३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

लुटतन्त्र ढलेपछि एमाले, कांग्रेस र माओवादीभित्र थामिनसक्नुको छटपटी !


२ आश्विन २०८२, बिहिबार  


संविधानमा अहिलेसम्म भएको व्यवस्था अनुसार सरकारको जन्म संसदबाटै हुन्छ । जब त्यही संसद भ्रष्ट,नालायकी, अल्छि, सुतुवा र भतुवाहरुको क्लब हुन्छ । तब त्यहीबाट बन्ने सरकार पनि त्यही ढंगको हुन्छ र भयो पनि ।

यीनै नालायक सांसदलाई दास बनाएर ओली–देउवाको सत्ता घोडा दौडिरहेको थियो । संविधान, कानुन र नैतिकताको बलात्कार गरेर ओली देउवाको घोडा जब मैमत्त हुन थाल्यो। तब नयाँ पुस्ता अर्थात जेनजीले शहरी विद्रोह गरे । जेनजीको २४ घण्टाको विद्रोहले सत्ताको घोडाबाट देउवा– ओली लघारिए । पुरानाहरुको यही हर्कतका कारण नयाँ निर्वाचनमा जानु परको हो भन्छिन्, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की ।

हो, जेनजी विद्रोहले परम्परागत लुटतन्त्रको अन्त्य गर्दै नयाँ राजनीतिक बहस र घटनाक्रमको विकास गरिदियो । लोकतन्त्रकै आवरणमा मौलाएको भ्रष्टाचार र मानव अधिकारको उलंघनको विषयमा अन्तर्राष्ट्रिय समुदाय चिन्तित थियो। यसको छनक पहिल्यै पर्दामा देखिन थालेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणदेखि भिजिट भिसा प्रकरणसम्ममा भएका कुकृत्र्यको विषयमा अमेरिका यस अघि बोलिसकेको थियो । तर, जेनजीको विद्रोहपछि ओली सेनाको व्यारेकमा शरण लिन पुगे। देउवा अस्पतालमै दबाइ खाँदैछन् । प्रचण्ड डर र त्रासमा लुकिलुकी नेता कार्यकर्ता भेटिराखेका छन् । देश जलेको देखेको छैनन्, तर, आफ्नो पार्टीको भव्य महल बनाउछौ, भन्छन् ।

आफ्नै कुकर्मले सत्ताबाट मिल्काइएका उनीहरु यतिबेला विदेशी हस्तक्षेप बढेको देख्न थालेका छन् । सत्तामा बस्दा विदेशी हस्तक्षेप नदेख्ने सत्ताका रतन्धोहरुले यतिबेला राष्ट्रियताको व्यापार गर्न थालेका छन् । राजनीतिक संकटमा परेको मुलुकलाई निर्वाचनद्वारा लयमा फर्काउने गरी संसद विघटन भएको हो । विशेष परिस्थितिमा ऐतिहासिक जिम्मेवारी पाएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको सरकारलाई विशेष गरी एमाले र माओवादीले पश्चिमा स्वार्थको सरकार भएको तथ्यहिन आरोप लगाइरहेका छन् ।


सामान्यतया राजनीतिक विज्ञान र आवस्यकताको सिद्धान्त उनीहरुले बुझेका हुन्थे भने, राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यावाद दिन्थे । प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई निर्वाचनदेखि भ्रष्टहरुमाथि छानविन गर्न नैतिक समर्थन दिन्थे होला ।तर, केही दिन अघिसम्म असंवैधानिक कदम भन्दै आएका माओवादीका नेताहरुले यतिबेला बोली भने फेरेका छन्। माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्यसंगै चुनावमा जानुपर्ने भन्न भ्याएका छन् ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भैपरीले निम्त्याएको सरकार हो यो । यस सरकार विघटित संसदको फोहोरलाई मिल्काउँदै नयाँ जनादेश ल्याउने गरी बनेको हो । संकटको बेलामा बनेको सरकारप्रति अन्तर्राष्ट्रिय मित्रहरुको चासो बढ्नु अस्वभाविक होइन । पश्चिमा स्वार्थमा बनेको हो भन्ने तर्क आफैमा खारेजयोग्य छ । निर्वाचन मात्रै होइन । यस सरकारले भ्रष्टाचारको छानबिन गर्नुुपर्ने जेनजीको मुख्य माग हो । २०४६ सालपछिको राजनीतिक नेतृत्वमा आएकाहरुको छानबिन हुनुपर्ने दोहो¥याँउछन्, कांग्रेस महामन्त्री गगन थापा ।

जेनजी आन्दोलनको आवरणमा भएको तोडफोडमाथि गगन थापाले प्रश्न गरेका छन् । कसले ग¥यो ? किन गरियो भनेर प्रश्न उठाएका छन् । उता एमाले र माओवादी नेताहरूले जेनजी आन्दोलनको पृष्ठभूमिमा बाह्य शक्तिको प्रभाव रहेको दाबी गर्दै आएका छन् । सुशीला कार्कीको सरकारप्रति समर्थन र सहानुभुतिले उनीहरुको तर्कलाई केही बल दिएको हुन सक्छ । यद्यपि छिमेकी र मित्र राष्ट्रहरुले चासो देखाउनु राष्ट्रियता खतरामा पर्नु होइन । भारतीय प्रधानमन्त्री मोदीले बिहीबार पनि नेपालसंगको न्यानो संवाद हुने बताएका छन् । संकटको घडीमा भारत नेपालको साथमा रहेको दोहो¥याएका छन् । उता , एमाले नेता महेश बस्नेतले भने आन्दोलनका नाममा आएको जेनजीलाई आतंकारीको आरोप लगाएका छन् । पार्टी अध्यक्ष केपी ओली राष्ट्रवादी र राष्ट्रि बा भएको दाबी गरेका छन् ।

संसद र सत्ता गुमाएको पीडाले कांग्रेस, एमाले र माओवादी नेताहरूमा ठूलो छटपटी छ। जसलाई आफ्नो स्वार्थको लागि बाह्य शक्तिसंग जोडेर टिप्पणी भएको कुटनीतिक जानकारहरु बताउँछन् । जसले जे तर्क र विर्तक गरेपनि संकटकोे सेत हुन्, प्रधानमन्त्री सुशीला कार्की । कानुनी पृष्ठभूमिबाट आएकी सुशीला कार्कीलाई निष्पक्ष, साहसी र भ्रष्टाचारविरोधी नेतृका रूपमा धेरैले सम्झिन्छन् । उनी गैरपार्टी व्यक्तित्व भएकाले पनि राजनीतिक स्वार्थभन्दा माथि उठेर चुनाव र जेनजीको मागलाई पूरा गर्न ल्याकत राख्छिन् भन्नेमा आम नेपाली विश्वस्त छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ३ : ०२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित