सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको रोपवे बिक्री गरिको छ।
उद्योग सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन भन्दै उद्योग प्रशासनले लामो समयदेखि बन्द रहेको रोपवे बिक्री गरेको हो।
हेटौंडा–९, लामसुरेमा रहेको उद्योगले विगतमा सिमेन्ट बनाउन आवश्यक चुनढुंगा ढुवानीका लागि प्रयोगमा ल्याएको रोप–बे बिक्री गरेको हो।
बाराको लिपनीमालस्थित श्री पीएस एन्ड सन्स इन्टरप्राइजेजलाई भ्याटसहित ४ करोड २५ लाख ६ हजार ८० रुपैयाँमा रोपवे बिक्री गरेको उद्योगका प्रशासन प्रमुख तथा सूचना अधिकारी हरेराम आचार्यले बताएका छन् ।
उनका अनुसार रोपवे बिक्री गर्ने विषयमा गएको पुस ७ गते बिक्रीका लागि सम्झौता भएको थियो।
तीन किस्तामा सम्पूर्ण भुक्तानी भइसक्नुपर्ने सहमतिअनुसार उद्योगले पहिलो किस्ताबापतको १ करोड ४२ लाख ६८ हजार ६ सय ९४ रुपैयाँसमेत प्राप्त गरेको उनको भनाइ छ।
रोपवे खरिदकर्ता कम्पनीले सम्झौताको ९ महिनाभित्र रोपवेको सम्पूर्ण संरचना उठाइसक्नुपर्ने सहमति भएको उनको भनाइ छ।
रोपवे बिक्रीबाट प्राप्त भएको रकम उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिदमा खर्च गर्ने सञ्चालक समितिले निर्णय गरेको पनि सूचना अधिकारी आचार्यले जानकारी दिए। उद्योगले भीमफेदी गाउँपालिकाको भैँसेखानीदेखि उद्योगसम्म ११ किलोमिटर रोपवेको सिस्टमसँग जोडिएका रोपवेका टावर, तार र बकेट लगायतका फलामजन्य सामान बिक्री गरिएको हो।
लामो समयदेखि बन्द रहेको रोपवे पुनः प्रयोगमा ल्याउन सक्ने अवस्था नभएपछि बिक्री गरिएको बताइएको छ।
२०६१ सालयता बन्द अवस्थामा रहेको रोपवेको टावर, तार र बकेट गरी करिब १५ सय टन फलाम रहेको अनुमान छ।