जतिबेला सुधन गुरुङ गृहमन्त्री बन्ने चर्चा भइरहेको थियो, त्यत्तिबेला उनका आलोचकहरुले खिस्सीट्यूरी गर्दै थिए ।तर, १३ चैतमा गृहमन्त्री भएको २४ घण्टा पुग्दा नपुग्दै सुधनले जनताको मन जित्न भ्रष्ट र तस्करको मुटु हल्लिने गरी एक्सन शो गरे । साउथ इण्डियन मुभी नायकको झल्को दिने गरी सुधनले गएको एक हप्ताको अवधिमा देखाएका चर्चित ७ एक्सनहरुको फेयरहिस्त यस्तो छ, यो हेरौं।
एक्सन नम्बर १
ओली र लेखकमाथि पहिलो फायर !
भदौ २३ को नरसंहारका मुख्य हेडमास्टर ठहरिएका केपी ओली र रमेश लेखक चैत १४ गते बिहानै पक्राउ परे । ओली र लेखक यो सामग्री तयार पार्दासम्म पुर्पक्षका लागि थुनामा छन् । अदालतमा मुद्दा विचाराधीन छ, यो मुद्दा । भदौ २३ गते युवाहरुको विद्रोहमा गोली हानी २९ जनाको हत्या गरेको आरोप उनीहरुमाथि छ । कार्की आयोगले सरकारलाई बुझाएको प्रतिवेदनको पाना पल्टाएर उनीहरुमाथि गृहले पहिलो फायर खोलेको हो । यही चैत १४ गते बिहानै जरुरी पक्राउ पूर्जी थमाएर, गुण्डुबाट ओलीलाई र कटुन्जेबाट रमेश लेखकलाई पक्राउ गरी काठमाडौ प्रहरी परिसरमा पुराइएको हो ।
एक्सन नम्बर २
कालोधनका कुवेर कांग्रेस नेता दीपक खड्का पक्राउ !
गृहमन्त्री सुधन गुरुङको आदेशमा कांग्रेस नेता तथा पूर्व उर्जामन्त्री दीपक खड्का पनि पक्राउ परेका छन्। कालोधनका कुबेर भनेर चिनिने दीपक खड्कामाथि स्काउटको जग्गा हडपेको र करिब तीन करोड भाडा नतिरेको आरोप छ । तत्कालीन ओली सरकारको बेलामा ओलीका पृय र निकट मानिने खड्काले शक्तिको आडमा कुलमान हटाएका थिए । विद्युत माफियाहरुको करिब २२ अर्ब रकम ढिसमिस पार्न उनले न्वारनदेखिको बल लगाएका थिए । गएको भदौ २४ गते जेनजी आन्दोलनमा उनको घरमा पनि पैसाका बीटा पाइएका थिए । कालोधनका कुबेर भने चिनिने दीपक खड्का सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका हुन् ।
एक्सन नम्बर ३
विचौलियाका हेडमास्टर दीपक भट्ट पक्राउ !
विचौलियाहरुका हेडमास्टर दीपक भट्ट बिहीबार पक्राउ परे ।पाँच अर्बको अकुत धन थुपारेको अभियोगमा उनी पक्राउ परेका हुन्। विगतमा हतियार खरिददेखि सरकारी बीमा कम्पनी डुबाउने करोडौको चलेखेल गर्दै आएका मानिस हुन्, दीपक भट्ट । ओली,प्रचण्ड र देउवाका परमपृय दीपक भट्ट चानचुने विचौलिया भने होइनन् । उनकै डिजाइनमा सरकार बन्ने र ढल्ने गर्दथे । विगतमा पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको राडारमा भएपनि ओलीकै संरक्षणमा उनी जोगिदै आएका थिए । हिमायलयन रि इन्स्योरेन्समा करिब ७ प्रतिशत शेयर भएका उनको पक्राउसंगै यसको धमाका हिमालयन रि र बीमा प्राधिकरणसम्म पुगेको छ । दीपकले अरुलाई पनि बगाउने पक्का छ ।
एक्सन नम्बर ४
भीआइपी सवारीका नाममा सर्वसाधारणलाई सास्तीमा कडाइ !
गृहमन्त्री सुधन गुरुङले मन्त्री तथा भीआइपीको सवारीका नाममा सर्वसाधारणलाई सडकमा सास्ती दिने काम तत्काल रोक्न ट्राफिक प्रहरीलाई निर्देशन दिए । उनले नागरिकलाई आवागमनमा रोक लगाएर मन्त्रीको गाडीलाई विशेष व्यवहार नगर्न निर्देशन दिएका हुन् । गृहमन्त्री गुरुङले सर्वसाधारण नागरिकलाई हैरानीमा राखेर कुनै पनि अतिविशिष्ट र विशिष्टहरुलाई प्राथमिकतामा नराख्न निर्देशन दिएका हुन्। कथित भीआइपीका नाममा जनताले सडकमा सधै हैरानी झेलेका थिए ।
एक्सन नम्बर ५
गृहमन्त्री सुधनद्वारा एकद्वार प्रणालीबाट कामको शुरुवाती !
चैत १३ गते सुधन गुरुङले जब गृह मन्त्रालयको कुर्सीमा पाइला टेके, उनले कुनै फूलमाला र स्वागतको लामो समय पर्खेनन्। उनले पहिलो निर्णय नै ’एकद्वार प्रणाली’बाट काम गर्ने गरी सुरुवाती गरे। सुशासनको कुरा गर्दा भीआईपी लावालस्करले जनतालाई सास्ती दिने पुरानो गलत कुप्रथालाई ’ब्रेक’ लगाइदिए । मन्त्री या प्रधानमन्त्रीलाई खुशी पार्ने कुप्रथाको अन्त्य गर्दै जनताप्रति जवाफदेही हुन मातहतका निकायलाई निर्देशन दिए ।
एक्सन नम्बर ६
त्रिभुवन विमानस्थलमा छड्के अनुगमन, माफियाहरु भागाभाग !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यस्तो उडानस्थल हो । जहाँ हरेक नेपालीले यातना भोग्नुपर्छ । मानौ यो, यातना गृह हो । जहाँ विदेशबाट स्वदेश फर्कने अधिकांश नेपालीले चरम यातना भोग्न पर्छ, र दुःख झेल्नुपर्छ । विशेष गरी खाडी मुलुकबाट घर फर्किने नागरिकमाथि यहाँ प्रहरी र कर्मचारीले मानसिक यातना दिने गर्दछन् । चेकजाँचका नाममा अस्वभाविक खानतलासी गर्ने र दुःख लिएर पैसा असुल्ने धन्दा यहाँ ओपन सेक्रेट नै छ । यही विमानस्थलबाट कुइन्टलका कुइन्टल सुन छिर्दा पनि अत्तापत्तो नपाए झै गर्ने यहाँको संयन्त्र छ। यही भ्रष्ट संयन्त्रमा जनताले दुःख पाएको गुनासो लगत्तै गहमन्त्री सुधन गुरुङ गए राति त्रिभुवन विमानस्थल पुगेर अनुगमन गरेका थिए ।
एक्सन नम्बर ७
जेन–जी आन्दोलनका घाइतेसंग भेटघाट !
गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनका घाइतेहरूसँग काठमाडौं मेडिकल कलेजमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बिहीवार राति उनले घाइतेहरूको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् । घाईतहरुको अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । ००००
२० चैत्र २०८२, शुक्रबार








