अर्जेन्टिनाको रोसारियो सहरको एउटा सामान्य परिवारमा सन् १९८७ जुन २४ मा एउटा बालक जन्मियो। त्यो बालकको नाम थियो—लियोनेल मेसी। संसारले त्यतिबेला कहाँ सोचेको थियो र, यही सानो बालक एक दिन फुटबलको इतिहासमा अमर बन्नेछ भनेर।
बाल्यकालदेखि नै मेसी अरू बच्चाभन्दा फरक थिए। जब अरू बालबालिका खेलौनासँग रमाउँथे, मेसीको संसार भने एउटा फुटबल वरिपरि घुम्थ्यो। बिहान उठ्दा फुटबल, दिउँसो फुटबल र बेलुका पनि सपनामा फुटबल। तर त्यो सपनाको बाटो सजिलो थिएन।
मेसी केवल चार वर्षको हुँदा नै उनको खुट्टामा रहेको असाधारण प्रतिभा रहेको परिवारले महसुस गर्न थाल्यो। उनको पहिलो फुटबल यात्रा रोसारियोको ग्रान्डोली क्लबबाट सुरु भयो। त्यो सानो मैदानमा एउटा सानो बालक बलसँग खेलिरहेको हुन्थ्यो । अनि मैदानको छेउमा उभिएर सबैभन्दा ठूलो खुसीले उनलाई हेर्ने एक व्यक्ति थिइन्—उनकी हजुरआमा सेलिया ओलिभेरिया कुक्सितिनी।
अरूले मेसीको उमेर हेर्थे, उनको सानो शरीर हेर्थे, तर सेलियाले उनको भविष्य देखेकी थिइन्। उनी नै मेसीलाई पहिलो पटक फुटबल मैदानसम्म लिएर जाने व्यक्ति थिइन्। उनले नै परिवारलाई भन्थिनन् यो बच्चाभित्र केही विशेष छ, यसलाई खेल्न दिनुहोस्।
सानो मेसीका लागि हजुरआमा केवल परिवारको सदस्य मात्रै थिइनन्,। उनी उनको सबैभन्दा ठूलो समर्थक थिइन्। खेल जित्दा सबैभन्दा धेरै खुसी हुने र हार्दा सबैभन्दा पहिले हौसला दिने व्यक्ति पनि उनी नै थिइन्।
समय बित्दै गयो। मेसीको प्रतिभा अझ चम्किन थाल्यो। तर, जीवनले उनको परिवारलाई एउटा कठिन परीक्षा दियो। केवल १० वर्षको उमेरमा मेसीलाई ग्रोथ हर्मोनको समस्या भएको पत्ता लाग्यो। उपचार निकै महँगो थियो। एउटा सामान्य परिवारका लागि त्यो ठूलो चुनौती थियो।
तर, मेसीको परिवारले हार मानेन। उनीहरूले आफ्नो छोराको सपनालाई बचाउन संघर्ष गरे। अन्ततः मेसीको प्रतिभाले उनलाई स्पेनको बार्सिलोनासम्म पुर्यायो। १३ वर्षको उमेरमा उनी नयाँ देश, नयाँ भाषा र नयाँ जीवनसँग जुध्न थाले।
त्यो उमेरमा धेरै बालबालिका आमाबुबाको काखमा रमाइरहेका हुन्थे । तर, मेसी भने आफ्नो सपनाको लागि अपरिचित भूमिमा संघर्ष गरिरहेका थिए।
त्यो यात्रामा उनलाई अगाडि बढाउने सबैभन्दा ठूलो शक्ति थियो—बाल्यकालमा पाएको हजुरआमा सेलिया मारियाको त्यो अटूट विश्वास र प्रेम ।
तर दुर्भाग्यवश, मेसीले आफ्नो महान सफलता हेर्न हजुरआमालाई धेरै समय दिन पाएनन्। मेसी विश्व फुटबलमा चम्किनुअघि नै सेलिया ओलिभेरियाको निधन भयो।मेसीको जीवनमा त्यो पीडा सधैं भरि मनमा रहिरह्यो।
जब मेसीले बार्सिलोनाको जर्सी लगाएर मैदानमा जादु देखाउन थाले। तब हजारौं दर्शक उनको नाम उच्चारण गरेर चिच्याउन थाल्थे। जतिबेला उनको मनको एउटा कुनामा सधैं एउटा अनुहार झल्किन्थ्यो। त्यो अनुहार थियोे ,—उनकी हजुरआमा सेलियाको।उनी सम्झन्थे । हजुरआमाले सानो नातिको हात समातेर पहिलो पटक मैदानसम्म पुर्याएको त्यो अविस्मरणीय क्षण।
फुटबलका महाहस्ती मेसीले अनगिन्ती गोल गरे। विश्वकप जिते। फुटबलका सबैभन्दा ठूला सम्मान पाए। जब उनी गोल गर्छन्, तब उनी केही क्षणका लागि आकाशतिर हेर्छन्।धेरै मानिसले सोच्छन्, मेसी आकाशतिर किन हेर्छन् । तर, त्यो उनको केवल खुसी मनाउने शैली मात्रै होइन। त्यो त एउटा नातिले आफ्नी हजुरआमालाई सम्झने क्षण हो।
जब बल जालीभित्र पुग्छ। जब संसार उनको नामले गुञ्जिन्छ, मेसीको मनमा एउटा मौन आवाज आउँछ—हजुरआमा‘ यो गोल तपाईंको लागि।किनकि संसारले मेसीलाई महान खेलाडीको रूपमा देख्यो, तर उनको महानताको सुरुवात एउटा सानो मैदानबाट भएको थियो। अनि त्यो यात्राको पहिलो विश्वास गर्ने व्यक्ति थिइन्—उनकी हजुरआमा।
आज पनि जब मेसी आकाशतिर हेर्छन्, त्यो नजरमा केवल सफलता मात्रै हुँदैन। त्यहाँ एउटा बाल्यकालकाे सम्झना हुन्छ, एउटा हजुरआमाको अद्वितीय माया हुन्छ र एउटा अधुरो धन्यवाद हुन्छ।
फुटबलको इतिहासमा मेसीको नाम सधैं लेखिनेछ। तर, उनको हृदयको इतिहासमा भने सबैभन्दा पहिलो स्थानमा सधैं एउटै नाम रहनेछ—त्यो नाम हो, सोलिया हजुरआमा। जसले एउटा सानो बालकभित्र फुटबल दुनियाँमा संसार बदल्ने सपना देखाएका थिइन्।








