४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

दाउन्नेमा सडक भासियाे, सवारी साधनमा राेक, मलेखुमा फेरि झर्याे पहिराे


१४ आश्विन २०८१, सोमबार  


पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । 

बर्दघाट नगरपालिका– ४ दाउन्ने जंगलस्थित खुर्सानी खोलामा सडक भासिएपछि बुटवलबाट काठमाडौँ जाने सवारीलाई पोखरा हुँदै जानको लागि प्रहरीले आग्रह गरेको छ । 

राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका निमित्त प्रमुख ईश्वरी अर्यालले दाउन्नेमाा करिब  डेढ फिट सडक भासिएपछि सवारी रोकिएको बताए । उनले तत्काल खुल्ने सम्भावना नभएकाले बुटवलमा पाल्पा पोखरा हुँदै जान आग्रह गरिएको बताए ।  

सडकको माथिल्लो भागमा पनि चर्किएकाले मर्मतसम्भारका लागि सडक डिभिजन कार्यालय चितवन र बुटवलसँगै समन्वय भइरहेको उनले बताए । 

सडक अवरुद्ध भएपछि नारायणगढबाट आउँदै गरेका सवारी साधनलाई दुम्कीबास र बुटवल तर्फबाट जाँदै गरेका सवारी साधनलाई बर्दघाटमा रोकिएकाे छ।

त्यसैगरी धादिङको मलेखुमा पुनः पहिरो खसेको छ । अविरल वर्षाको कारण पृथ्वी राजमार्गको धादिङ र चितवनमा पर्ने सडक खण्ड लगातार अवरुद्ध छ । 

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–९ स्थित झ्याप्ले खोलामा दुईवटा माईक्रो बस र एउटा बसमाथि पहिरो खस्दा ३५ जनाले ज्यान गुमाए । ना.४ ख २२७० नम्बरको बस, बा.२ ख १३४५ नम्बरको हायस र लु. १ ज ४५७७ नम्बरको विङ्गर पुरिँदा ३५ जनाले ज्यान गुमाएका हुन् । 

पहिरो खस्ने क्रम नरोकिएपछि पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सड्क खण्डमा थप प्रहरी प्रहरी परिचालन गरिएको छ । नियमित बाहेक ७५ जना थप मद्धत सो सड्क खण्डमा परिचालन गरिएको बागमती प्रदेशका प्रहरी नायव महानिरीक्षक ( डीआईजी) कृष्णहरी शर्माले जानकारी दिए।

बागमति प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश सुवेदीलाई मुग्लिन–नागढुंगा क्षेत्रको सवारी व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ । रातको समयमा थप जोखिम हुने आकलन गरेर प्रहरीले यश क्षेत्रमा राति यात्रा नगर्न आग्रह गरेको छ।

नागढुंगा हुँदै काठमाडौँ भित्रिन खोजेका साना सवारी साधनलाई प्रहरीले गल्छीबाट नुवाकोट हुँदै काठमाडौँ पठाएको छ । सवारी साधन पार्किङ गर्दा भिरालो ठाउँमा नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ८ : ५१ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित