उज्यालिदैछ, देश , च्यातिदैछन्, अध्याँरा पर्दाहरु । देखिदैछन्, परिवर्तनका छनकहरु । बढ्दैछ, उचाइ नेपालीको स्वाभिमान र गौरवका पलहरु । फ्याँकिदछन् ,चार दशक लामो निर्जन अध्याँरो रात अनि भ्रष्टचारका कीर्तिमानहरु । उखिलिदैछन् कुशासन र भ्रष्टाचारका बिखालु नंग्राहरु । देखिदैछन्, राजनीतिक इमान र जमानका व्यवहारहरु । पूरा हुने गन्तव्यतिर छन्, चुनावमा गरिएका संकल्प,बाचा अनि प्रतिज्ञाहरु ।
व्युँउझिदैछन्, राष्ट्रिय आत्मनिर्भरताका राष्ट्रिय उद्योगहरु । गुड्नेछन् तराइ,पहाड र हिमालमा गोरखाकाली रबर उद्योगका टायरहरु । पोशाक बन्ने छन् हेटौडा कपडा उद्योगमा । छापिने छन् कागजहरु भृकुटी कागज कारखानामा । उत्खनन् हुनेछन्, दैलेखका मिथेन ग्यास अनि पेट्रोल पनि । चिल्ला हुनेछन्, महेन्द्र राजमार्गदेखि उत्तरदक्षिणका करिडोरहरु पनि । पुग्नेछन् हुम्ला डोल्पामा औषधि र चिकित्सकहरु । हट्नेछन् विदेशी सेनाका बुट बजारिने त्रास र भयका काल्पनिक कथाहरु । अंगालो हाल्दै आउदैछन् छिमेकी अनि मित्रराष्ट्रहरु ।
फूल्नेछन्, पहाडमा सुनाखरी,गोदावरी, मखमली र लालुपाते फूलहरु रंगिनसंगै सुगन्ध छरेर । चुम्नेछन् लाखौ पर्यटकले हाम्रा हिमशिखरहरु । बस्नेछन्,विदेशी पाहुनाहरु हाम्रा गाउँ बस्तीमा । खर्च गर्नेछन्, हाम्रा घर आँगनमा युआन,रुबेलदेखि डलर । बस्नेछन्, बास हाम्रै घर आँगनमा अनि रमाउने छन्, लोक संस्कृतिमा । अनि भन्नेछन्, नेपाल धर्तीकी अप्सरा । पुराउनेछन्, खबर विश्वभर नेपाल घुम्नलाई ।
भिज्नेछ, तराइदेखि पहाडका उर्बर भूमि । रोकिनेछ, उर्वर भूमि मास्ने दोहनकारी नियम । चुरे बचाउन र तराइ सजाउन बन्ने छ, चुरे संरक्षण प्राधिकरण । तराइका सुन्दर फाँट र पहाडका खोँचहरुमा झुल्नेछन् धानका बाला । भरिने छ, नेपाली धनसार । हुने छैन, कसैको पेट खाली र नांगो शरीर । बन्नेछ, आफ्नै नेपाली स्पेश । पुग्नेछ, नेपाली पहुँच समुद्री किनारसम्म । गुड्नेछन्, विजुली गाडी देशका दुरदराजसम्म । बच्नेछ, हाम्रो भाषा, संस्कृति र पहिचान । पूरा हुनेछ, पूर्खाहरुले गरेको बलिदान । फर्किने छ, गुमेको अस्मिता र अस्तित्वको कुञ्ज । शिक्षा र स्वास्थ्यमा कोही हुनेछैनन्, बन्चित । पाउनेछन्, राज्यबाट प्राप्त हुने न्यूनतम सेवा र सुविधा । गौरव गरिनेछ नेपाली हुनुमा अनि गाथा गाइनेछ, वीर बलभद्र र अमरसिंहरुको वीरताको कथा। फर्किनेछन् खाडीमा रगत र पसिना बगाएका लाखौ युवा तन्नेरीहरु । हुनेछन्, स्वदेशमा रोजगारी र अवसरहर । हट्नेछ, देशको निरपेक्ष गरिबी । बन्नेछन्, नेपालीहरु विश्वमै वैभव र सम्पन्न । यद्यपि सजिलो त छैन, सरकारलाई । किनकी जंघार तर्नु
छ, चुनौति मोलेर । हुन त सजिलो बाटो रोज्नेहरूले बनाउँदैनन्, क्रान्तिकारी इतिहास । जसले इतिहासमा नाम लेखाउँछन्, उनीहरु भीडमा होइन, भिजनमा देश बनाउँछन् । गन्तव्यमा पुग्नेहरू ती हुन्, जसले मुटु छेड्ने काँडामाथि पनि टेक्ने हिम्मत गर्दछन् । खोलानाला तर्छन् र हरेक अवरोधलाई अवसरको रूपमा लिन्छन् ।
यही मोडमा छ, देश यतिबेला । विगतमा समृद्ध नेपाल, सुखी नेपाली कहानी सुन्यो हाम्रो नेपाली समाजले । खुबै घन्काइयो पनि नारा । तर त्यो नारा नारामै थन्कियो । बाटो विरायो नेतृत्वले । डुब्यो,कुशासन र भ्रष्टाचारमा । बदलिएन जनताको जीवन । केवल बदलियो त, केही मुठ्ठीभरको । सडकका खाल्डा उस्तै थिए । तिनै खाल्डामा पुरिए राजनीतिक प्रतिवद्धता । जनताले धेरै वर्ष आशा राखे । नेताहरूले आश्वासन दिए । तर, परिणाममा उही पुरानै खेल दोहोरियो , उस्तै खेलियो सत्ता सेटिङ र सत्ता स्वार्थका झेल पनि ।अहिले अवस्था बदलिन थालेको जस्तै देखिएको छ,। भ्रष्टाचार विरुद्ध कडाइ छ । सुशासनको कुरा, अनि प्रणाली सुधारमा भइरहेका छन्, केही सकारात्मक प्रयास।
तर, विडम्बना के छ भने, जसले यो देशलाई चार दशक जति चलाए । उनैलाई सुधारको प्रयास मन परकै छैन । लोकतन्त्रमा प्रश्न गर्न पाइन्छ, मज्जाले । विमति राख्न पनि पाइन्छ । तर, तथ्य र तर्कमा आधारित हुनपर्छ, विपक्षीको विरोध पनि । विरोधको नाममा विरोधको संस्कृतिको छैन, कुनै अर्थ । किनकी हत्केलाले सूर्यलाई सकिन्न छेक्न । देश बनाउने गन्तव्यमा लागेकाहरुले इमानकै राजनीति गरे, अब देश उजेलिन लाग्दैन छैन धेरै वर्ष । ०००००








