१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

गभर्नरमा डा.भट्ट र ढुंगानाको सम्भावना, कांग्रेसलाई प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’


३ बैशाख २०८२, बुधबार  


गएको चैत २४मा राष्ट्र बैंकको गभर्नर पद रिक्त छ। गभर्नर पद कसले लिने भन्ने विषयमा सत्तारूढ दल एमाले कांग्रेसबीच मतभेद छ।

प्रधानमन्त्री ओली पहिलो गभर्नर महिलालाई बनाएर इतिहास रच्ने दाउँमा छन् । अहिले कायममुकायम गभर्नर डाक्टर निलम ढुंगानालाई उनी गभर्नर बनाउन चाहान्छन्।तर, कांग्रेसले गठबन्धन गभर्नर पदलाई महत्त्व दिएर अडान कायम राखेको छ।मंगलबार साँझ दुई शीर्ष नेताबीच भएको भेटमा देउवाले गभर्नर पद नछाड्ने अड्डी कसेका हुन् ।

राजनीतिक दबाबकाबीच भएको भेटघाटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नेपाल राष्ट्र बैंकको रिक्त रहेको गभर्नर कसलाई बनाउने भन्नेमा समझदारी जुट्न सकेन ।

प्रधानमन्त्री ओलीले कामू गभर्नर डा नीलम तिम्सिनालाई गभर्नर बनाउने बताइरहेका बेला कांग्रेस सभापति देउवाले कांग्रेसले भनेको व्यक्तिलाई गभर्नर बनाउनु पर्ने अडान जोडदारका साथ राखेका छन् ।

एमाले निकट ढुंगानालाई गभर्नर बनाउन नहुने र कांग्रेले अघि सारेका व्यक्तिहरू मध्यबाट एक जनालाई गभर्नर बनाउनु पर्ने देउवाले अडान राखेका छन् ।
उनले भने,‘अर्थतन्त्रको अवस्था निकै कमजोर छ यस्तो अवस्थामा योग्य व्यक्तिलाई गभर्नर बनाउनु पर्छ नलमजी राम्रै मान्छे हो तर उहाँले यो क्रिटिकल अवस्थामा वित्तीय क्षेत्र हाँक्न सक्नुहुन्न हामीले अघि सारेका व्यक्तिहरु नीलमजीभन्दा सक्षम र योग्य छन्’ देउवाले प्रधानमन्त्री ओलीलाई भनेको कुरा कांग्रेसका नेताले बताए । उनका अनुसार ‘यसअघि एमालेले बनाएका गभर्नरले अर्थतन्त्र विगारेको र कांग्रेसले भनेका उम्मेद्वारले मात्रै अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन सक्छ भनेर सभापति देउवाले प्रष्ट अडान राखेका छन् ।

छलफलमा राष्ट्र बैंककै सिनियर डेपुटी गभर्न त्यसमाथि महिला भएकाले नीलमलाई नै गभर्नर बनाउँदा विवाद पनि नहुने प्रधानमन्त्री ओलीले तर्क राखेको ती नेताले बताए । तर नेपाल विद्युत प्राधिकरणमा एमालेले रोजेको व्यक्ति हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको भन्दै गभर्नर कांग्रेसले रोजेको व्यक्ति हुनुपर्ने देउवाको अडान छ ।

‘विद्युत प्राधिकरणमा तपाईंले रोजेको व्यक्तिलाई हामीले समर्थन गर्यौं अब गभर्नरमा हामीले भनेको व्यक्तिलाई तपाई्ंले सहयोग गर्नुपर्छ’ देउवाको भनाइ रहेको थियोे । ‘सत्ता गठबन्धनको सबैभन्दा ठूलो पार्टीले केही पनि नपाउने भन्ने न्यायसंगत हुँदैन । मेरो पार्टीभित्रै पनि गभर्नर छाड्नुहुँदैन भन्ने ठूलो दबाब छ त्यसकारण पनि म कम्प्रमाइज गर्नसक्ने अवस्थामा छैन ।’ गभर्नर हामीले पाएनौं भने गठबन्ध नै संकटमा पर्नसक्ने संकेत देउवाले गरेको पनि ती नेताले बताए ।

देउवाले यस्तो अडान राखेपछि ओलीले सहमतिमै गभर्नर नियुक्ति गर्ने कुरामा आफू दृढ रहेको बताएका थिए । सरकारको नेतृत्व आफूले गरेको भन्दै विवादरहित र योग्य मान्छेलाई दल नभनी गभर्नर बनाउनुपर्ने र त्यसमा कांग्रेस पनि सहमत हुनुपर्ने प्रधानमन्त्रीले बताएका छन् । गभर्नर कांग्रेसले पाए एमालेले कुन कुन पद पाउँछ भनेर ओलीले देउवालाई प्रश्न गरेको ती नेताले बताए ।

गभर्नर कांग्रेसले भनेको मान्छे नियुक्ति भएको अवस्थामा अरु पदमा छलफल गरेर सहमतिमा अघि बढ्न आफू तयार रहेको जवाफ देउवाले दिए । त्यसपछि प्रधानमन्त्री ओलीले कांग्रेले भनेको व्यक्तिलाई नै गभर्नर बनाउन सकिने प्रष्ट संकेत गरे ।

ओली देउवाको छलफलपछि कांग्रेस नेताहरुले गभर्नर कांग्रेको भागमा परेको बुझेका छन् ।

यो पटक गभर्नर कांग्रेसको भागमा पर्नु स्वाभाविक दाबी हो किनभने यसअघि एमालेका गभर्नर थिए ती नेताले भने९ ‘हामी यसपटक गभर्नर कुनै पनि हालतमा छाड्दैनौं ।’

गएको चैत २४ गते महाप्रसाद अधिकारी कार्यकाल सकिएपछि नेपाल राष्ट् बैंकको गभर्नर पद रिक्त छ । सत्ता साझेदार दल कांग्रस एमालेबीच सहमति नजुट्दा राष्ट् बैंक ऐनमा एक महिनाअघि नै गभर्नर नियुक्ति गरेर नाम सार्वजनि गर्नुपर्ने भन्ने कानूनी व्यवस्थाको उल्लंघन भइसकेको छ । ऐनले तोकेको समयमा गभर्नर नियुक्त नगरेर कानूनको उल्लंघन भएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।

सरकारले गठन गरेको ३ सदस्यीय गभर्नर सिफारिमा कांग्रेस निकट मानिएका पूर्वगभर्नर विजयनाथ भट्टराई र देउवा निकट रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेल सदस्य रहनुले पनि गभर्नरमा कांग्रेसले रणनीतिक चाल चालेको बुझिन्छ । सिफारिस समितिको संयोजक एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल छन् । सिफारिस समितिले सिफारिस गर्दा नै कांग्रेको मान्छे पर्ने बलियो संभावना छ ।

राष्ट्र बैंक ऐन अनुसार बहालवाला डेपुटी गभर्नर मध्येबाट अनिवार्य १ जनासहति ३ जनाको नाम सिफारिस गर्नुपर्ने र सिफारिसमा परेका ३ मध्येबाट १ जनालाई सरकारले गभर्न नियुक्त गर्नसक्ने व्यवस्था छ । बहालवाला दुईवटै डेपुटी गभर्नर एमाले निकट छन् ।

कांग्रेसले भने पूर्वमुख्यसचिव राजेनद्र किशोर क्षेत्री राष्ट्र बैंकका सन्चालक रविन्द्र पाण्डे राष्ट्र बैंकका पूर्व निर्देशक समेत रहेका नविल बैंकका निवर्तमान सीईओ ज्ञानेन्दर ढुंगना र बहालवाला कार्यकारी निर्देशक डा गुणाकर भट्टको नाम अघि सारेको थियो ।

तर ६५ वर्ष उमेर कटेको व्यक्तिलाई गभर्नर बनाउन मापदण्ड नै संशोधन गरिएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले मंगलबार मात्रै अन्तरिमकालीन अन्तरिम आदेश जारी गरिसकेको अवस्थामा ज्ञानेन्द्र ढुंगाना वा गुणाकर भट्ट बलिया दाबेदार देखिएका छन् । साथै कांग्रेसले यी बाहेकको नाम पनि खोजिरहेको ती नेताले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ६ : १३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित