भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले वैकल्पिक व्यवस्थापनको माग गर्दै मंगलवार पनि आन्दोलन जारी राखेका छन् ।
सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिवास लगाएको तथा होल्डिङ सेन्टरबाट समेत लखेट्ने काम गरेको भन्दै उनीहरुले मंगलवार पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिरहेका हुन् ।
सरकारले वास्तविक सुकुम्बासीको पहिचान नगरिकन हुकुम्बासी र सुकुम्बासी सबैलाई एउटै डालोमा हाल्ने काम गरेको उनीहरुको गुनासो छ । सरकारले आफूहरुको वैकल्पिक व्यवस्थापन तथा जग्गाको स्वामित्वको सुनिश्चितता नगरेसम आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ । सरकारले गएको वैशाख १२ र १३ गते काठमाडौैं उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएको थियो ।
१५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भनेपनि सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको उचित व्यवस्थापन गर्न सकेको छैन । सत्तारुढ दल रास्वपाको चुनावी वाचाविपरित देशका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लखेट्ने कार्य भएको भन्दै आन्दोलन भइरहेको छ ।








