३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

मैले देखेको ‘लाङटाङ– लिरुङ’


४ असार २०८२, बुधबार  



गएको जेष्ठको तेश्रो साता हो, हामी (लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठान) लाङटाङ पदमार्गका लागि निस्कियौ ।पहिलो पटक हिमाली पदमार्गमा निस्किन लागेकी थिएँ म। विल्कुलै नयाँ ठाउँ मात्रै होइन, करिब ४ हजार मिटरको क्यान्जिङमा पुग्नुपर्ने थियो। डर -डर पनि लागिरहेको थियो। किनकी म दाङमै जन्मि हुर्किएकी परेँ ।

उकालो ओरालो त्यत्ति अनुभव थिईन्। सानो हुँदा हापुर मामाघर जाँदा अरुले घाँसपात, दाउरा आदि गरेको देखेको भएपनि जीवनमा कहिल्यै गह्रुंगो भारी नबोकेकी म। तैपनि हिमाली पदमार्ग मेरा लागि हुटहुटी थियो। नयाँ अनुभवसंगै प्रकृतिसंगको अभूतपूर्व सामिप्यता मेरा लागि चासोको कुरा थियो ।

यतिमात्रै होइन, हिमाली प्रकृतिसंग सामिप्यता जोड्न पाउनु जीवनको एक अवसर पनि ठाँनिरहेकी थिएँ। डर अनि रहरकै बीचमा पदमार्ग जाने योजना बनाएँ । हाम्रो १६ जनाको टोली जेष्ठ २० गते बिहानै टोखा पुग्यो। नयाँ ठाउँमा जान लागेर पनि होला, मनमा कौतुहुल्यता थियो,उस्तै।

पदमार्ग सजिलो हुन्न भन्ने पनि बुझेकी म, सबै बन्दोबस्तीले हिडेकी थिएँ। काठमाडौको उखरमाउलो गर्मी अनि प्रदुषणले वाक्कदिक्क। यसैबाट केही दिनलाई राहत पनि होला भन्ने थियो। यही उदेश्य, चाहना र हुटहुटी बोकेर हामी जेष्ठ २० गते काठमाडौलाई विदाइ गर्दै स्याफ्रुबेसी पुग्यौ।

करिब ६ घण्टाको सडक यात्रापछि स्याफ्रुबेसी भेटियो। स्याफ्रु्रबेसी पुग्दासम्म सहजै थियो। जब हाम्रो पत्रकार टोलीसहित खेलाडी अनि आयोजकको लावालस्कर स्याफ्रुबेसीबाट लाङटाङ खोलालाई छेउमा स्पर्श गर्दै अघि बढ्याे। जतिबेला लाङटाङ लिरूङ हिमालले हामीलाई चियाइरहेको थियोे । शान्त अनि सुन्दर लाङटाङ लिरूङ ७ हजार२२७ मिटर अग्लो रहिछ।

तबदेखि उकालो अनि विकट भूगोलहरु देखिन थाले। गृष्मकालीन ऋतुको समय। हामी हिड्ने पदायात्रामा फूलहरुले स्वागत गरेको अनुभूति हुन्थ्यो। पहिलो दिन मात्रै करिब ७ घण्टा हिडेर ब्याम्बोमा बास बसियो। समुद्री सतहबाट १९७० मिटरको उचाइमा रहेको ब्याम्बोसम्म पुग्न जेनतेन पहिलो दिन मँ हिडे । समूहसंग संगै उकालो काटियो। निलो लठ्ठीको टेकोमै उकालो लागेका थियौ। ब्याम्बोमा खानाको समयमा साथीहरुसंग रमाइलो गर्दै सुतियो। पत्रकारहरुका लागि छुट्टै बन्दोबस्त गरिएको थियो।

२०८२ साल जेष्ठ २१ गते बिहानै हिडियो। जब ब्याम्बोदेखि उकालो लाग्यो। तबदेखि डर लाग्न थाल्यो। प्रकृतिका अनुमम छटा थिए। निकै मनमोहक थियो प्रकृति । तर, जीवनमा पहिलो पटक यति ठाडो उकालोसंग निहुँ खोज्नु मेरा लागि घातक जस्तै थियो । यद्यपि अनेकन दुख कष्ट झेल्दै लामा होटल पुगियो। समुद्र सतहबाट करिब २७ सय मिटरको उचाइ रिम्चे हुँदै लामा होटलमा खाना खायौ। थकानले लखतरान परेको थियो, शरिर । शरीर थाकेपनि मन थाकेको थिएन। जेनतेन घोरातबेला पुगियो त्यस दिन ।।यो करिब ३ हजारको उचाइमा रहेछ।

जेष्ठ २२ गते घोरातबेलामा हामी थान्स्यापतिर लाग्यौ। थान्स्याप समुद्री सतहबाट ३२ सय मिटरमा रहेछ। यहाँ बिहान हामीले चौरीको दुध र भात खाएर लाङटाङ भ्याली पुग्ने गरी बाटो तय ग¥यौ। रिभरसाइडमै भेटिएका थिए, नेपाल टेलिभिजनका सिन्धुली सम्वाददाता सुशिल कोइराला । उनी पनि क्यान्जिङ गोम्पाको न्यूज कभरेज गर्न भनि हिडेका रहिछन्। करिब तीस वर्ष पत्रकारिता गरेर पाका बनेका कोइरालासंगको सम्वादले हामीलाई उकालो काट्न अल्लि सहज भयो। फोटो ग्राफरमा अत्यन्तै सिपालु रहिछन्, कोइराला। उनले खिचिदिएका दृष्यले मलाई रोमान्चित बनायो।

प्रकृति र संस्कृतिको अनुपम गन्तव्य रहिछ लाङटाङ क्षेत्र । तामाङहरू प्रकृतिलाई औधि विश्वास र माया गर्दा रहिछन् ।रिभरसाइडमा होटल चलाउँदै आएकी सुम्जो मोक्तान भनिन्छन्, ‘हिमाल त हाम्रो देउता हो। देउता खुशी भए सबै राम्रो हुन्छ । ग्रहदशा सबै जान्छ।’

सेम्जाे तामाङ

सेम्जो भनेको कान्छी भनेको हो । तिबेतियन आमा रहिछन् । बाले सुम्जो नाम राखिदिएका रे । लाङटाङ खाेलालाई छेनुम भनिदो रहिछ, तामाङ भाषामा ।कालो- कालो पानी बग्ने भएकोले तामाङ भाषामा यसलाई छेनुम भनिएको रहिछ।

लाङटाङ लिरूङ श्रृंंखला

लाङटाङ लिरूङलाई रसुवाका तामाङहरूले इश्वर मान्छन्। लाङटाङ लिरूङ उनीहरूका निम्ति लिरूङ गेङेन अर्थात् प्रेमालु ईश्वर हुन्।उनीहरू ग्रहदशा अग्लो हिमालबाट बहने हावा र खोँच हुदै बग्ने हिमनदीले लैजान्छ भन्ने विश्वास गर्ने रहिछन् । प्रकृति जति सुन्दर छ। उति संस्कृति पनि विविध रहिछ लाङटाङमा।

हिमाली पदमार्गको हिडाइ थियो। जति हिडियो,उति उचाइ बढ्दै थियो। जीवनमा पहिलो पटक यति धेरैमा उचाइमा हिडेकी म। लेक लाग्ने समस्या त झेल्न परेन। जेष्ठ २२ गते दिनभर हिडियो, जतिबेला हामीलाई लाङटाङ उपत्यकाले स्वागत गर्न आतूर भए झै लाग्थ्यो । उत्तरतिर फर्किदा लाङ लिरुङ श्रृंखलाले चियाइरहेको थियो। प्रकृतिको यो सुन्दर रचनाले मन निकै फुरुङ्गै भैरहेको थियो।

खर्कमा चौरीहरू चरिरहेका थिए। स्थानीयहरूको जिविकोपार्जन पशुपालन रहिछ। विशेषगरी दुधबाट बनाईने छुर्पी उनीहरू पर्यटकलाई बेच्दा रहिछन् । खर्क पशुपालनको पुरानो शैली हो। उनीहरू सिजन अनुसार खर्क लैजान्छन्। जब गर्मी चढ्दै जान्छ, उति उति माथितिर चौरी लैजाने गर्दा रहिछन् ।

जंगलमा चर्दै चाैरी

यहाँका मानिसहरुको मुख्य पेशा पशुपालन रहेछ। भूकम्पपछि यस क्षेत्रमा खासै खुशी आएको अनुभव भएन। २०७२ को भूकम्पको कारण हिमताल विस्फोट भएर ठूलो मानवीय क्षति भएको रहिछ। नेपाली सेनासहित १६८ जनाको मृत्यु भएको दुखान्त कथा स्थानीयहरुले हामीलाई सुनाए।

चाैरी खर्क घाेराटबेला

स्थानीयहरुसंग वात मादै उनीहरुको जीवनका कथा कहानीसंगै हामी बेलुकी लाङटाङ पुग्यौ। लाङटाङ उपत्यका ३४ सय मीटरमा रहेको छ। भूकम्पछि आधुनिक घरहरु बनेका रहेछन्। यस क्षेत्रमा खेतीपाती लगभग नहुँदो रहिछ। वँदेल र बाँदरकै कारण स्थानीय खेती गर्न छाडेका रहिछन्। जेष्ठ २३ गते लाङटाङमा बसेर हामी क्यान्जिङ हिड्यौ।

क्यान्जिङ पुग्दा त ज्यान धेरै थकित भैसकेको थियो। ३८९० मीटरको उचाइमा रहेको क्यान्जिङ निकै सुन्दर रहेछ। सामुन्नेमा लाङटाङ लिरुङको काखमा अवस्थित क्यान्जिङ गोम्पा यस पदमार्गको अन्तिम विन्दु रहिछ।

त्यस दिन त्यही होटेलमा खाना खाएर हामी बेलुकी रमाइलो गर्दै फर्कियौ। त्यहाँबाट फर्किएपछि हामी फेरी थानस्यापमा बास बस्यौ। १४ जना हाम्रो टिम थियो । थानस्यापमा निकै महंगो रहिछ। एउटा अण्डाको मूल्य नै चार सय रुपैया। तैपनि खानपानको सबै व्यवस्था आयोजक रसुवा नुवाकोट पर्यटन समाजले गरेको थियो।

त्यसदिन थानस्यापमा रात बिताएर हामी बिहान नाँचगान गर्दै हिड्यौ। जेष्ठ २४ गते शनिबार थियो। शनिबारको दिनमा लाङटाङ ट्रेल रन २०२५ को आयोजना गरिएको थियो । हामी ओरालो लाग्दै थियौ। हाम्रो पछि पछि खेलाडीहरु हाम फाल्दै दौड्दै थिए।

उनीहरुको त्यो दौड देखेर रहर त नलागेको होइन।तर, एक पाइलो सार्न पनि गाह्रो भैरहेको थियो। साथीभाइहरुसंगको फोटो सेशन र मिठा मिठा सम्वादले दुर्दलाई बेला बेलामा विर्साउँथ्यो । त्यस दिनको हिडाइ निकै गाह्रो लागेको थियो। थान्स्यापबाट हिडेर स्याफ्रुबेसी झर्नु मेरा लागि कठिन थियो। तैपनि नहिडि सुक्कै थिएन। ब्याम्बोसम्म झर्दा त खासे मानेको थिएन। जब जब स्याफ्रुबेसी नजिकिदै थियो। उति उति शरीर थरथराइरहेको थियो।

साथमा साथी हेमलता, अनि आयोजककी रितु आङदम्दा थिइनृ। अरु साथीहरु पनि थिए। ठूलो कष्टको साथ लाङटाङमा झरियो। अनि आयोजकले गाडी लिन पठाएका थिए। गाडीमा स्याफ्रुबेसी झरेपछि जीवनमा ठूलो जीत हासिल गरेको अनुभव भयो ।

३२ किलोमिटर पदमात्रामा ५ दिन लगातार हिडियो । अर्काे दिन जेष्ठ २५ गते काठमाडौ फर्कियो। पदयात्रामा जतिसुकै कठिनाइ भएपनि साथीहरुको त्यो सदभाव आत्मियताले दर्दहरुलाई विर्साइदियो ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ६ : १२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित