२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

भारतको किट विश्वविद्यालयमा फेरि अर्की नेपाली छात्रा प्रिसा साहको रहस्यमय मृत्यु


१९ बैशाख २०८२, शुक्रबार  


भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको परिवार वीरगञ्जमा बस्दै आएको पुष्टि भएको छ । प्रिसा सर्लाहीको मलंगवा घर भइ हाल वीरगन्ज–१५ बस्दै आएका श्याम साहकी छोरी भएको पुष्टि भएको हो ।

उनको मृत्युबारे कलेजले बिहीबार राति ९ बजे फोन गरेर जानकारी दिएको थियो । प्रिसा एक वर्ष अगाडि मात्रै अध्ययनका लागि यस विश्वविद्यालयमा गएकी थिइन् ।

भाइ गौरबका अनुसार बिहिबार दिउँसो तीन बजे प्रिसाले घरमा फोन गरेर यही १८ तारिखमा नेपाल आउनका लागि टिकट काटिदिन आग्रह गरेकी थिइन् । प्रिसा बिहीबार साँझ मृत फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।

गएको साल २०८१ फागुन ४ मा यही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल पनि यही विश्वविद्यालयको होस्टलमा मृत फेला परेकी थिइन् । साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ। प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन्।

उनले के कति कारणले आत्महत्या गरेको भन्ने विषयमा खुलिनसकेको बताइएको छ। साहको शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ।उनका परिवार ओडिसा हिडेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ५ : ५७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित