३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

वैदेशिक अध्ययनका नाममा दुई महिनामा २८ अर्ब बाहिरियाे !


२० कार्तिक २०८१, मंगलबार  


यश चालू आर्थिक वर्षको दुई महिनामा वैदेशिक अध्ययनका नाममा २८ अर्ब बढी रुपैयाँ बाहिरिएको छ।राष्ट्र बैंकको तथ्यांक अनुसार २८ अर्ब बराबरको विदेशी मुद्रा बाहिरिएको हाे।

यो तथ्यांक गएको वर्षको यही अवधिमा विदेश अध्ययनका लागि बाहिरिएको रकमभन्दा झन्डै ५ अर्ब रुपैयाँ बढी हो । गएकाे आर्थिक वर्षको साउन र भदौमा विदेश अध्ययनमा २३ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको थियो ।

गएकाे साउनमा मात्र वैदेशिक अध्ययनमा १४ अर्ब ९२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको थियो । पहिलो महिनामा यो शीर्षकमा बाहिरिएको रकम गएकाे वर्षको यही अवधिको करिब ३९ प्रतिशतले बढेको थियो ।पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको राष्ट्र बैंकको तथ्यांक बताँउछ।

विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् । यसको सकारात्मक असर रेमिट्यान्स आप्रवाहमा पनि परेको उनीहरूको दाबी छ । नेपालमा अध्ययन गर्नकै लागि पनि विदेशबाट विद्यार्थी आउने गरेका छन् । चालू आर्थिक वर्षको दुई महिनामा विदेशी विद्यार्थीले नेपालमा अध्ययनका लागि करिब ४४ करोड ७३ लाख रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांक छ । यो रकम गएकाे वर्षको यहही अवधिको भन्दा कम हो ।

गएकाे आर्थिक वर्षको दुई महिनामा नेपालमा अध्ययनका लागि विदेशी विद्यार्थीले एक अर्ब २८ करोड १३ लाख रुपैयाँ खर्च गरेका छन् । यसले नेपाल अध्ययनका लागि आउने विद्यार्थी संख्या घट्दै गएको पुष्टि हुन्छ । खासगरी चिकित्साशास्त्र, इन्जिनियरिङ, साहित्य, संस्कृतिलगायत विषय अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउन गरेका छन् । तर उनीहरूले यहाँ खर्च गरेको रकम नेपालका लागि आम्दानी हुन्छ ।

गएकाे आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गएकाे वर्ष यो २४ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९/८० मा विदेश अध्ययनकै लागि १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा विदेशमा अध्ययनकै लागि ६७ अर्ब ७० करोड रुपैयाँ, आर्थिक वर्ष ०७५/७६ मा ४६ अर्ब ३२ करोड र आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता झाँगिँदै गएको, आर्थिक विकास लागि राज्यस्तरबाट प्रभावकारी काम हुन नसकेको, रोजगारीका नयाँ अवसर सिर्जना नभएकोलगायत कारण अध्ययनका नाममा नेपालबाट बाहिरिने युवाको संख्या दिनानुदिन बढेको सरकारी प्रतिवेदनहरूले देखाएका छन् ।

पछिल्लो एक दशकमा विदेश अध्ययनका लागि अनुमति लिने संख्या झन्डै तीन गुणाले बढेको मन्त्रालयको तथ्यांक छ । आर्थिक वर्ष २०७१/७२ मा ३० हजार ७ सय ९७ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका थिए । पुराना विद्यार्थीका लागि पनि केही वर्षसम्म घरपरिवारले खर्च पठाउँछन् । यसकारण अघिल्लो वर्षको तुलनामा वैदेशिक अध्ययन अनुमति (नो अब्जेक्सन लेटर (एनओसी) लिनेको संख्या घटे पनि अध्ययनकै लागि बाहिरिने रकम बढेको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ५ : ४९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित