६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

प्रधानमन्त्री बालेन नयाँ कार्य शैली,बालुवाटारमा ‘नो विचौलिया’ !


२५ चैत्र २०८२, बुधबार  


एकताका यस्तो समय थियो । बालुवाटार र सिंहदरबारमा निकै भीडभाड हुन्थ्यो । नेता कार्यकर्ताहरुको बथानले यी क्षेत्र भरिभराउन हुन्थे । प्रधानमन्त्रीमा नियुक्त भएपछि फूलमाला खादा र अविरजात्राले रंगिन हुन्थे । बधाइ दिनेहरुको लामै लर्काे लाग्थ्यो । बालुवाटार धाउनेहरुको घुइँचो देखिन्थ्योे । प्रधानमन्त्रीका आश्वासन झुठा पुलिन्दाका भाषण खातका खात देखिन्थे,सुनिन्थे अनि छापिन्थे । नेताका भाषण र आश्वासनले जनताको कानै दुख्थ्यो, आँखै झिज्याउँथ्यो ।

तर, आज दृष्य बदलिएको छ, कार्यशैली फेरिएको छ । सिंहदरबार र बालुवाटारका दुष्यहरु भिन्नै देखिन थालेका छन्। यही १३ चैत यता नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री देख्न देउता भेटाए झै हुने गरेको छ । उतिखेरका ती झिलीमिली,नेता कार्यकर्ताहरुको बथान र बधाइ दिनेहरुको ओइरो देखिएन यस पाली। सिंहदरबार र बालुवाटार सुनशान छन् । जेनजी विद्रोह अघिका तामझाम यतिबेला हराएका छन् यहाँ । प्रधानमन्त्रीलाई भेट्न विदेशी दूतहरु सुटुक्कै बालुवाटार पुग्थे । पोर्टफोलियोलाई बेवास्ता गर्दै उनीहरु सरकार प्रमुखसंग सुटुक्क भेट्थे । हाम्रा पूर्व प्रधानमन्त्रीहरु विदेशी दूतले सुटुक्कै भेट्दा भुतुक्कै हुन्थे । मौका मिले आफ्ना नातापाताका लागि छात्रवृत्ति विदेशी दूतहरुसंग माग्थे । विदेशी दूतसंग छात्रवृत्ति मागेर छोरा छोरी विदेशका महंगा कलेजमा पढाउँथे । ती नेताका धैरै छन् ।


तर, यस पटक प्रधानमन्त्री कसैको बधाइ पनि थापेनन् । संसदमा उपस्थित भए । बैठक सकिएपछि आफ्नै गाडी कुरेर कार्यालय लाग्ने गर्दछन् । उनी प्रधानमन्त्री भएपछि अविर जात्रापनि भएन । नेता कार्यकर्ताका बथानलाई पनि पुगेनन् बालुवाटार । तत्कालीन प्रधानमन्त्री ओलीले संसदमा उपस्थित नभएर बालुवाटारमा टिकटकरलाई बोलाएर आफ्नै मर्यादा विर्सेर घण्टौ समय बर्बाद गर्दथे । उनका उपदेश र फर्मानका त गिन्ति गरी साध्य नहोला । बालुवाटार निजी घर झै बनाएका थिए ओलीले । उनी अघिका प्रधानमन्त्रीहरु देउवा, प्रचण्ड, माधव नेपाल, झलनाथ सबैले आफ्नै बाउको बपौती झै ठान्थे ।


तर, जेनजी विद्रोहपछिको जननिर्वाचित प्रधानमन्त्री बालेन साह बिहानै सिंहदरबार पुग्छन् । बालुवाटारमा जरुरी काम बाहेक कसैसंग भेट गर्दैनन्। जबकी यस अघि प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बेडमै विचौलियाहरु पुग्थे । प्रधानमन्त्रीको बेडमा विचौलिया पुगेको कुरा कांग्रेस सभापति गगन थाापाले यस अघिको संसदमा खुलासा गरेका थिए । तर, यस पटक सरकारप्रमुखसंग विचौलिया भेट्ने कुरा कल्पना जस्तै छ ।


कतिसम्म भने प्रधानमन्त्री बालेन ललितपुरमा आयोजित एक होटलमा गरेको कार्यक्रममा समेत सहभागी भएनन् । किनकी त्यस होटलका सन्चालक विवादास्पद छविका मानिस हुन् । बालेनको यही स्वभावकै कारण अहिलेसम्म उनीमाथि कुनै नैतिक प्रश्न उठेको छैन । राजनीतिक सवालमा उनी सार्वजनिक अभिव्यक्ति दिदै हिड्दैनन् । बरु, उनी प्रत्यक्ष निर्वाचित सांसदहरुलाई आफ्नो क्षेत्रको विकास पूर्वाधार लगायतका विषयमा धारणा राख्ने गरी निम्तो दिन्छन् । सबैको कुरा सुन्छन् । तर, पाँच मिनेटमै आफ्नो प्रतिवद्धता राख्दछन् । समय र सन्दर्भको गाम्भीर्यतामा उनी निकै सचेत देखिन्छन् । प्रधानमन्त्री भनेको कारिन्दा हो, भाषण गर्दै हिड्ने होइन ।


यही स्वभाव र विचारका पर्याय हुन्, प्रधानमन्त्री बालेन्द्र साह । प्रधानमन्त्री साहकै कारण उनका सहयोगी मन्त्रीहरु पनि मिडियाबाजी गर्दैनन् । सरकारको निर्णयलाई कार्यान्वयन गर्न गराउन दत्तचित्त देखिन्छन् । सम्भवतः पहिलो समावेश सरकार हो, बालेन नेतृत्वको सरकार । जसले राहदानी,चालक अनुमति पत्र,शिक्षण शुल्कको निर्धारणदेखि पेट्रोलियम पदार्थमा सहुलियत र तीब्र सेवामा भएको परिवर्तनले सरकार जनअपेक्षा अनुसार अघि बढी रहेकोमा कुनै सन्देह नहोला । ००००

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  २ : ४५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित