६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

कर्णाली प्रदेशका सचिव बुढाथोकीद्वारा दोहोरो सुविधाको रकम ३१ लाख ६९ हजार फिर्ता


२४ चैत्र २०८२, मंगलबार  


कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले दोहोरो सुविधा लिएको आरोप लागेपछि ३१ लाख ६९ हजार ९ सय २३ रुपैयाँ फिर्ता गरेका छन् ।

उक्त रकम फिर्ता गरेसँगै उनी तेस्रो पटक सचिव बन्ने दाउमा छन् । सचिव जीवराज बुढाथोकीमाथि दोहोरो सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परेपछि उनले पैसा फिर्ता गरेका हुन् । सचिवालयका अनुसार, यो रकम उनले २०८१ असारसम्म बुझेका थिए । बुढाथोकीको खाता २०८१ साउनदेखि रोक्का रहेको छ ।

प्रदेश सभाको सचिव पदमा रहँदा तलब, भत्ता तथा अन्य सुविधाहरू दोहोरो रूपमा बुझेको अख्तियारमा उजुरी परेको थियो । २०८२ जेठ १४ गते निवृत्तिभरण व्यवस्थापनको कार्यालयमा पेन्सन बेरुजु दाखिला बापत ३१ लाख ६९ हजार ९ सय २३ रुपैयाँ फिर्ता गरेका हुन् ।

स्रोत निवृत्तिभरण व्यवस्थापन कार्यालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयको बैंक खाता नं १०००१००२०००१०००० नम्बरमा सचिव बुढाथोकीले आफैंले रकम जम्मा गरेका छन् ।

बुढाथोकीको नियुक्ति प्रदेश सभाको सचिवका रूपमा २०७६ साल जेठ १२ मा भएको थियो । दोस्रो नियुक्ति २०८१ जेठ १३ मा भएको थियो । उनको कार्यकालमा, निजी सचिवमा आफ्नै श्रीमतीलाई राखेर तलब भुक्तानी गरेको खुलासा भएपछि आलोचना भएको थियो । उजुरीकर्ताले बुढाथोकीले दोहोरो सुविधा लिएको, सार्वजनिक कोषको दुरुपयोग गरेको, र नियमावली उल्लंघन गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  २ : ३७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित