३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

आज माघ पर्व, थारु समुदायको विशेष चाड, देशभर सार्वजनिक विदा


१ माघ २०८१, मंगलबार  



आज माघ पर्व अर्थात माघे संक्रान्तिको दिन । थारु र मगर अनि अन्य जातजातिका समुदायहरुले विशेष महत्वकासाथ मनाउने गर्दछन्। विशेष गरी यस पर्वलाई परम्परागत सांस्कृतिक, धार्मिक र प्राकृतिक रुपमा मनाइन्छ । प्राकृतिक परम्परा अनुसार कन्दमुलको रुपमा तरुल, सखरखण्ड,चाकु खाने दिनका रुपमा यो पर्व परिचित छ । परापूर्वकालदेखि जाडो फाल्ने भनेर घ्युसंग खिचडी र चाकु खाने प्रचलन रहेको छ। माघे संक्रान्तिको दिनदेखि जाडो पनि कम हुदै जाने विश्वास गरिन्छ । माघ पर्व सबै नेपालीका लागि भएपनि विशेष गरी आदिवासी जनजाति र थारु समुदायका लागि विशेष पर्वको रुपमा लिइन्छ ।

थारु तथा मगर समुदायले माघ पर्व अर्थात माघे संक्रान्ति निकै उल्लासपूर्ण तरिकाले मनाउने गर्दछन्।आफनो परम्परा र मौलिकताको रक्षागर्दै परापूर्वकालदेखि थारु समुदायले माघ पर्वलाई मुख्य संस्कृतिको रक्षा र विकासको लागि नाचगान सहित खानपिनलाई बढी महत्व दिदै धुमधामसंग मनाउने गरिन्छ । विभिन्न कला र संस्कृतिका धनी थारु समुदायका नयाँ पुस्ताले माघ पर्वलाई विशेष महत्वका साथ उत्सवमय चाडको रुपमा पनि मनाउदै आएका छन् । आफनो जातीय परम्परा अनुसार समाजमा सामूहिक रुपमा बसोवास गर्दै आएका थारु जाति आफनो भेषभुषा, संस्कृति परम्परा र रहनसहनमा रहेर यो माघ पर्व मान्ने गर्दछन् ।
थारु समुदायको बसोबास पूर्वको भाmापादेखि पश्चिमको कञ्चनपुर तथा भित्री मधेस गरी २५ जिल्लामा रहेको छ। थारु समुदायले माघलाई विशेष महत्वका साथ खुसीयाली बाड्दै आफन्तजनको जमघटमा मिठामिठा परिकार बनाएर खाने साथसाथै आफु भन्दा ठला संग आर्शिवाद लिने प्रचलन छ। उनीहरुले पाँचदिनसम्म थारु मघौटा नाँचगान सहित रमाइलो गरिन्छ । पुस महिनाको अन्तिमतिर माछा मारेर खाई औपचारिक रुपमा माघ भित्र्याउँछन् । दोस्रो दिन सुङगुर, बंगुर काटेर खाने र साँझको समयमा सबै थारु समुदायका व्यक्तिहरुले गाउँको महटावाँको घरमा रातभरी जाग्राम बसी धुमरु गीत गाउँछन् । अर्कोदिन माघे संक्रान्ति अर्थात माघ १ गतेकादिन बिहानै नाचगान गर्दै नजिकैको खोलामा गइ स्नान गर्दछन् । स्नानपछि ३ थरीका वस्तुहरु चामल, नुन र मासको गेडा –निस्राउ चेलीवेटीको नाममा चढाई माघलाई स्वागत गर्दछन् ।

थारु समुदायमा सामूहिक एकता निकै बलियो हुन्छ, उनीहरुमा सामुहिकताको भावना, इमान्दारिता र श्रमप्रति उच्च सम्मान समुदायको पहिचान हो । समानता र लोकतान्त्रिक पद्धति अनुसार आगामी वर्षदिनका लागि गाउँगाउँमा बडघरिया – गाउँको (मटावाँ) गाउँको मुली, चिरकिया – गाउँको पूजारी, चौकीदार–गाउँको हुलाकी आदि सर्वसम्मत रुपमा चुन्ने प्रचलन छ । यस्ता अगुवा, पुजारी, हुलाकी चुन्ने प्रक्रिया लोकतान्त्रिक विधि मार्फत चुन्ने प्रक्रिया इतिहासकालदेखि अभ्यास हुँदै आएको हो ।


गाउँको महटावाँ प्रथा एक वर्षदेखि १० वर्षसम्म एकै व्यक्तिले चलाउने गरेको पाइन्छ। यस प्रचलन अनुसार यस समुदायमा वर्षको अन्तिम महिना माघमा हुन्छ, थारु समुदायको संस्कार संस्कृति लोकतान्त्रिक विधि र कार्यपालिका आफनै किसिमको रहेको छ । समुदायमा आधारित समाजवादी अभ्यासको रुपमा मटावाँ प्रथालाई लिइन्छ। सुमदायको अधिकार र पहिचानको बहससंगै यसको महत्व अझै बढेको देखिन्छ । थारु समुदायले जस्तै मगर समुदायहरुले पनि माघी अर्थात माघलाई विशेष चाडको रुपमा मनाउँछन्। थारु तथा मगर समुदायको विशेष चाडको यस अवसरमा संघीय सरकारले आज मंगलबार देशभर सार्वजनिक विदा दिएको छ भने, लुम्बिनी प्रदेश सरकारले भोलि बुधबार सार्वजनिक विदा दिएको छ।

थारु र मगर समुदाय जस्तै अन्य जात जातिले पनि माघ पर्व तथा माघे संक्रान्ति धुमधामले मनाउँछन्। बिहानी उठेर नदी तथा जलायशयमा गएर नुहाइ धुवाइ गरेर चोखो हुने प्रचलन छ। आज देवघाट त्रिवेणी शाली नदी लगायतमा बिहानै भक्तजनहरु पुग्न गर्दछन्। स्नानपछि मन्दिरमा गएर पूजापाठ गर्ने गरिन्छ। सोमबारदेखि श्री स्वस्थानी व्रत कथा आरम्भ भएकोले स्वस्थानी माताको पूजा र आरधना गर्ने प्रचलन पनि छ।

अन्तमा,
माघ पर्व अर्थात माघे संक्रान्तिको यस अवसरमा सबै जाजाति र समुदायबीयको भातृत्व, एकता, मित्रता र बन्धुत्व अझै मजबुत होस्, हाम्रो पनि सबैलाई भव्य शुभकामना ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ५ : १३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित