कानुनतः नेपालमा अहिले दैनिकरूपमा २० किलाे काँचो सुन आपूर्ति भइरहेको छ, जुन वैद्य सुन हाे। दैनिक २० किलो सुन आयात भए पनि बजारमा भने दैनिक ४० किलाे सुन खपत हुने गरेको पाईएकाे छ।
सुन व्यवसायीहरुका अनुसार बिहे ब्रतवन्धबाहेक हाल उपलब्ध भइरहेको दैनिक न्युनतम २० किलोका दरले मासिकरुपमा (एक महिनालाई औषत २८ दिनमात्रै मान्दा) ५ सय ६० किलो सुन चाहिन्छ।
तर आधिकारिक च्यानलबाट मागको करिब २२ प्रतिशतको हाराहारीमा मात्रै सुन आपूर्ति हुँदै आएको छ । मागअनुसार सुन आपूर्ति नहुँदा पनि बजारमा सुनको अभाव सिर्जना भएको छैन ।
व्यवसायीहरुकै तथ्यांकलाई आधार बनाएर हिसाब गर्ने हो भने पनि चालू आर्थिक वर्षको चार महिना साउनदेखि कात्तिकसम्ममा २ हजार २ सय ४० किलो सुन आयात भएर देशभरको बजारमा खपत हुनुपर्ने हो ।
तर चार महिनाको अवधी (११२ दिन) मा वैद्यरुपमा नेपालमा १ सय ३३ किलो काँचो सुनमात्रै आयात भएको पाइएको छ । यो १ सय ३३ किलोलाई ४ महिनाको दैनिक रुपमा भाग लगाउँदा प्रतिदिन १ किलो १८ ग्राममात्रै मागको तुलनामा वैद्य बाटोबाट आपूर्ति भएको पाइएको हो ।
बजारको मागअनुसार आयात नहुँदा अपुग देखिएको दैनिक १८ किलो ८१ ग्राम काँचो सुन कुन च्यानलबाट भित्रिएर खपत भयो त्यो आफैमा शंकास्पद देखिन्छ ।
अर्थात मागअनुसार आपूर्ति नहुँदा १८ किलो ८१ ग्राम काँचो सुन दैनिकरुपमा अभाव भएको हो । तैपनि उपभोक्ताले बजारबाट चाहेकै परिमाणमा सहजरुपमा सुन किन्न पाइराखेका छन् ।
एक सुनचाँदी व्यवसायीका अनुसार भारतभन्दा नेपालमा मूल्य अन्तरका कारण मागअनुसार वैद्य बाटोबाट आपूर्ति नहुँदा तस्करी भएर आएको सुनले बजारको माग धानीरहेको छ ।
बैंकले वितरणका लागि ल्याउने वैद्य सुन पनि बिक्री हुन नसकेर थन्किएको अवस्थामा कुन च्यानलबाट आएको सुनले बजारको माग धानेको छ ? सहजै अनुमान गर्न सकिन्छ ।
सुनचाँदी व्यवसायीका अनुसार नेपाल-भारत सीमावर्ती बजारमा सुनको मूल्यमा ठूलो अन्तर हुँदा सुनको तस्करी बढेको हो । जसकारण औपचारिक च्यानलबाट सुनको आयात परिमाण घटेको हो र बजारको माग अवैद्य रुपमा भित्रिएको सुनले धानेको हो।
केही महिना अघिसम्म मलेसिया, हङकङ, चीन र दुवईलगायतका मुलुकबाट हवाई र स्थलमार्ग हुँदै सुनको अवैद्य तस्करी भइरहेको थियो । पछिल्लो समयमा यसमा भारत पनि जोडिएको ती व्यवसायीको भनाइ छ ।
नेपालमा हुने सुनको तस्करी भने यो पहिलो पटक होइन, जुनवेला बाइसे चौबीसे राज्य थियो । त्यो वेला पनि भोटबाट भारततर्फ सुनको तस्करी हुन्थ्यो । राणाकालिक समयमा पनि यो तस्करी निक्कै मौलायो । हुँदाहुँदै पछिल्लो समयमा राजनीतिक दलका ठूलठूला नेताको प्रत्यक्ष संलग्नतामा पनि अवैद्य सुनको बजार फैलिन थालेको छ ।
व्यवसायीका अनुसार नेपालको तुलनामा भारतबाट सुनको तयारी गहना ल्याउँदा प्रतितोला १६ हजार र ढिक्के (गोल्डवार) सुन ल्याउँदा २१ हजार सस्तो मूल्य पर्छ ।
ती व्यवसायीले भने,‘नेपालभन्दा भारतमा काँचो सुन निक्कै सस्तो भएकाले उताबाट अवैद्यरुपमा आएको सुनले अहिले नेपालको बजार धानेको छ ।’
उनका अनुसार नेपालभन्दा भारतमा सुन सस्तो भएकाले नेपालका बैंंकहरुले पनि महँगो मूल्य तिरेर वैद्यरुपमा मागअनुसार सुन भित्र्याउन चासो देखाएका छैनन् ।
‘वैद्यरुपमा सुन ल्याउँदा बजारमा बिक्री नहुने डरले बैंकहरुले पनि मागअनुसार पछिल्लो समयमा सुन आयात गर्न मानेका छैनन्,’ अर्का एक सुनचाँदी व्यवसायीले भने,‘मागअनुसार नै आपूर्ति हुने हो भने ४ महिनाको अवधिमा वैद्य बाटोमार्फत् कम्तिमा २ हजार २ सय ४० किलो सुन आउनुपर्ने थियो । तर १ सय ३३ किलोमात्रै आयात भएको छ ।’
मागअनुसार वैद्यबाटोमार्फत् सुन आयात नहुँदा अपुग भएको सुन तस्करी च्यानलबाट भारतबाट सस्तोमा ल्याएर व्यवसायीले वैद्य सुनकै मूल्य हाराहारीमा बजारमा बिक्री वितरण गर्दैआएको ती व्यवसायीले जानकारी दिए ।
‘भारतबाट अवैद्य सुन सस्तोमा ल्याएर व्यवसायीहरुले निक्कै बढी मार्जिन राखेर नेपालमा बिक्री गर्दैआएका छन्,’ ती व्यवसायीले भने ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियसरत्न शाक्यकाअनुसार पछिल्लो समयमा सुनको माग घटेपनि अहिले पनि बजारमा ४० किलोकै हाराहारीमा खपत भइरहेको छ ।
तर सरकारले दैनिक २० किलोको दरले मात्रै उपलब्ध गराउँदै आएको छ । पहिले दैनिक माग ५० देखि ६० किलोको हाराहारीमा थियो ।
‘अहिले माग घटेर दैनिक ४० किलोको हाराहारीमा पुगेको छ, तर यो मागअनुसार पनि औपचारिकरुपमा सुन आयात भएको छैन, सरकारले अहिले २० किलोको दरले मात्रै उपलब्ध गराएको छ।
मागअनुसार बजारमा वैद्यरुपमा सुन आयात नभए पनि बजारमा छ्यालबयाल रुपमा कसरी कारोबार भइरहेको छ भन्ने विषय आफैमा शंकास्पद छ।
सीमा क्षेत्र खुला छ, नेपालभन्दा भारतमा सुन निक्कै सस्तो छ, नेपाली सीमा क्षेत्रका बजारमा पछिल्लो समयमा दर्जनौंको संख्यामा ज्वेलरी पसल कसरी खुलेका छन् र कुन स्रोतबाट सुन ल्याएर बिक्री गरेका छन् ? त्यो आ फैमा अनुरत्तित छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष माणिकरत्न शाक्यले अहिले दैनिक २० किलो काँचो सुनको कोटा भएपनि बैंकहरुले नियमितरुपमा आयात नगरेको बताउँछन् ।उनी भन्छन्,
‘बैंकहरुले नियमितरुपमा काँचो सुन आयात गरेको पाइँदैन, कहिले आयात गर्छ । कहिले तीन महिनासम्म आयात गर्दैन, तर पनि नेपालको सुनको बजार मज्जैले चलेको देखिन्छ।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनाको अवधिमा १ अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँबराबरको १ सय ३३ किलो काँचो सुन नेपालमा भित्रिएको छ ।
यसमध्ये सबैभन्दा बढी टर्कीबाट १ अर्ब ४ करोड १६ लाख ६१ हजार रुपैयाँबराबरको १ सय किलो काँचो सुन आयात भएको छ भने दोश्रोमा युएईबाट ३८ करोड १७ लाख ९४ हजार रुपैयाँबराबरको ३२ किलो आयात भएको थियो ।
तेश्रोमा १५ लाख ८१ हजार रुपैयाँबराबरको १३४ ग्राम कतारबाट आएको थियो । यसपछि केहि ग्राम हङ्गकङ्ग, कुवेत, मलेसिया, माल्टालगायतका मुलुकबाट भित्रिएको छ ।
गएको आर्थिक बर्ष २०८०/८१ को चार महिनाको अवधिमा भने ८ अर्ब २० करोड ८१ लाख ७० हजार रुपैयाँबराबरको १ हजार १ किलो काँचो सुन नेपालमा भित्रिएको थियो ।
गएकाे वर्षको चार महिनामा भित्रिएको सुनको तथ्यांकलाई विश्लेषण गर्ने हो भने त्यो बेला पनि दैनिक ८ किलो ९३ ग्राम भाग परेको देखिन्छ ।
आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा सबैभन्दा बढी काँचो सुन आयात भएको देखिन्छ। त्यो अवधिमा १४ अर्ब ९५ करोड ५० लाख ४२ हजार रुपैयाँबराबरको २ हजार १ सय ७८ किलो काँचो सुन आयात भएको थियो ।
अझ राेचक कुरा के छ भने, अहिलेकाे भन्दा काेराेनाकालीन समयमा काँचो सुन धेरै भित्रीएकाे थियोे ।
सुनचाँदीका एक व्यवसायीका अनुसार कोभिडको समयमा सर्वसाधारणलाई खान र ज्यान जोगाउन कठिन भएको अवस्थामा पनि अहिलेको चार महिनाको तुलनामा बढी परिमाणमा काँचो सुन आयात भएको थियो ।
आर्थिक बर्ष २०७६/७७ को ४ महिनामा २ अर्ब ७२ करोड ५० लाख ९२ हजार रुपैयाँबराबरको ५ सय किलो र आर्थिक वर्ष २०७७/७८ को ४ महिनामा ३ अर्ब ६६ करोड १२ लाख ६१ हजार रुपैयाँबराबरको ५ सय किलो काँचो सुन आयात भएको थियो।
वार्षिकरुपमा हेर्ने हो भने पछिल्लो ५ आर्थिक वर्षमध्ये पनि कोराेना महामारीको अत्याधिक प्रभाव रहेको आर्थिक वर्ष २०७७/७८ मा निक्कै बढी परिमाणमा सुन आयात भएको देखिन्छ । त्यो वर्षमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९ सय २४ किलो सुन आयात भएको थियो । ५ वर्षमध्ये सबैभन्दा २०७८/७९ मा सबैभन्दा बढी परिमाणमा काँचो सुन आयात भएको थियो ।
काेराेना महामारी संक्रमण सकिएलगत्तै बजार विस्तारै आफ्नो गतिमा लिन थालेपछि त्यो वर्ष सबैभन्दा बढी सुन नेपालमा भित्रिएको थियो ।
त्यो आर्थिक वर्षमा ३५ अर्ब ६१ करोड ९५ लाख २४ हजार रुपैयाँबराबरको ५ हजार ५३ किलो काँचो सुन नेपालमा भित्रिएको थियो ।
भित्रिएको सुनमध्ये युएईबाट २८ अर्ब ९४ करोड ५७ लाख ६२ हजार रुपैयाँबराबरको ४ हजार ९१ किलो सुन भित्रिएको थियो । यस्तै ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँबराबरको टर्कीबाट ८ सय ६१ किलो र स्वीटजरल्याण्डबाट ७४ करोड ५० लाख १२ हजार रुपैयाँ बराबरको १ सय किलो आयात भएको थियो ।
पछिल्लो समयमा बजारमा दैनिक माग ४० किलोकै हाराहारीमा छ । तर सरकारले २० किलोबाट कोटा बढाएको छैन ।
पछिल्लो १० वर्ष यता सुनको माग बढे पनि २० किलोकै हाराहारीमा बैंकबाट सुन वितरण भइरहेको छ,‘बजारमा माग धेरै बढेपनि सरकारले २० किलाेबाट बढाएको छैन।बाँकी अपुग भएको करिब २० किलो सुन कुन स्रोतबाट कसरी बजारमा परिचालन भइरहेको छ, त्यो विषयमा अध्ययन गर्ने जिम्मेवारी सरकारको हो। तर सरकार चुपचाप छ।
संस्थापक अध्यक्ष शाक्यका अनुसार सरकारले २०६८ सालदेखि सुनमा कोटा प्रणाली लागू गरेको थियो । २०६८ सालअघि व्यवसायीहरुले चाहिएको परिमाणमै आफैं ढिक्के अर्थात् काँचो सुन आयात गर्दैआएका थिए ।
विदेश जानेहरु पनि झिटीगुन्टा नीतिअन्तर्गत ल्याएर आवश्यकताभन्दा बढी भएको हुन नेपालको बजारमा बिक्री गर्दैआएका थिए।
२०६८ सालदेखि सरकारले कोटा प्रणाली लागु गर्यो । जसअनुसार देशभित्रको मागअनुसार सरकारले बैंकमार्फत् आयात गर्ने र बजारको मागअनुसार व्यवसायीलाई उपलब्ध गराउने नीति कार्यान्वनयमा आयो ।
नेपाल राष्ट्र बैंकको यो नीतिअनुसार निजी क्षेत्रका बैंकहरुले तोकिएको कोटाअनुसार सुन आयात गरी बिक्री गर्न गर्दै आएका हुन्।
तत्कालीन समयमा प्रतिदिन १० किलोको कोटा थियो । यो सुनको कोटा निक्कै कम भएको व्यवसायीहरुको सुझाबको आधारमा त्यसको १ बर्षपछि १० किलोबाट बढाएर १५ किलो पुर्याइएको थियो । त्यसको २ वर्षपछि त्यसलाई बढाएर दैनिक २० किलो बितरण गर्ने नीति सरकारले कार्यान्वयनमा ल्याएको थियो ।
भारत सरकारले सुनचाँदीको आयातमा लाग्दै आएको भन्सार शुल्क घटाएका कारण पनि नेपालमा अवैद्य सुन भित्रिने कारोबार पछिल्लो समयमा निक्कै फस्टाएको थियो ।
पहिले नेपालमा सस्तो र भारतमा सुन महँगो हुँदा नेपालबाट भारततर्फ अवैद्य रुपमा सुनको तस्करी भइरहेको थियो । अवैद्य रुपमा हुने सुनको तस्करीलाई नियन्त्रण गर्न भारत सरकारले भन्सार नीति परिवर्तन गरेको थियो ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले वित्त वर्ष २०२४/२५ को बजेटमार्फत सुन चाँदी आयात गर्दा लाग्दै आएको भन्सार शुल्क १० प्रतिशतलाई घटाएर ६ प्रतिशत कायम गरेकी थिइन् । यसका साथै प्लेटेनियममा पनि भन्सार शुल्क घटाएर ६.४ प्रतिशतमा झारिएको थियो ।
भारतभन्दा नेपालमा भन्सार शुल्क महँगो भएका कारण नेपालमा सुन महँगो भएर अवैद्यरुपमा हुने तस्करीलाई प्रश्रय दिएको थियो ।
यसअघि सन् २०२२ मा भारत सरकारले सुन आयातमा लाग्दै आएको भन्सार कर ७.५ प्रतिशतलाई वृद्धि गरी १२.५ प्रतिशतसम्म पुर्याएको थियो । यसले गर्दा नेपाली बजारमा सस्तो र भारतीय बजारमा महँगो हुँदा नेपालबाट भारततर्फ सुनको अवैद्यरुपमा सुनको तस्करी बढेको थियो।
पछिल्लो समयमा भारतीय वित्तमन्त्री सीतारमणले सुनको भन्सार दर घटाएपछि तुलनात्मक रुपमा नेपालभन्दा भारतमा सुन सस्तो भएको छ । यसले गर्दा नेपाली खरिदकर्ता पनि पछिल्लो समयमा भारतको सीमा क्षेत्रको बजारबाट तयारी सुनका गहना र ढिक्के सुन किन्न थालेका थिए ।
स्वदेशको ज्वेलरी पसल सुनसान भइरहँदा भारतीय सुनचाँदी बजार भने गुलजारमय बनेको थियो ।
भन्सार नीतिका कारण भारततर्फ सुन सस्तो भएर नेपाली सुनको बजार ओरालो बाटोतर्फ उन्मुख भइरहेको विषयमा महासंघले पटक-पटक अर्थमन्त्री, प्रधानमन्त्रीलगायतको ध्यानाकर्षण गराउँदै आएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालको बजारमा वैद्यरुपमा चार प्रकारको सुन परिचालन भइरहेको छ । पहिलो उपभोक्तासँग आवश्यकताभन्दा बढी भएको सुनको मूल्य बढेको समयमा पसलमा बिक्री गर्छन् ।
दोश्रो बिहे व्रतवन्धको समयमा बजारबाट अत्याधिक मूल्यमा खरिद गर्न सक्ने अवस्था नहुँदा घरकै पुरानो सुन गलाएर नयाँ गहना निर्माण हुनु पनि हाे।
तेश्रो झिटीगुन्टा नीतिअन्तर्गत विदेशबाट पुरुषले २५ ग्राम र महिलाले ५० ग्रामसम्म निःशुल्क ल्याउन पाउनु र चौथो सरकारले तोकेको कोटाअन्तर्गत बैंकले आयात गरी बजारमा वितरण गर्ने हो ।
सरकारले सुनमा लाग्ने भन्सार शुल्क घटाएको छ । सुनचाँदी व्यवसायीहरुले संस्थागत रुपमा भारतमा सुनको मूल्य निक्कै सस्तो हुँदा त्यसले नेपालको सुन बजारलाई प्रत्यक्ष रुपमा असर पुर्याएको र भारतको तुलनामा नेपालको सुनको मूल्य निक्कै महँगो हुँदा अवैद्य सुनको कारोबार बढेको भन्दै पटक पटक ध्यानाकर्षण गराएपछि सरकारले भन्सार शुल्क घटाएको हो ।
मंसिर ६ गते बसेको मन्त्रिपरिषदको बैठकले सुनको आयातमा लाग्दै आएको भन्सार शुल्क घटाउने निर्णय गरेको थियो ।
जसअनुसार यसअघि सुन आयात गर्दा लाग्दै आएको २० प्रतिशत भन्सार महसुललाई झारेर १० प्रतिशत कायम गरिएको थियो । यस्तै चाँदीमा लाग्दै आएको भन्सार दर पनि घटाएर १५ बाट १० प्रतिशतमा झारिएकाे हाे।








