ओलीको सत्ता अहंकारले गएको भदौमा संघीय सत्ताबाट अपदस्थ एमाले प्रदेशबाट पनि आउट हुँदैछ । जेनजी विद्रोहले सत्ताबाट हात धुनु परेको एमाले गएको फागुन २१ मा सर्मनाक हार बेहो¥यो । एकपछि अर्काे गर्दै राजकीय सत्ता गुमाउँदै गएको एमाले आफ्नै कारणले प्रदेशमा पनि सत्ताबाट आउट हुन लागेको हो ।
प्रदेश सभाको कार्यकाल अब डेढ वर्ष पनि नभएको बेला प्रदेशमा नमुना काम गरेर जनविश्वास आर्जन गर्न सकिने सम्भावनालाई पनि तिलान्जली दिदै एमाले प्रदेशबाट पनि बाहिरिन लागेको हो ।
संघीय सरकारमा देउवा ओलीको सत्ता साझेदारपछि प्रदेशमा पनि एमाले र कांग्रेसको सत्ता साझा चलिरहेको थियो । पछिल्लो समय सत्तासहयात्री फेर्ने कांग्रेसको निर्णयले एमाले सत्ताबाट बाहिर पुग्ने भएको हो । चुनावमा नयाँ पार्टीका रूपमा उदाएको रास्वपाले करिब दुईतिहाइ मतसहित सरकार बनाएपछि तत्कालीन ओली नेतृत्वको सरकार र प्रचण्ड नेतृत्वको सरकारले नियुक्ति गरेका २०७९ पछिका सबै राजनीतिक नियुक्ति खारेज ग¥यो । बालेन्द्र शाह नेतृत्वको सरकारले सबै नियुक्ति बदर गर्दा झट्का व्यहोरेको एमालेका लागि कांग्रेसले नेकपासहित अरू दलसँगै मिलेर एकाएक प्रदेश सरकारहरू हेरफेरको बाटो रोजेपछि फेरि थप झट्का एमालेलाई लाग्ने भएको हो ।
कांग्रेस सभापति गगन थापाले पुरानो सहमति र सहकार्य तोडेर प्रदेश सरकारहरूको सहयात्री फेर्ने नीति लिएपछि संघीय सरकारपछि एमालेले प्रदेश सरकारहरू पनि गुमाउने सम्भावना बढेको छ । एमालेसँग सहकार्य तोड्ने केन्द्रीय निर्णयपछि कांग्रेसले कर्णालीबाट नेकपासँग घोषित रूपमै सहकार्य अघि बढाएको छ । यद्यपि, कर्णालीमा एमालेका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सवालमा दुवै दल एकै ठाउँमा उभिए पनि अरू ६ प्रदेशमा सहकार्य गर्ने गरी दुवै दलबीच केन्द्र या प्रदेश तहमा ठोस सहमति हुन बाँकी छ । विगतमा पनि नेकपालाई एमालेसंग भन्दा कांग्रेससंग सत्तासाझेदार सहज थियो।
तत्कालीन माओवादी केन्द्र र कांग्रेसबीच सत्तासाझेदार सहज ढंगले अघि बढीरहेको थियो । त्यही बेला ओलीले प्रचण्डलाई लोभ देखाइदिए । माक्र्सवादी स्कुलिङबाट उदाएका नेताहरुले स्वर्ग र नर्कमा विश्वास गर्न थाले । ओलीले प्रचण्डलाई स्वर्ग र नर्क संगै जाने झुठो बाचा गरे । तर, त्यो ओलीको रणनीति थियो । देउवाबाट प्रचण्डलाई अलग्याएपछि एमाले कांग्रेस गठनबन्धन बनेको थियो । १५ महिनापछि ओलीको अलोकपृय सरकार जेजनी विद्रोहले अपदस्थ गरेको हो । जेनजी विद्रोहमार्फत सत्ताबाट धपाइएको एमाले गएको मंसिरमा विशेष महाधिवेशन पनि ग¥यो । तिनै विवादस्पद ओलीलाई बोकेर निर्वाचनमा गयो ।
गएको २१ फागुनको निर्वाचनमा स्वयं ओलीसहित हाइप्रोफाइलका नेताहरु रास्वपाका भर्खरैका उम्मेदवारले हराइदिए । त्यसपछिका दिनमा एमाले र ओलीका लागि झन् कठिन र कष्टरपूर्ण राजनीतिक दैनिकी चल्दै आएको थियो । यसै बीच सुदूरपश्चिममा सरकारमा सहभागी भएर बजेटमा अनावश्यक संशोधनको बखेडा झिकेको भन्दै मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरे । सुदूरपश्चिमसंगै लुम्बिनीमा पनि एमाले र कांग्रेसबीच खटपट शुरु भएको छ ।
यस्तै कोशी, बागमती गण्डकी सहितका प्रदेशबाट एमाले आउट हुने देखिन्छ । नेकपाका संयोजक प्रचण्ड श्रीलंकाबाट फर्किएसंगै प्रदेशमा कांग्रेस र नेकपाको संयुक्त सरकार बन्ने देखिन्छ । गएको भदौमा केन्द्रबाट धपाइएको एमाले अब प्रदेशबाट पनि विस्थापित हुन लागेको हो ।








