४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

अविरल वर्षातका कारण मृत्युु भएका २३८ मृतकका परिवारले पाए राहत रकम


६ कार्तिक २०८१, मंगलबार  


सरकारले गएको असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम दिएको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्‍मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको छ । उनीहरुलाई प्रतिमृतक २ लाख रुपैयाँका दरले रकम दिइएको हाे ।

विपदमा ज्यान गुमाएकामध्ये १२ जनाको परिवारले भने राहत पाएका छैनन् । पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारणले उनीहरुको परिवारलाई राहत रकम दिन नसकेको तिवारीले बताए ।

अहिलेसम्म मृतकका परिवारलाई राहतस्वरुप ५ करोड ४६ लाख रुपैयाँ वितरण गरिएको उनको भनाइ छ ।

काभ्रेमा ज्यान गुमाएका ७९ मध्ये ७८, ललितपुरका ४६ मध्ये ४५, धादिङका ३६, काठमाडौंका १९, पाँचथर, मकवानपुर, सिन्धुपाल्चोक र दोलखाका ७/७ मृतक परिवारले राहत पाएका छन् ।

त्यस्तै सोलुखुम्बुका ५, भक्तपुर र रौतहटका ४/४, सर्लाही र सिन्धुलीका ३/३, झापा, महोत्तरी र रुपन्देहीका २/२, इलाम, धनकुटा, उदयपुर, ओखलढुंङ्गा, रामेछाप, सप्तरी र सिरहाका १/१ जना मृतक परिवारलाई पनि राहत रकम दिइएको मन्त्रालयले बताएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ४ : १२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित