६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

क्या गज्जब ! ‘बालेन कूटनीति’ विदेशी दूतहरु एउटै थलोमा !


२५ चैत्र २०८२, बुधबार  


आलोचकहरु सधै भन्थे, कालो चश्मा, कालै पोशाक , थोरै बोल्ने अनि रहस्यमयी पात्र प्रधानमन्त्री बालेन्द्र साह । उनका आलोचकहरुले त उनलाई अंग्रेजी प्राचीन कथाको पात्रको संज्ञा नै दिन भ्याए । आफूलाई बौद्धिक ठान्ने ती आलोचकहरुले उनी विरुद्ध दिएका संज्ञाहरु भने फिक्का र झुठ सावित भए । निर्वाचन अघि मधेशको जनकपुरबाट पश्चिम धनगढीमा पुग्दा पनि उनले थोरै बोले। धेरै सुने। देशभरको चुनावी लहर बालेनकै नाम थियो र मत पनि रास्वपाले बालेन ब्राण्डबाट प्राप्त ग¥यो । अभूतपूर्व मतबाट उनी प्रधानमन्त्री छन् ।


यही चैतको १३ गते सत्ताको बागडोर सम्हालेका उनले शासकीय सुधारका सय सूची सहित काम थाले । नरसंहार र भ्रष्टहरुलाई थुन्दै जनतासंग प्रत्यक्ष जोडिएका सवालहरुलाई क्यालेन्डरसहित काम अघि बढाए । १६५ वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदहरुसंगको संवाद सकाए।


उनी बुधबार विदेशी दूतहरुसंग पनि सामूहिक भेटघाट गरे । अन्तर्राष्ट्रिय समूदायलाई विश्वस्त र आश्वस्त पार्न उनले सबै विदेशी दूतहरुलाई एकै ठाउँ राखेर नेपाल सन्देश दिए । सम्भवतः नेपालको इतिहासमा सबै विदेशी दूतहरुलाई एउटै थलोमा राखेर संवाद गरिएको यो पहिलो घटना हुन सक्छ ।यसरी एकथलौमा छिमेकी र मित्रराष्ट्रका दूतहरुलाई राखेर छलफल गरिएको कतै पाउन सकिएको छैन ।


उनको यो शैलीले नेपालको सबै मित्र राष्ट्र र छिमेकीहरुसंगको सम्बन्ध बरोबर छ भन्ने नयाँ सन्देश पनि दिएको हुनुपर्छ । भूगोल, आर्थिक तथा सैन्य सार्मथ्यले कुनै पनि देशको स्वतन्त्रता र सार्वभौमिकताको मानक निर्धारण गर्दैन भन्ने सन्देश दिदै उनले छलफल गरे । यति मात्रै होइन, अधिकांश सार्वजनिक कार्यक्रमा उनी कालो चश्मा कालोटोपी र कालो वस्त्रमै देखिन्थे । तर, बुधबार विदेशी दूतहरुसंगको छलफलमा उनले सधै लगाउने कालो चश्मा फुकालेर विदेशी दूतहरुसंग छलफल तथा विमर्श गरे । उनका आलोचकहरले उनले लगाउने चस्माको विषयमा प्रश्न उठाउँदै आएका थिए । तर,प्रधानमन्त्री बालेनले कूटनीतिक कार्यमा उनी आफैँ सजक देखिए । ‘आई टू आई’ दूतहरुसंग सम्वाद गरे । उनले देखाएको कूटनीतिक मर्यादा र सजगताले प्रधानमन्त्री बालेन सोचाइ र गराइएमा अग्ला छन् भन्ने बुझाउँछ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री साहले उनीहरूसँग सामूहिक भेट र संवाद गरेका हुन्। भेटमा भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तान, दक्षिण कोरिया, जापान, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया र संयुक्त राष्ट्र संघका राजदूत तथा नियोग प्रमुखहरूको उपस्थिति थियो।

राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री बालेनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । उनीहरूले नेपाली जनताको हितमा परिणाम दिने गरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता समेत व्यक्त गरे ।सरकारको चासो र आफूले गर्न सक्ने सहयोगको बारेमा पनि खुलेर छलफल भएको उपस्थित अधिकारीहरूले बताएका हुन् ।


प्रधानमन्त्री बालेनले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहो¥याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।उनले शान्ति साझा प्राथमिकता हुनुपर्ने भन्दै नेपाली श्रमिक तथा विदेशमा रहेका नेपाली समुदायको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेको पनि चर्चा गरे ।


प्रधानमन्त्री साहले सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकारको दृढ प्रतिबद्धता व्यक्त गरे । यस अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।०००

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ५ : ०२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित