११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

मधेस पुगेर प्रधानमन्त्री ओलीको घोषणा – मधेसमा तत्काल पाँच सय डिप बोरिङ जडान हुन्छ


१० श्रावण २०८२, शुक्रबार  


प्रधानमन्त्री केपी ओलीले मधेशमा तत्काल ५ सय डिप बोरिङ जडान गरिने घोषणा गरेका छन्।

शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफलमा सिंचाई गर्न सकिने उनले बताएका छन् ।

उनले पानीको चरम अभावका कारण मधेस सुख्खाग्रस्त भएको बताउँदै सरकारले संकटग्रस्त क्षेत्र घोषणासमेत गरिसकेको बताए ।
सरकार संकटग्रस्त क्षेत्र घोषणा मात्रै गरेर नबस्ने भन्दै दीर्घकालीन र तत्कालीन उपायहरू सुरु गरिसकेको पनि दाबी गरे।

चुरे क्षेत्रमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने कार्यमा सरकार लागेको पनि प्रधानमन्त्री ओलीले बताए ।

‘चुरेमा पानीका तालतलैया बनाउने, पानी जम्मा गर्ने, जसबाट जमिनको सतहको पानी तल जान नदिने गरी अनुकूल वातावरणतर्फ फर्काउने काम गर्दछौँ । तत्कालका लागि अरु विभिन्न काम अघि बढाउनेछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारको तर्फबाट यस काममा मद्दत गर्न सरकारका सबै निकायहरूलाई आग्रह गर्दछु । गैरसरकारी संघसंस्था सबैलाई साथ सहयोग गर्न आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीले ८ वटै जिल्लालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता पनि कार्यक्रममा व्यक्त गरे।

प्रकाशित मिति : १० श्रावण २०८२, शुक्रबार  ७ : ०१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित