नेपाल प्रहरीको सङ्गठनात्मक संरचना र चेन अफ कमान्ड अनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) भन्दा प्रहरी नायब उपरीक्षक (डीएसपी) माथिल्लो दर्जाको पद हो।
प्रहरी नियमावली र सुरक्षा निकायको नियम अनुसार कनिष्ठ अधिकारीले वरिष्ठ अधिकारीको सकारात्मक आदेश अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ।
त्यसैले, कार्यक्षेत्रमा इन्स्पेक्टरले आफ्नो कमान्डर वा डीएसपीको निर्देशन र कमान्ड स्वीकार्नु कानुनी र सङ्गठनात्मक दायित्व हो।
संगठनभित्रको कमान्ड, अनुशासन र कार्यविभाजनअनुसार जिम्मेवारी निर्वाह गर्नुपर्ने प्रहरी अधिकारीमाथि नै माथिल्लो नेतृत्वको निर्देशन बेवास्ता गरेको आरोप लागेपछि झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी निरीक्षक मनीष लुँईटेलले डिएसपी सन्तोष पाठकलाई टेर्दैनन । उनीमाथि माथिल्लो प्रहरी नेतृत्वको निर्देशनविपरीत काम गरेको, आफूखुसी प्रहरी गतिविधि सञ्चालन गरेको तथा आर्थिक अनियमिततामा संलग्न रहेको आरोप लागेको छ।
विभिन्न स्रोतबाट प्राप्त सूचनाअनुसार उनले डीएसपी सन्तोष पाठकलाई जानकारी नदिई विभिन्न स्थानमा अनुगमन गर्ने, चेकजाँच गर्ने तथा अन्य प्रहरी गतिविधि सञ्चालन गर्ने गरेको गुनासो छ ।
प्रहरी निरीक्षक लुँईटेलले विभिन्न व्यक्तिसँग साँठगाँठ गरी आर्थिक लाभ लिने गरेको आरोपसमेत स्रोतको छ ।
यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन। लामो समयदेखि प्रहरी निरिक्षक लुँईटेलको गतिबिधि बारे केहि समय अघि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का समक्ष समेत जनगुनासो पुगेपछि लुँइटेललाई सचेत गराइएको र कानुनविपरीतका गतिविधि नगर्न स्पष्ट निर्देशन दिइएको स्रोतको भनाइ छ।
तर, एसपी खड्का तथा डिएसपी पाठक स्वंमको निर्देशनपछि पनि उनको कार्यशैलीमा सुधार नदेखिएको स्रोतले जनाएको छ ।
केही समयअघि नेपाली नम्बर प्लेट जडान गरेर ९नक्कली नम्बर ० प्रयोग गरी सञ्चालन गरिएका दुईवटा भारतीय नम्बर प्लेटका गाडी विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको थियो ।
ती गाडीका चालकहरूलाई भने लुँईटेलले मोटो रकम लिएर छाडिदिएको स्रोतको गम्भीर आरोप छ। उक्त घटनामा रकम लेनदेन भएको हो वा होइन भन्ने विषयमा आधिकारिक पुष्टि हुन बाँकी छ। तर चालक फरार रहेको स्रोतले जनाएको छ । ती गाडि अहिले पनि इप्रका अनारमनीको परिसरमै छन् ।घटनाको निष्पक्ष छानबिन भएमा वास्तविकता बाहिर आउन सक्ने देखिन्छ।
त्यसैगरी, डीएसपी पाठक बिदामा रहेका बेला प्रहरी निरीक्षक लुँईटेलले केही व्यक्तिलाई नियन्त्रणमा लिएको र उनीहरूलाई अनावश्यक रूपमा हिरासतमा राखेको तथा आफूखुसी छाडेको आरोप छ। उनले डिएसपीलाई जानकारी नदिई यस्तो गतिबिधि गर्दै आएको बताईन्छ । उनले अधिकाँश घटनाको टिपोट नै नउठाउने र माथिल्लो निकायमा खबरै नगर्ने कार्य गरेको आरोप छ ।
उनले चोरीको मोबाईल खरिद गरेको आरोपमा एक ब्यवसायीलाई नियन्त्रणमा लिएको र पछि माटो रकम लिएर छाडेको समेत आरोप छ । यो घटनामा मुद्दा शाखाका बरिष्ठ सई उत्तम कार्कीको समेत मिलेमत्तो रहेको बताईन्छ । उनले हवल्दार रोमन कटुवालसंग मिलेर केहि लाभ हुने काम गरेको बताईन्छ ।एसपी खड्काले हवल्दार कटुवाललाई समेत स्पष्टिकरण सोधेको स्रोतको भनाई छ ।
त्यस्तै उनले आफ्नो ईन्चार्ज लाई जानकारी नदिई होटलहरूमा छापा मार्नेलगायतका गतिविधि सञ्चालन गरेको गुनासोसमेत स्रोतबाट प्राप्त भएको छ। यस्ता कार्यहरू कानुनसम्मत प्रक्रियाअनुसार भए–नभएको विषयमा छानबिन आवश्यक देखिन्छ।
डिएसपी पाठक सोझो भएकै कारण उनले त्यस्को लाभ लिईरहेको र उनलाई अटेर गरेको बताईन्छ ।
उनले बिर्तामोडकै एक होटलमा आफुखुसी जुवा तास लगायतका खेलहरू खेलाईएको सुचनाका आधारमा डिएसपीलाई बिना जानकारी छापा हानेको बताईएको छ । त्यहाँ समेत लेनदेनमा मान्छे भगाएको आरोप छ । प्रहरी निरिक्षक लुँईटेलले झण्डै दुई महिना अघि पत्रकार नारायण अर्यालको दाजु दुर्घटनामा परि निधन भएको घटनामा समेत लफडा झिकेर बिबाद गरेका थिए । उनी बिबादस्पद रहँदै आएका छन् ।
प्रहरी संगठनको अनुशासन र जवाफदेहितामाथि प्रश्न !
प्रहरी संगठनमा कार्यविभाजन, आदेशको पालना, हिरासत व्यवस्थापन तथा अनुसन्धानसम्बन्धी प्रक्रिया कानुन र निर्धारित कार्यविधिअनुसार सञ्चालन हुनुपर्छ। कुनै प्रहरी अधिकारीले पदको दुरुपयोग गरी आर्थिक लाभ लिन पाइदैन । तर, उनी लामो समयदेखि विवादमा जोडिएको पाइएको छ ।








