८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

सल्यानमा स्क्रब टाइफस !अहिलेसम्म ७ जनाको मृत्यु !के गर्दैछ सरकार ?


८ आश्विन २०८३, बिहिबार  


हाइलाइट्:
सल्यानमा फैलियो स्क्रब टाइफस रोगको प्रकोप !
पालिका सरकारका अनुसार हालसम्म ७ जनाको मृत्यु !
के हो, स्क्रब टाइफस रोग ? यो रोग कसरी फैलिन्छ ?
स्क्रब टाइफस रोकथाम बारे के भन्छन् चिकित्सक ?

गएको भदौदेखि सल्यानमा एउटा त्यस्तो रोग फैलिएको छ । रोगको कारण ७ जनाको अहिलेसम्म ज्यान समेत गैसकेको छ । सर्वसाधारण ज्यान लिने खतरनाक त्यो रोग हो, स्क्रब टाइफस । पालिका सरकारहरुले बताए अनुसार गएका भदौ १ यता हालसम्म यस रोगका कारण दार्मा गाउँपालिकामा ७ जनाको मृत्यु भैसकेको छ।

दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले दिएको जानकारी अनुसार गएको भदौ १ गते दार्मा गाउँपालिका—६ का ८२ वर्षीय बलबहादुर थापाको सल्यान अस्पतालमा मृत्यु भएको थियो । पहिलेदेखि नै दमका बिरामी उनीमा उपचारकै क्रममा स्क्रब टाइफसका पुष्टि भएको हो । पालिकाको वडा नम्बर ५ का ६९ वर्षीय तुलबहादुर खड्काको गएको भदौ ५ गते मृत्यु भएको छ । उनमा पनि स्क्रब टाइफस पुष्टि भएको थियो भने उनी पहिलेदेखि नै मधुमेह (सुगर) का बिरामी भएको पाइएको छ ।


यस्तै दार्मा गाउँपालिका वडा नम्बर ६ का ६७ वर्षीय नरबहादुर बुढाथोकीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएको भदौ ७ गते मृत्यु भएको थियो । उनमा स्क्रब टाइफसका लक्षण देखिएको थियो ।यस्तै वडा नम्बर १ का ५१ वर्षीय खिमानन्द केसीको नेपालगञ्जमा गएको भदौ १८ गते मृत्यु भएको थियो । उनमा पनि स्क्रब टाइफसका लक्षण देखिएको थाहा भएको छ । पालिकाको वडा नम्बर २ का १२ वर्षीय बालक नरेश वलीको कोहलपुर मेडिकल कलेजमा भदौ २५ गते मृत्यु भयो भने वडा नम्बर १ का ६७ वर्षीय तोताराम सुनारको पनि नेपालगञ्जमा असोज २ गते मृत्यु भयो । उनीहरुमा पनि स्क्रब टाइफसको लक्षण पाइएको थियो । यस्तै दार्मा गाउँपालिका–१ का ६१ वर्षीय नरेन्द्र रोकायको पनि त्यसै दिन नेपालगञ्जमा उपचारका क्रममा मा मृत्यु भयो । उनीमा पनि स्क्रब टाइफसको लक्षण देखिएको हो ।

दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीका अनुसार यही असोज ५ गतेसम्म दार्माका १ सय ९१ जनामा स्क्रब टाइफसको परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण गर्दा ६० जनामा पोजेटिभ देखिएको छ । जिल्ला अस्पताल सल्यानका सूचना अधिकारी प्रतिक भट्टले दार्मा र बागचौर नगरपालिकामा परीक्षण गर्दा हालसम्म १९० जनामा यस्तो रोग पोजेटिभ देखिएको जानकारी दिएका छन् । उनले बताए अनुसार निजी क्लिनिकहरूमा पनि जाँच भइरहेकाले संख्या अझ बढी हुन सक्ने देखिन्छ । उनकाअनुसार, यी स्थानीय तहसँग जोडिएका कुमाख लगायतका क्षेत्रमा पनि रोग फैलिएको अनुमान छ । विशेषगरी दार्माका वडा नम्बर १, ५ र ६ बढी स्क्रब टाइफसबाट प्रभावित भएका छन्।


पालिकामा एकाएक स्क्रब टाइफस फैलिएर मानिसहरुको ज्यान लिन थालेपछि पालिकाले हजार किटको माग गरेको छ। प्रकोप नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर पनि सञ्चालन भइरहेका छन् । स्थानीय तहदेखि जिल्ला अस्पतालको टोलीले प्रभावित क्षेत्रमा काम गरिरहेका छन् ।स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालसहित चिकित्सक र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको छ ।स्क्रब टाइफस परीक्षणका लागि प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट २ सय र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट २ सय ५० गरी हालसम्म ४ सय ५० वटा किट दार्मामा पठाइएको बताइएको छ ।


प्रकोपको अवस्था हेर्दा तत्कालका लागि कम्तीमा एक हजार थप परीक्षण किट आवश्यक रहेको स्थानीय तहले बताइरहेका छन्। दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले किटका लागि सम्बन्धित सबै निकायमा पत्राचार गरिएको बताएका छन् । यसै विषयमा सल्यानमा स्क्रब टाइफसको प्रकोप फैलिएपछि परीक्षण किट र औषधिको व्यवस्था गर्न सल्यानबा निर्वाचित सांसद रमेश मल्लले माग गरेका छन् । उनले संसदबो बैठकमा बोल्दै सल्यानमा स्क्रब टाइफसको प्रकोप बढेकोले परीक्षण किट र औषधिको व्यवस्था गर्न माग गरेका हुन् । सल्यान जिल्लाको कालीमाटी गाउँपालिका, कुमाख गाउँपालिका र बागचौर नगरपालिकाले पनि स्क्रब टाइफस परीक्षण किटको माग गरेका छन्। कर्णाली प्रदेश सरकारले पनि परीक्षण किट, औषधि र थप स्वास्थ्यकर्मी पठाउने तयारी गरेको बताएको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप एक हजार किट, आवश्यक औषधि तथा चिकित्सकसहितको जनशक्ति पठाउन निर्देशन दिएका छन्।

स्वास्थ्य सेवा कार्यालय सल्यानले यसअघि स्क्रब टाइफससँगै डेंगु परीक्षण एजिथ्रोमाइसिन, पारासिटामोल लगायत आवश्यक औषधि उपलब्ध गराउन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको थियो। मुख्यमन्त्रीको निर्देशनअनुसार आवश्यक औषधि तथा किट सल्यान पठाउन लागिएको हो । स्वास्थ्यकर्मीहरुले विशेष गरी ‘सचेतना कार्यक्रम, झाडी–जङ्गल जाँदा पूरा शरीर ढाक्ने लुगा र बुट लगाउन सुझाव दिएका छन् । यस्तो लक्षण देखिनासाथ एन्टिबायोटिक सेवन गर्न सल्लाह दिएका छन् । दार्मा गाउँपालिकाले गाउँपालिकावासीमा विशेष सतर्कता सन्देश समेत जारी गरेको छ।००००

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  २ : ५७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित