माैसमविद्हरूले कोशी र बागमती प्रदेशमा बुधबार (भाेलि)देखि फेरि भारी वर्षाको सम्भावना रहेको बताएका छन् ।
यी प्रदेशहरूमा फेरि भारी वर्षा हुने सम्भावना रहेको उनीहरूले बताएका हुन्। वर्षातले ठूलो क्षति गर्न सक्ने भएकोले सतर्कता अप्नाउन पनि उनीहरूले आग्रह गरेका हुन्।
गएको शुक्रबार र शनिबार जस्तो भारी वर्षा नभएपनि जाेखिम उत्तिकै रहेकाले यात्रा गर्दा सचेत रहन आग्रह गरेका छन् । भारी वर्षाले जमिन गलेका कारण सकेसम्म दशै अघि रात्रीकालीन यात्रा नगर्न उनीहरूले सुझाएका छन् ।
शुक्रबार र शनिबार एकैसाथ भारी वर्षा भएकोमा आइतबारदेखि मौसममा सुधार देखिएको छ । मंगलबार पनि त्यसको निरन्तरता हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर,बुधबारदेखि भने फेरि देशको पूर्वी भेगमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार गजुरेलले बुधबार दिउँसो र राति कोशी र बागमतीका केही ठाउँहरुमा भारी वर्षाको सम्भावना रहेको बताए ।
‘मंगलबार पनि मौसममा आंशिकमात्रै बदली रहने देखिन्छ । बुधबार देशभर आंशिक बदली भएपनि कोशी र बागमतीका केही स्थानहरुमा भने भारी वर्षाको सम्भावना छ,’ उनले भने ।
उनका अनुसार अहिले पनि नेपालमा स्थानीय मनसुनी वायुको प्रभाव कायम छ भने भारतको मध्यप्रदेश र आसपासको क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
जसकारण मंगलबार साधारणदेखि आंशिक बदली भइ मुख्यतया मौसम सफा रहने, तर केही ठाउँहरुमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।
बुधबार भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यतया मौसम सफा रहनेछ भने बाँकी रहेका कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बाग्मतीका केही ठाउँहरुमा भने भारी वर्षा हुन सक्नेछ ।
विभागले हरेक दिन बिहान र बेलुका तीन दिनसम्म मौसम पूर्वानुमान गर्ने गरेको छ ।
मनसुन कायमै रहेकाले देशैभरि ठाउँ–ठाउँमा खण्डित वर्षा हुनसक्छ । कहिलेकाहीँ यात्राका लागि त्यही पनि जोखिमपूर्ण हुनसक्छ । त्यसकारण सकेसम्म रात्रीकालीन यात्रा नगर्दा राम्रो हुने माैसमविद्हरूकाे सल्लाह छ।
सकेसम्म छोटो यात्रा मात्रै गर्ने, लामो दुरीको यात्रा गर्दा आफ्नो यात्रा गर्ने क्षेत्रको मौसम पूर्वानुमान हेरेर यात्रा गर्ने र सतर्कता अपनाउनु उपयुक्त हुने उनीहरूकाे सुझाव छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा.मदन सिग्देल तत्कालै भारी वर्षाको जोखिम नभएपनि रात्रीकालीन यात्रा गर्नु जोखिमपूर्ण हुने सुझाउँछन् ।
‘अहिले जसरी पूर्वदेखि पश्चिमसम्म एकैसाथ भारी वर्षा भयो, यस्तो खालको मनसुनी प्रणाली यही वर्ष विकिसत हुने अवस्था अब देखिएको छैन,’ उनले भने, ‘बाँकी त मनसुन रहुञ्जेल ठाउँ–ठाउँमा वर्षा हुनसक्छ । तर यसो भनेर हेलचेक्राइँ गर्नुपनि हुँदैन । अहिले निकै लामो समयपछि ठूलो पानी परेकाले जमिन गिलो भएको छ । थोरै वर्षा हुँदा पनि बाढी पहिरोको सम्भावना हुन्छ । सँगसँगै चर्को घामले सुख्खा भएर फेरि सुख्खा पहिरोको पनि जोखिम हुनसक्छ ।’
सोमबार बेलुका मलेखु नजिकै त्यही भएर सुख्खा पहिरो खसेको उनले बताए । ‘दिउँसो चर्को घाम लागेपछि सुख्खा भएर राति फेरि सुख्खा पहिरोको सम्भावना पनि हुन्छ । मलेखु नजिकै भएको पनि त्यही हो,’ उनले भने, ‘त्यसकारण तत्कालै रात्रीकालीन यात्रा असुरक्षित हुन्छ । सकेसम्म राति यात्रा नगरेकै राम्रो हो ।’
उनले केही दिन मौसममा राम्रो सुधार भएको अवस्थामा भने आठ/दस दिनपछि फरक अवस्था हुन सक्ने बताए ।
यो वर्ष अक्टुबरको दोस्रो सातासम्ममा मनसुन बाहिरिएर जान सक्ने उनी बताउाछन् । ‘अब विस्तारै पश्चिम नेपालबाट मनसुन बाहिरिदै जान्छ । अक्टुबरको पहिलो–दोश्रो सातासम्ममा मनसुन बाहिरिने हुनसक्छ,’ उनले भने ।