४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

प्रधानमन्त्री ओली भन्छन्- ‘निलो रङका स्यालहरूको हाउभाउ धेरै दिन टिक्दैन’


१४ बैशाख २०८२, आइतबार  


प्रधानमन्त्री केपी ओलीले निलो रङका स्यालहरूको हाउभाउ धेरै दिन नटिक्ने बताएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई निलो रंगका स्यालहरूको संज्ञा दिदै यस्तो टिप्पणी गरेका हुन्।

आईतबार मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यस्ता गतिविधि लामो समय नटिक्ने दाबी गरेका हुन्। उनले एमाले आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित हुनेमा कसैले रोक्न नसक्ने बताएका छन् ।

उनले भने,‘आजकाल निलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेका छन्। तिनीहरुको वास्तविक रुप लामो समय टिक्ने छैन। एमालेले आफूलाई आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्ति बनाउने छ।ु

प्रधानमन्त्री ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच रहेको भन्ने आरोपको खण्डन गर्दै त्यस्ता कुरा प्रमाणित गर्न चुनौती दिएका छन् । गगन थापाले केही दिन अघि प्रधानमन्त्रीको बेडसम्म विचौलिया पुगेको दाबी गरेका थिए। त्यही अभिव्यक्तिलाई प्रतिवाद गर्दै उनले राजनीतिमा छिर्के दाउ, षड्यन्त्र र झेली खेल्नेहरूले लाजशरम पचाएर यस्ता आरोप लगाउने गरेको पनि बताए ।

सरकार र नेतृत्वविरुद्ध झूटा आरोप लगाएर भ्रम फैलाइएको भन्दै उनले एमाले र नेपाली कांग्रेसको सहभागितामा बनेको सरकार समयको आवश्यकता भएको सुनाए।

‘झूटको सहायतामा सरकारले केही गरेको छैन, देश बर्बाद बनाइरहेको छ वा अपराध गरिरहेको छ भन्ने भ्रम फैलाइएको छ,’ उनले भने।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भन्ने भ्रम फैलाउनेहरूको टाउकामा ‘चिसो पानी खन्याइएको’ उनले टिप्पणी गरे। स्थिरता, विकास र सुशासनले गति लिइरहेको बेला यस्ता आरोप लगाइएको उनको जिकिर थियो।

पार्टीभित्रको राजनीतिका सन्दर्भमा धेरै आलोचनात्मक चेत राख्नुभन्दा विश्लेषणात्मक चेत र एकताको भावना अपनाउनुपर्नेमा उनले जोड दिए। ‘विरोधीको आरोप खण्डन गर्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही होइन,’ उनले भने।

प्रधानमन्त्री ओलीले एमाले सही विचार, इमान र सत्यको राजनीतिमार्फत स्थापित हुने र आगामी निर्वाचनमा निर्णायक शक्तिका रूपमा उदाउने दाबी गरे।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ५५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित