९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण र टोपबहादुरसहित १६ जना झ्यालखानामा !


३१ असार २०८३, बुधबार  


आफ्नै नागरिकलाई अमेरिकामा बेच्नेहरुविरुद्ध न्यायालयले गएको मंगलबार ऐतिहासिक र साहसिक फैसला गरेको छ । सरकारी अड्डामै बसी बसी मानव तस्करसंग नाभी जोडेर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका बेचिन पठाउने १६ जना विरुद्ध न्यायालले यस्तो फैसला गरेको हो ।

जिल्ला अदालत काठमाडौले १६ जना दोषीलाई न्यूनतम एक वर्षदेखि अधिकतम चार वर्षसम्म सजाय निर्धारण गरेको छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित नौ अभियुक्तलाई जनही चार वर्ष कैद र ४० हजार जरिवाना तोकेको छ भने अर्का पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित दुईजनालाई जनही दुई वर्ष कैद र २० हजार जरिवाना ठह¥याएको हो । बाँकी पाँच अभियुक्तका हकमा जनही एक वर्ष कैद र १० हजार जरिवाना निर्धारण भएको छ ।

चार वर्ष कैद र ४० हजार जरिवाना तोकिएका अन्य अभियुक्तमा पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्दकुमार चौधरी र आङटावा शेर्पा छन् । भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई भने पूर्वमन्त्री खाण बराबर दुई वर्ष कैद र २० हजार जरिवाना निर्धारण भएको छ । त्यस्तै, एक वर्ष कैद र १० हजार जरिवाना तोकिएकामा नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झा छन् ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले असार २३ गते मंगलबारका दिन कसुर ठहरको फैसला गरेको हो । त्यही कसुर ठहरको सजाय ठीक हप्तापछि गएको मंगलबार सुनाएको हो । विभिन्न कसुरमा बेग्लाबेग्लै सजाय र जरिवाना तोकिएकोमा सबैभन्दा बढी सजायमा दोस्रो धेरै सजायको आधा जोडेर एकीकृत सजाय निर्धारण भएको छ ।


सरकारले प्रतिवादीहरूलाई ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र सरकारी लिखत किर्तेसम्बन्धी कसुरमा अभियोजन गरेको थियो । एकीकृतर्फको दफा ४३ (२) को अभियोग मागदाबी पनि सरकारी पक्षको थियो । एकीकृत कसुरबापत थप सजाय हुने व्यवस्था अपराध संहिताले गरेको छ । कुनै व्यक्तिले एउटै वारदातमा एकभन्दा बढी कसुर गरेमा त्यस्तो व्यक्तिले एकीकृत कसुर गरेको मानिने प्रावधान संहितामा छ । यस्तोमा एकीकृत कसुर गर्नेलाई सजाय गर्दा सबैभन्दा बढी सजाय हुने कसुरबापतको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसुरबापतको सजायको आधा सजाय थप गरी सजाय गर्नुपर्ने ४३ (२) मा छ ।

फैसलाअनुसार पूर्वमन्त्री रायमाझीलाई ठगीमा दुई वर्ष कैद र २० हजार जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिवाना, राज्यविरुद्धको कसुरमा दुई वर्ष कैद र १५ हजार जरिवाना तोकिएको छ । जसको एकीकृत सजाय चार वर्ष कैद र ४० हजार जरिवाना आएको हो । त्यस्तै, गठीमा पूर्वमन्त्री बालकृष्ण खाणलाई ठगीमा एक वर्ष कैद र १० हजार जरिवाना, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिवाना साथै राज्यविरुद्धको कसुरमा नौ महिना कैद र पाँच हजार जरिवानाको सजाय सुनाइएको छ । जसको एकीकृत सजाय दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुन्छ ।

रायमाझी र खाणको हकमा अपराध संहिताको दफा २४९ बमोजिम ठगीको कसुर कायम भएको थियो । यसको ३ (ग)मा सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्था वा आफ्नो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेको अवस्थाबाहेकको ठगी गरेमा अधिकतम सात वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।

यसैगरी, दुवै पूर्वमन्त्रीहरू राज्यविरुद्धको कसुरअनुसार दफा ५१ (४) र ५१ (७) बमोजिम पनि दोषी पाइएका थिए । राज्यविरुद्धको कसुर गर्नेलाई अधिकतम पाँच वर्षसम्म कैद हुने व्यवस्था छ । यसको उपदफा (७) ले सार्वजनिक पद धारण गरेको व्यक्ति वा नेपाललाई प्रतिनिधित्व गर्ने व्यक्तिले विदेशमा गएका बखत कसुर गरेमा थप तीन वर्षसम्म कैद हुन सक्ने उल्लेख छ । त्यसैले रायमाझी र खाण दुवैलाई अदालतले थप सजायसमेत गरेको छ ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई ठगीमा दुई वर्ष कैद तथा २० हजार जरिवाना, संगठित अपराधतर्फ तीन वर्ष कैद ३० हजार जरिवाना, राज्यविरुद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा थप ६ महिना कैदको सजाय सुनाइएको छ । त्यस्तै, शरणार्थी नेता टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारी सरकारी लिखत किर्तेमा दोषी पाइएका थिए । रिजाललाई लिखत किर्तेमा एक वर्ष कैद र १० हजार जरिवाना तथा दुलाल र भण्डारीलाई जनही दुई–दुई वर्ष कैद र २० हजार जरिवानाको सजाय सुनाइएको छ । फैसलाअनुसार रिजाललाई ठगीतर्फ पनि उति नै सजाय भएको छ भने राज्यविरुद्धको कसुरमा ६ महिना कैद तथा पाँच हजार जरिवाना हुने भएको छ । दुलाल र भण्डारीको हकमा ठगीतर्फ दुई वर्ष कैद र २० हजार जरिवाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५–१५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ ।


एकीकृतर्फ गरी रिजालले दुई वर्ष कैद र २० हजार जरिवाना तथा दुलाल र भण्डारीले जनही चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । उनीहरूले प्रतिवेदन तथा परिचयपत्र किर्ते गरेको फैसलामा थियो भने ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा पनि उनीहरू दोषी ठहर भएका छन् ।


त्यस्तै, सागर राई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका थिए । एकीकृततर्फ उनले चार वर्ष कैद र ४० हजार जरिवाना तिर्नुपर्नेछ । प्रतिवादी सन्देश शर्मा, विक्रम भनिने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई पनि एकीकृत रूपमा यति नै कैद तथा जरिवाना तोक्ने फैसला भएको छ ।


अन्य प्रतिवादीहरू नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई एकीकृततर्फ उस्तै सजाय सुनाइएको हो । फैसलाअनुसार उनीहरूलाई जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने भएको छ । प्रतिवादी बेचन झालाई इजलासले एक वर्ष कैद तथा १० हजार रुपैयाँ जरिवाना तोकेको छ । उनी ठगी उद्योगमा दोषी ठहर भएका हुन् ।००००

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ५ : ०२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित