३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

७८ लाख कमिसन डिल गर्ने मन्त्री गुप्ताले दिए राजिनामा, मन्त्री अधिकारी अझै चुपचाप


३१ असार २०८२, मंगलबार  



बिचौलियासँग घूसको संवादपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट रिाजीनामा दिएका छन् ।

मन्त्री गुप्ताले राजीनामा दिएको बालुवाटारले पुष्टि गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई बोलाएर २४ घण्टाभित्र स्पष्टीकरण दिन र चित्त नबुझेमा राजीनामा दिन निर्देशन दिएका थिए । त्यहीअनुसार गुप्ताले भर्खर प्रधानमन्त्री निवास बालुवाटारमा गएर राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री गुप्ताले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा गरेको छु ।’

केही दिनदेखि आफ्नो नाम घूस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ ।’

गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न माग उठिरहेको थियो । बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्ति गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन मन्त्री गुप्तासँग आग्रह गरेको अडियोमा सुनिन्छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : ०९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित