनीहरु नै यो देशका मालिक र हकदार हुन् भन्ने सत्यतालाई स्थापित गर्न विजयीको झण्डा फहराइएको दिन हो,आज (वैशाख ११ गते)। देशभर १९औँ लोकतन्त्र दिवस लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावश्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विक्रम सम्वत २०६३ वैशाख ११ को स्मरण गर्दै आजको दिनलाई लोकतन्त्र दिवस मनाइने गरिन्छ। त्यस दिन पूर्वराजा शाहले शाही घोषणामा भनेका थिए , ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।’
निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते पुनःस्थापित प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।
जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ ।
राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पुर्याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा सङ्घीताको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।सिहंदरबारमा केन्द्रिकृत अधिकार र श्रोतको बाँडफाँ तल्लो भुइँ तहसम्म पुराउनैका लागि मुलुकले संघीयता अंगीकार गरेको हो । जनता प्रजाबाट नागरिकएको यस दिनलाई युगीन परिघटनाको रुपमा लिइन्छ।
यसैबीच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयङ्गम गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।
२०६२र६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
त्यस यता मुलुकमा १६ बढी सरकार गठन भए। लोकतन्त्रको यो १९ औं वर्षमा प्रवेश गरेपनि बलिदानीपूर्ण इतिहासले संकल्प गरेको जनताका धेरै अपेक्षा पूरा हुन सकेका छैनन्। राजनीतिक अधिकारको रुपमा हामी निकै उन्नत व्यवस्थामा छौ । तर,राजनीतिक नेतृत्वको चरित्रमा देखिएको दलीयतन्त्र, परिवारवाद र एकमनावादले जनतामा निराशा फैलाएको छ। यसलाई चिर्दै लोकतन्त्रलाई थप संस्थागत गर्न सबै लोकतान्त्रिक शक्तिहरुबीचको एकता र सहकार्य जरुरी छ।
हामीले लोकतान्त्रिक व्यवस्था स्थापना गरेपनि लोकतान्त्रिक संस्कृतिको विकास गर्न नसक्दा जनतामा आक्रोश र असन्तुष्टि चुलिएकोमा नेतृत्वले बेलैमा आत्मबोध गरी सच्याउनेतिर लागोस्। १९ औ लोकतन्त्र दिवसको उपलक्ष्यमा सबै परिवर्तनकामी नेपाली नागरिकमा हार्दिक मंगलमय शुभकामना ।
एमाले युवा संघबाट युवा प्रदर्शन
लोकतन्त्र स्थापनाको दिन नेकपा एमालेको युवा संघले युथ ‘सेलेब्रेसन’ गर्ने भएको छ। युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेका अनुसार देशभरका कम्तीमा एक लाख युवाहरू वैशाख ११ गते काठमाडौँमा उतारिने भएको छ। लोकतन्त्रको विरुद्धमा प्रतिगामी शक्तिहरुले शीर उठाउन खोजेको भन्दै सत्तारुढ दलको भातृ संगठनले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको हो । उसका अनुसार यो ‘लोकतन्त्रको ‘सेलेब्रेसन’ गर्ने हो । यस ‘कार्यक्रममा युवाहरूलाई सम्मान गर्ने र स्पेस दिने काम हुने दाबी गरिएको छ ।युवा उत्सवका नाममा एमालेले युवाहरूलाई काठमाडौँमा बोलाएर शक्ति प्रदर्शन गर्न लागेको हो ।