७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा हवाई रुटदेखि ऊर्जा व्यापारसम्मका एजेन्डा !


४ मंसिर २०८३, बिहिबार  


प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणमा हवाई रुट, ऊर्जा व्यापार, आर्थिक सहयोग र पूर्वाधार विकासका विभिन्न विषयमा सम्झौता तथा समझदारी गर्ने तयारी भएको छ।


भारत भ्रमणमा हवाई रुट, ऊर्जा व्यापार, आर्थिक सहयोग र पूर्वाधार विकासका विभिन्न विषयमा सम्झौता तथा समझदारी गर्ने तयारी भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ र २३ ९मंसिर ६ र ७० मा हुन लागेको दुईदिने राजकीय भ्रमणमा नेपालले लामो समयदेखि उठाउँदै आएका हवाई प्रवेश मार्गदेखि करिब २ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्याकेजसम्मका विषय प्राथमिकतामा राखेको छ।
विशेषगरी महेन्द्रनगर, भैरहवा र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भारत सकारात्मक देखिएपछि यसपटकको भ्रमणमा त्यसबारे समझदारी हुने अपेक्षा गरिएको छ।

नेपालले अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन भारतीय आकाश हुँदै प्रवेश गर्ने थप रुट उपलब्ध गराउन लामो समयदेखि आग्रह गर्दै आएको छ। तर, सुरक्षा संवेदनशीलताको कारण देखाउँदै भारतले यसअघि थप हवाई रुट उपलब्ध गराउन आनाकानी गर्दै आएको थियो।

परराष्ट्र मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूका अनुसार पछिल्लो समय भारत महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा सकारात्मक देखिएको छ।

भैरहवा र जनकपुरबाट पनि फरक–फरक उचाइमा प्रवेश मार्ग उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ। यसलाई दुई देशबीचको छुट्टै प्याकेजका रूपमा टुंग्याउने प्रयास भइरहेको अधिकारीहरूको भनाइ छ।

नेपालले सुरुमा नोभेम्बर २२ देखि २४ सम्म तीनदिने भ्रमणको तयारी गरे पनि पछिल्लो कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह नोभेम्बर २२ मा नयाँदिल्ली पुग्ने र नोभेम्बर २३ मा स्वदेश फर्कने कार्यक्रम तय भएको छ। भ्रमणको कार्यतालिका र एजेन्डाबारे सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच छलफल भएको थियो।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच करिब ३० मिनेट एक्लाएक्लै वार्ता हुनेछ। त्यसपछि प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुने कार्यक्रम छ। वार्तामा आर्थिक सहयोग प्याकेज, हवाई सम्पर्क, विकास आयोजना र दुई देशबीचका अन्य द्विपक्षीय विषयमा छलफल हुने छ।

भारतले प्रधानमन्त्री शाहलाई आफ्नो विकासका विभिन्न क्षेत्र देखाउन बेङ्गलुरु वा अहमदाबाद भ्रमणको प्रस्ताव गरे पनि नेपाली पक्षले नयाँदिल्लीमै केन्द्रित हुने गरी कार्यक्रम तय गरेको छ। त्यसैले यो भ्रमण अन्य भारतीय सहरको भ्रमणभन्दा पनि कार्यमूलक राजकीय भ्रमणका रूपमा आयोजना हुँदैछ।

नेपालले भारतसँग अनुदान तथा सहुलियतपूर्ण ऋणमार्फत करिब २ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्याकेज माग गरेको छ। प्रधानमन्त्री शाहको भ्रमणका क्रममा भारतले नेपालका प्रस्तावलाई सम्बोधन गर्दै आर्थिक सहयोगसम्बन्धी प्याकेज घोषणा गर्ने तयारी गरेको अधिकारीहरूले बताएका छन्। यद्यपि सहयोगको आकार, स्वरूप र कार्यान्वयनका विषयमा अन्तिम सहमति हुन बाँकी छ।

भ्रमणका क्रममा भारतको सहयोगमा निर्माण हुने केही नयाँ आयोजनाको शिलान्यास तथा सम्पन्न भएका आयोजनाको उद्घाटन गर्ने कार्यक्रम पनि राखिएको छ। अयोध्या र जनकपुरलाई प्रत्यक्ष रेलमार्गबाट जोड्ने प्रस्ताव, काभ्रेपलाञ्चोकको पनौतीमा निर्माण हुने नेपाल प्रहरी प्रतिष्ठानको नयाँ भवन, दार्चुलामा पुल निर्माण र भैरहवामा एकीकृत जाँच चौकी सञ्चालनमा ल्याउने विषयलाई भ्रमणको उपलब्धिका रूपमा प्रस्तुत गर्ने तयारी छ।

अयोध्या–जनकपुर प्रत्यक्ष रेल सम्पर्कले दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटनसँग जोड्ने अपेक्षा गरिएको छ। यसले जनकपुर र अयोध्याबीच धार्मिक पर्यटकको आवागमन बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपालले भारतसँग तीनवटा नेपाली र भारतीय सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्न पनि प्रस्ताव गरेको छ। त्यसैगरी सीमापार तरल पेट्रोलियम ग्यास ९एलपीजी० पाइपलाइन निर्माण, विद्यमान पेट्रोलियम पाइपलाइन विस्तार तथा नयाँ पूर्वाधार विकासका विषय पनि छलफलको सूचीमा छन्।

नेपालमा भारतीय व्यवस्थापन संस्थान ९आईआईएम० र भारतीय प्रविधि संस्थान ९आईआईटी० जस्ता प्रतिष्ठित शैक्षिक संस्थाका शाखा स्थापना गर्ने प्रस्ताव पनि नेपालले अघि सारेको छ। खेलकुद, विशेषगरी क्रिकेटको विकासका लागि भारतसँग प्राविधिक तथा लजिस्टिक सहयोग, कृत्रिम बौद्धिकता ९एआई० क्षेत्रमा सहकार्य र धार्मिक पर्यटन सर्किट विकासका विषयसमेत छलफलमा छन्।

महेन्द्रनगर र भैरहवाबाट हवाई प्रवेश मार्गको अपेक्षा

प्रधानमन्त्री शाहको भारत भ्रमणमा हवाई प्रवेश मार्गको विषय सबैभन्दा महत्त्वपूर्ण उपलब्धि बन्न सक्ने देखिएको छ। नेपालले अन्तर्राष्ट्रिय उडानका लागि भारतीय आकाश हुँदै प्रवेश गर्न थप रुट उपलब्ध गराउन आग्रह गर्दै आएको छ। अहिलेका प्रवेश मार्गमा निर्भर रहनुपर्दा विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनमा समस्या रहेको नेपाली पक्षको बुझाइ छ।

भारत महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउन सकारात्मक देखिएको छ। यसबारे प्राविधिक विषय मिलाउन बाँकी छ। महेन्द्रनगरबाट आउने रुटमा विमानले भारतीय आकाशमा तुलनात्मक रूपमा बढी उचाइबाट प्रवेश गर्नुपर्ने हुन्छ। भैरहवाबाट आउने रुट भने कम उचाइमा प्रवेश गर्न सकिने भएकाले सामान्य उडान तथा अवतरणका लागि बढी उपयोगी हुने अपेक्षा गरिएको छ।

यसअघि शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जय नारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलसहितको नेपाली टोली हवाई रुटसम्बन्धी छलफलका लागि नयाँदिल्ली पुगेको थियो। उक्त छलफलमा महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषय उठाइएको थियो।

भारतले पनि नेपालको पूर्वी आकाश प्रयोग गरेर पश्चिम बंगालको बागडोगरा विमानस्थलमा उडान गर्ने विषय अघि सारेको छ। नेपाली अधिकारीहरूका अनुसार बागडोगराका लागि नेपालको सीमित हवाई क्षेत्र प्रयोग गर्ने प्रस्तावमा नेपाल सकारात्मक छ। तर, भारतले रक्सौलमा निर्माण गरिरहेको विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्ने विषयमा भने प्राविधिक विवरण माग गरिएको छ।

हवाई रुटको विषयलाई दुई देशबीचको पारस्परिक हितसँग जोडेर छलफल भइरहेको बताएका छन्। भारतले महेन्द्रनगर, जनकपुर र भैरहवाबाट फरक–फरक उचाइमा हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा सकारात्मक संकेत दिएको छ।

पर्यटनमन्त्री खडकराज पौडेल मंगलबार भारत भ्रमणमा गएका छन्। उनले भारतीय पक्षसँग हवाई रुटसम्बन्धी बाँकी प्राविधिक तथा नीतिगत विषयमा छलफल गर्नेछन्। दुवै देशका नागरिक उड्डयन अधिकारीबीच भर्चुअल छलफल गरेर प्राविधिक विषय टुंग्याउने तयारी पनि छ।

ऊर्जा व्यापार विस्तार र भारतीय लगानीका आयोजना

ऊर्जा व्यापार विस्तार पनि प्रधानमन्त्री शाहको भारत भ्रमणको अर्को महत्त्वपूर्ण एजेन्डा हो। नेपालले भारतमा वार्षिक १ हजार ६५० मेगावाटभन्दा बढी विद्युत् निर्यात गर्न पाउने व्यवस्था विस्तार गर्न चाहेको छ। नेपालको जलविद्युत् उत्पादन क्षमता बढ्दै जाँदा थप विद्युत् बिक्रीका लागि भारतीय बजार सुनिश्चित गर्नुपर्ने चुनौती छ।

नेपालले बंगलादेशमा पनि विद्युत् निर्यात विस्तार गर्न चाहेको छ। अहिले भारतको प्रसारण लाइन प्रयोग गरेर बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ। यसलाई बढाउन भारतको सहमति र प्रसारण पूर्वाधारमा सहकार्य आवश्यक पर्ने भएकाले यो विषय पनि भ्रमणका क्रममा उठ्नेछ।

भारत नेपालमा जलविद्युत् क्षेत्रमा आफ्नो लगानी र संलग्नता थप विस्तार गर्न चाहन्छ। विशेषगरी भारतको सरकारी स्वामित्वको एनएचपीसीसँग सम्बन्धित आयोजनासहित केही चालु परियोजनामा देखिएका अवरोध हटाउने विषय भारतको प्राथमिकतामा रहेको छ।

नेपालले भने भारतीय सहयोगमा निर्माण भइरहेका आयोजनाको समयमै सम्पन्नता सुनिश्चित गर्नुपर्ने विषय उठाउने तयारी गरेको छ। भारतले प्रतिबद्धता जनाएका आयोजनामा ढिलाइ हुने समस्या समाधान, सीमा क्षेत्रमा पूर्वाधार निर्माण र ऊर्जा व्यापारका लागि आवश्यक प्रसारण संरचना विस्तारमा सहकार्य गर्नुपर्ने नेपालको माग छ।

पञ्चेश्वरमा ठोस उपलब्धि कठिन

प्रधानमन्त्री शाहको भ्रमणमा विभिन्न आर्थिक तथा विकास आयोजनासम्बन्धी घोषणा हुने तयारी भए पनि दुई देशबीच लामो समयदेखि विवादित केही विषयमा भने ठोस प्रगति हुने सम्भावना कम छ।

महाकाली नदीमा निर्माण गर्ने प्रस्ताव गरिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना नेपाल र भारतबीचको सबैभन्दा महत्त्वाकांक्षी संयुक्त जलविद्युत् परियोजनामध्ये एक हो। तर, पानीको बाँडफाँट र आयोजनाबाट प्राप्त हुने लाभको वितरणमा दुई देशबीच सहमति हुन नसक्दा आयोजना लामो समयदेखि अघि बढ्न सकेको छैन।

नेपालले व्यापार घाटा न्यूनीकरण, नेपाली उत्पादनको भारतीय बजारमा पहुँच, पारवहन सुविधा र सीमापार व्यापार सहज बनाउने विषय पनि उठाउँदै आएको छ। यी विषयमा छलफल हुने भए पनि तत्कालै ठूलो नीतिगत परिवर्तन हुने सम्भावना भने कम छ।

प्रधानमन्त्री शाहले मंसिर ७ गते बिहान नेपाल र भारतका व्यवसायी तथा उद्योगीहरूको संयुक्त भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।

प्रकाशित मिति : ४ मंसिर २०८३, बिहिबार  ७ : ०९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित