नेसनल प्याथ ल्याबले आनुवंशिक निदान प्रयोगशाला सञ्चालनमा ल्याएको छ। यो आनुवशिंक निदान प्रयोगशाला नेपालमा पहिलो पटक संचालनमा आएको हो । नेसनल प्याथ ल्याबले १२औं शाखा ललितपुर लगनखेलमा विस्तार गरी यस्तो सेवाको प्रारम्भ गरेको हो ।
अब यस निदान प्रयोगाशालाको सेवा संचालनमा आएसँगै गर्भमा रहेको भ्रुणमा आनुवशिंक रोग भए या नभएको स्वेदेशमै थाहा पाउन सकिने भएको छ। यसअघिका दिनमा यस्तो परीक्षणका लागि विदेशमा पठाउनुपर्ने बाध्यता थियो । आनुवशिंक निदान सेवामात्र होइन, ल्याबमा सबैखाले परीक्षण सम्भव हुने गरी अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधिक व्यवस्थापन गरिएको एक आधुनिक प्रयोगशाला हो ।
यस प्रयोगशालाको विषयमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानीले मुलुकभित्र सेवा र रोजगारीमा अभिवृद्धि गरेको बताएका छन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका स्वास्थ्य मन्त्री पौडेलले नेसनल प्याथ ल्याबबाट शुक्रबारदेखि सेवा प्रारम्भ गरेको अनुवंशिक निदान प्रयोगशालाले राज्यको स्वास्थ्य नीतिमा पनि योगदान पुराएको चर्चा गरेका छन् ।
यसैगरी नेपाल मेडिकल काउन्सिल अध्यक्ष डा.चोपलाल भुसालले गरेका थिए । कार्यक्रममा डाक्टर भुसालले नेसनल ल्याबका माध्यमबाट नागरिक तहमा रोजगारी समेत सिर्जना भएको भन्दै सरकारको सहयोग आवश्यकता रहेको बताएका छन् ।नमुना परीक्षण तथा कर्मचारीका हिसाबले नेसनल प्याथ ल्याब नेपालकै ठूलो ल्याब भएको समेत उनले चर्चा गरे । संस्था अध्यक्ष रुद्रबहादुर कार्कीले नेपालभरि नै व्यवस्थित ल्याब विस्तार गर्ने लक्ष्य रहेको कुरा सार्वजनिक गरेका थिए ।प्रयोगशालाका प्रबन्ध निर्देशक पवन जोशीका अनुसार प्रयोगशालामा ‘सामान्य जाँचदेखि विशेष प्रकारका जाँचहरु’ अत्याधुनिक उपकरण र दक्ष प्राविधिक जनशक्तिबाट सेवा उपलब्ध गराइने भएकोछ ।
१५ करोड रुपैयाँ लागतमा स्थापना भएको यस नयाँ शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा मोलिक्युलर, जेनेटिक्स र साइटोजेनेटिक्स सम्बन्धी परीक्षण गर्ने प्रयोगशालामा सूचीकृत रहेको छ । ‘यो शाखामार्फत नेपालमा पहिलो पटक एकै छानामुनि नेक्स्ट—जेनेरेशन सिक्वेन्सिङ (एनजीएस)साइटोजेनिटिक्स र फिस तथा नवजात शिशु परीक्षणजस्ता सुपरस्पेशियालिटी परीक्षण हुनेछन् । नेक्स्ट–जेनेरेशन सिक्वेन्सिङ (एनजीएस) प्रविधि जटिल जेनेटिक परीक्षणका लागि प्रयोग गरिन्छ। यसले रोग पहिचान, क्यान्सर प्रगतिका चरणहरू र अनुवांशिक रोगहरूको निदान र उपचारमा महत्तत्वपूर्ण योगदान पुर्याउँछ,’ कार्यक्रममा एनपीएलले जानकारी दिएको छ।
प्रवन्ध निर्देशक पवन जोशीले प्रयोगशाला देशकै अनुवांशिक अनुसन्धान स्रोत केन्द्रका रुपमा विकास हुने विश्वास व्यक्त गरे। उनले जेनेटिक सम्बन्धि राष्ट्रियस्तरमा विभिन्न अनुसन्धान गर्न नेपाल सरकारसँग सार्वजनिक निजी साझेदारी गर्न तयार रहेको बताए।
चिकित्सकहरुका अनुसार आनुवंशिक परीक्षण कस्तो अवस्थामा गर्ने ?
स्तन र पाठेघरको क्यान्सर, मोटोपना, पार्किन्सन्स, सिस्टिक फाइब्रोसिस जस्ता आनुवंशिक रोग परिवारमा पुस्तादेखि देखा परिरहेको छ भने परिवारका सदस्यले अनुवंशिक जाँच गर्नु पर्छ । गर्भावस्थामा यो परीक्षण गर्ने हो भने भविष्यमा बच्चालाई हुन सक्ने अनुवंशिक रोगको जोखिमबाट बचाउन सकिन्छ ।यसको फाइदा भनेको आफ्ना पूर्खा वा आमाबाबुबाट कुनै रोग सरेको अवस्थामा त्यसको निदान गरी सही उपचार खोज्न सकिनेछ। ।