३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

विवादास्पद डेकाटुर –टाइगर आइटी कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको करिब एक अर्ब भुक्तानी


११ भाद्र २०८२, बुधबार  


नेपाली भाषा मास्ने, लाखौ जनतालाई चुस्ने विवादास्पद डेकाटुर टाइगर आइटी कम्पनीलाई ९२ करोड भुक्तानी दिएको पाइएको छ। विभागले विवादकै बीचमा २५ पटक गरेर करिब एक अर्ब भुक्तानी गरेको हो ।

इम्बोस्ड नम्बर प्लेटमाथि विगतदेखि नै अनेकौँ विवाद छन् । इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गर्ने अंग्रेजी भाषामाथिको प्रश्न अदालतले निरूपण गरे पनि सार्वजनिक वृत्तमा यसको आलोचना भइरहेको छ ।

संविधानविद्हरूले नै यसमाथि प्रश्न उठाइरहेका छन् । संविधानले नै सरकारी कामकाजको भाषा नेपाली हुने गरी व्यवस्था गरेकामा इम्बोस्डमा अंग्रेजी भाषा प्रयोग गर्नु गैरसंवैधानिक हुने संविधानविद्कै टिप्पणी छ ।

यसका अतिरिक्त इम्बोस्डमा अंग्रेजी भाषा प्रयोग गर्नुलाई नेपाली भाषा नै लोप गर्ने षड्यन्त्रका रूपमा पनि आम देशक्तहरुले बताइरहेका छन् । यद्यपि, यही विषयलाई लिएर सम्झौता बदरका लागि दायर भएको रिटमा सर्वोच्चको संवैधानिक इजलासले २०७६ मंसिर २७ मंसिर मा रिट खारेज गरिदिएको थियो ।

इम्बोस्ड नम्बर प्लेटका जडान गर्न मोटरसाइकललाई दुई हजार पाँच सय, तीनपांग्रेलाई दुई हजार नौ सय, साना तथा मझौला चारपांग्रेलाई तीन हजार दुई सय र ठूला सवारीसाधनका लागि तीन हजार ६ सय रुपैयाँ तोकिएको छ । यो शुल्क अत्यधिक भएको भन्दै सर्वसाधारणले विरोध जनाइरहेका छन् ।

पाँच वर्षमा ठेक्का सम्पन्न गर्ने गरी विभाग र डेकाटुर टाइगर आइटी जेभीबीच २०७३ जेठ मा सम्झौता भएको थियो । पाँच वर्षभित्र अर्थात् २०७८ जेठ १५ मा सम्पन्न गर्ने गरी सम्झौता उल्लेख भए पनि नौ वर्ष कटिसक्दासम्म पनि प्रगति अत्यन्त कमजोर छ । ठेक्काको दोस्रोपटक थपिएको म्याद पनि सकिन केही समय मात्र बाँकी छ ।

इम्बोस्डमाथि अनेकौँ विवाद जारी रहँदा र प्रगति अत्यन्त सुस्त हुँदा पनि ठेक्का भने जारी छ । विभागले ठेकेदारलाई निरन्तर भुक्तानी दिइरहेको छ । विभागबाट प्राप्त विवरणअनुसार गएको असारसम्म ठेकेदार कम्पनीलाई ९२ करोड ६२ लाख ५९ हजार ४०४ रुपैयाँ भुक्तानी भइसकेको छ । यो ७३ लाख ७६ हजार २२६ अमेरिकी डलर हो । २०७४ पुस ३० यता विभागले ठेकेदार कम्पनीलाई २५ पटक भुक्तानी गरेको देखिन्छ ।


अमेरिकी कम्पनी डेकाटुर र बंगलादेश कम्पनी टाइगर आइटी विश्व बैकबाट कालो सूचीमा परेका कम्पनी हुन् । बंगलादेशको आइटी कम्पनीलाई सन २०१९ मा कालोसूचीमा राखिएको थियो । करिब ९ वर्ष कुनै पनि आर्थिक गतिविधि गर्न नपाउने गरी टाइगर आइटी कालोसूचीमा परेको थियो । तर,सरकारले यही कालोसूचीमा परेको कम्पनीसंग विवादास्पद सम्झौता मात्रै गरेको छैन । करिब एक अर्ब त भुक्तानी दिइसकेको छ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ११ : ५१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित