एमालेबाट काेशी प्रदेशकाे आन्तरिक मामिला तथा कानुन मन्त्री भएका लिलाबल्लभ अधिकारीले मानव तस्करी अनाैठाे लीला गरेको खुलासा भएको छ।
उनलेे मानव तस्करी गरि जापान पठाउन नक्कली कार्यालय प्रमुख बनेर नक्कली परिचयपत्र बनाएका छन्, भने प्रत्येक व्यक्तिबाट जापान लैजान भन्दै १० देखि १३ लाख संकलन गरेको खुलासा भएको हाे।
दुई जनालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै कर्मचारीका रूपमा जापान उडाइएको प्रहरी अनुसन्धानमा खुलासा भएको छ।जापान तस्करीमा
रकम उठाउने काम उनको विश्वास पात्र मानिएका महेश पाण्डेले गरेका थिए,उनलेे मन्त्रीलाई विमानस्थलमा बिदाइ समेत गरेका थिए।
आफै कार्यालय प्रमुख आफै मन्त्री भएर जापान उडेका अधिकारीसँगै गएका कञ्चन देवकोटा, दावा शेर्पा र जनक राईको कागजात शंकास्पद देखिएपछि चारै जनालाई जापानको अध्यागमनले टोकियो विमानस्थलबाटै फिर्ता गरिदिएको थियो । उनीहरू फर्केर शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । यहाँको अध्यागमनले अधिकारीलाई कागज गराएर छाडेको थियो भने अन्य तीन जनालाई प्रहरीको जिम्मा लगाएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका रसुवाको कालिका गाउँपालिका–५ का २२ वर्षीय देवकोटा, खोटाङको ऐंसेलुखर्क गाउँपालिका–२ का ३६ वर्षीय शेर्पा र खोटाङकै केपिलासगढी गाउँपालिका–४ का राईसँग प्रहरीले सोधपुछ गर्दा गिरोहको खुलासा भएको हो । यसैका आधारमा प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नुवाकोटको बिदुरका २२ वर्षीय जुगल रिजाल, दोलखाको जिरीका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरीका ३४ वर्षीय महेश पाण्डेलाई काठमाडौंबाट पक्राउ गरेको हो । त्यसपछि उनीहरूमाथि थप अनुसन्धान गर्न उपत्यका प्रहरी अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिम्मा लगाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार शेर्पासँग ऐंसेलुखर्क गाउँपालिकाको वडा नं २ को सदस्य र देवकोटा तथा राईसँग कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारीको नक्कली परिचयपत्र थियो । अधिकारीले भने आफूसँग जापान पुगेका तीनै जनासँग भएको परिचयपत्रमा आफ्नै हस्ताक्षर देखिएको तर त्यसबारे आफू जानकार नभएको दाबी गरेका छन् । नक्कली परिचयपत्रमा अंग्रेजीमा हस्ताक्षर गरिएको छ । जुन कुरा अधिकारीले अस्विकार गरेको प्रहरीले बताएको छ।
माेरङ क्षेत्र नम्बर २(२) बाट २०७९ काे प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका अधिकारी एमाले कांग्रेस प्रदेश गठबन्धनका मन्त्री थिए। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भएका उनलेे तस्करीका लागि नक्कली विवरण बनाएर लाखौं असुल गरेको देखिन्छ । माेरङ २ ( २) जनताको १७ हजार बढी मत लिएर सत्तामा पुगेका उनलेे मानव तस्करी जस्तो गम्भीर अपराधमा मुछिएर कीर्तिमान राखेका हुन्।प्रहरीका अनुसार उनकाे गिराेहले परिचयपत्र बागबजारमा बनाइएको खुलेको छ । ‘अनुसन्धानका क्रममा पक्राउ परेका महेश पाण्डेले नै यो तथ्य खुलाएका हुन्, नक्कली परिचयपत्र बनाउने कार्यमा संलग्न अरू दुई फरार रहेको प्रहरीले बताएको छ।
अधिकारीसँग गएका तीनै जनाले प्रहरीसँगको बयानमा महेश पाण्डेलाई १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको खुलाएका छन् । उक्त रकम पाण्डेमार्फत अरू व्यक्तिले बाँडेर लगेको पनि अनुसन्धानबाट खुलेको छ । ‘मन्त्रीसँग रहेका तीनै जनाले पाण्डेलाई रकम बुझाएका रहेछन्, प्रारम्भिक अनुसन्धानका क्रममा यो पुष्टि भइसकेको छ।
पाण्डे र अधिकारीको सम्बन्ध खुल्ने गरी फोटो पनि भेटिएको छ । पाण्डेले कात्तिक १३ गते राति अधिकारीलाई त्रिभुवन विमानस्थल आसपासको कफी सपमा भेटेका थिए । त्यति बेला मन्त्रीका चिनारु तथा उनको जापान यात्राको मेसो मिलाउने मोरङको रतुवामाई नगरपालिकाका गोपाल गौतम पनि पाण्डेसँगै थिए । अधिकारीसहित चार जनाका लागि जापानको टोकियोस्थित एक होटलमा कोठा ‘बुक’ गरिएको थियो । ‘अधिकारी तयारीका साथ नै जापान गएको देखिन्छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘मन्त्रीलाई निमित्त कार्यालय प्रमुखका रूपमा राखिनु, मन्त्रीको यात्राको तयारी परराष्ट्र मन्त्रालयबाट हुनुपर्नेमा गिरोहको योजनामा अघि बढ्नु, मुख्यमन्त्री हिक्मत कार्कीले नजानू भन्दा अटेर गर्नु र पैसा बुझाएर जापान जानेहरूसँगै मन्त्रीको होटल बुक गरिनुले योजनाबद्ध रूपमा गिरोहले उनलाई प्रयोग गरेको देखिन्छ ।’
तत्कालीन मन्त्री अधिकारीको टोलीमा सहभागी तीन जनाले मानव तस्करको योजनामा नक्कली कागजात बनाई रकम बुझाएको स्वीकारेका छन् । मानवतस्करीमा संलग्न रहेको तथ्य बाहिरिएपछि अधिकारीले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । प्रदेशका मन्त्री पनि विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको स्वीकृति लिनुपर्ने नियम छ । तत्कालीन मन्त्री अधिकारी भने प्रदेश सरकारबाट पनि निर्णय नै नगराई कात्तिक १३ मा जापान उडेका थिए ।
आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्म (कात्तिक १३ देखि १८ सम्म) का लागि आयोजना गरेको ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी बन्न भनेर अधिकारीसहितको टोली जापान उडेको थियो । अधिकारीले काठमाडौंबाट पनि आफू एक्लै उडेको दाबी गरेका छन् । उनको उडानमा हङकङ ट्रान्जिट थियो । ‘हङकङ विमानस्थलमा बसिरहेको थिएँ, मन्त्रीज्यू नमस्ते भन्दै तीन युवा आएर मेरो छेउमा बसे,’ उनको दाबी छ, ‘तपाईंहरूलाई चिन्न सकिनँ नि भन्दा उनीहरूले हामी पनि तपाइहरूकै कार्यक्रमका सहभागी हौं भनेपछि छाँगाबाट खसेझै भएँ ।’ जापान पुगेपछि कोशी प्रदेशका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ र प्रहरी प्रधान कार्यालयका डीआईजी राजन अधिकारीलाई वाट्सएपमार्फत फोटोसहितको विवरण पठाएको पनि उनले बताए ।
जापानको अध्यागमनले प्रवेश अनुमति नै नदिई फर्काएपछि मानव तस्करीमा तत्कालीन मन्त्री अधिकारी प्रयोग भएको खुलेको हो । अधिकारी भने मानव तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्छन् । ‘साथीभाइको विश्वास गरेर जापान जानु नै मेरो गल्ती भयो । सरकारी प्रक्रिया पूरा नगर्नु पनि मेरो गल्ती हो भन्दै आफ्नाे बचाउ गर्दै आएका छन् ।








