२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

धिताेपत्र बाेर्ड १० महिनादेखि नेतृत्वविहिन्, आईपीओ निष्कासनका फाईल अलपत्र !


१९ कार्तिक २०८१, सोमबार  


१० महिनादेखि नेपाल धितोपत्र बोर्ड नेतृत्वविहिन् भएको छ। बाेर्डमा मा कार्यकारी अध्यक्ष नहुँदा सम्पादन हुँदै आएका काम समेत प्रभावित भएका छन् ।

गएको साल २०८० पुस २० गते तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहिन हुदै आएकाे हाे। अध्यक्ष नियुक्तिमा राजनीतिक किचलो बढेकोे छ । त्यसपछि बोर्ड अध्यक्ष नियुक्तिमा भएका प्रयास असफल हुँदै आएका छन् ।

बोर्डमा कार्यकारी अध्यक्ष १० महिनादेखि नहुँदा आईपीओ निष्कासनका लागि निवेदन दिएका कम्पनीहरूका फाइल थन्किएका छन् । हालसम्म ३४ कम्पनीका आईपीओ निष्कासनका फाइल धितोपत्र बोर्डमा अड्किएका हुन् ।

कार्यकारी अध्यक्ष नियुक्ति नभएसम्म यी कम्पनीका फाइल अड्किने देखिएको छ । सरकारले फागुन अगाडि कार्यकारी अध्यक्ष नियुक्त नगर्ने संकेत पनि देखिएकाे छ

कार्यकारी अध्यक्ष नियुक्ति हुने बित्तिकै पनि कम्पनीका फाइल अगाडि बढ्दैनन् । यसका उदाहरण एक्कर्ड फर्मास्यूटिकल्स र ट्रड टावर हुन् । यी कम्पनीले दुई वर्षअघि आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका हुन् ।

तत्कालीन अध्यक्षले पनि यी कम्पनीका फाइल हेर्न भ्याएनन् वा चाहेनन् । एक्कर्ड फर्मास्यूटिकल्सले वि.सं. २०७९ पुस ४ गते बोर्डमा अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका सात लाख ६ हजार ९०९ कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो ।

त्यसैगरी ट्रेड टावरले वि.सं. २०७९ असार १४ गते आईपीओ निष्कासनका लागि निवेदन दिएको थियो । यो कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको हो ।

कार्यकारी अध्यक्ष नभए पनि बोर्डका कार्यवाहक अध्यक्ष महेश बरालले अहिले केही कम्पनीलाई एफपीओ र हकप्रद सेयर जारी गर्न अनुमति दिइरहेका छन् । हकप्रद र एफपीओ निष्कासन गर्न दिँदा आईपीओ निष्कासन गर्न दिए जस्तो विवादमा नआइने भएकाले अहिलेका कार्यवाहक अध्यक्ष बरालले काम देखाइरहेका हुन्।

नेपाल धितोपत्र बोर्डमा ३४ कम्पनी १६ करोड ९१ लाख ७८ हजार ८७ कित्ता आईपीओ निष्कासन अनुमतिको पर्खाइमा छन् । यी कम्पनीमध्ये सबैभन्दा बढी हाइड्रोवार कम्पनी छन् । हाइड्रोवार समूहका १७ कम्पनी बोर्डमा आईपीओ निष्कासनको पर्खाइमा छन् भने ९ वटा ‘अन्य’ समूहका कम्पनी आईपीओ निष्कासनको पर्खाइमा छन् ।

लगानी र लघुवित्त समूहका एक/एक वटा कम्पनी छन् ।  त्यसैगरी उत्पादन तथा प्रशोधन समूहका चार वटा र होटेल तथा पर्यटन समूहका दुई वटा कम्पनी आईपीओ निष्कासन अनुमतिको पर्खाइमा छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ६ : ५९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित