श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले प्रविधि–मैत्री व्यवस्थापनमार्फत संक्रमणकाललाई अवतरण र रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन्।
मन्त्री भण्डारीले पोखरा–३० खुदीमा अवस्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थाको कार्यालयमा आयोजित विशेष कार्यक्रममा बोल्दै खानेपानीको पहिलो उपयोगिताको सिद्धान्तलाई आत्मसात् गर्दै स्मार्ट (प्रविधि–मैत्री) व्यवस्थापनमार्फत वर्तमान अवस्थामा राज्य तथा संघ–संस्थाको सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले मुलुकले १० वर्षे जनयुद्धभन्दा २४ घण्टामा ठूलो क्षति व्यहोर्नुपरेको उदाहरण दिँदै नीतिगत रूपमा प्रविधि–मैत्री द्वन्द्व समाधान, युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने सरकारको उद्देश्य रहेको बताए।
नवयुवालाई आक्रोश र कुण्ठामा होइन, राष्ट्र निर्माणमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै संक्रमण अवस्थालाई अवतरण र रूपान्तरण गर्न आवश्यक रहेको उल्लेख गरे। जनताको सर्वोत्तम हित बाहेक अर्को कुनै उद्देश्य नभएको बताउँदै सबैलाई सार्वजनिक हितमा लाग्न आग्रह गरे।
मन्त्री भण्डारीले आफू मन्त्रीको पदावली बाहेक अन्य कुनै कार्यमा संलग्न नभएको, यस संस्थामा पहिलो पटक आएको र भ्रमण नितान्त व्यक्तिगत भएको स्पष्ट पारे। उनले खानेपानी क्षेत्रका समस्या समाधान, रणनीति र नीतिगत रूपमा खानेपानीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै समस्यामा परेका जनताको वास्तविक आवश्यकता पहिचान गरी सेवामुखी वर्गीकरणका आधारमा मानवीय तथा संवेदनशील ढंगले काम गर्न आग्रह गरे।
कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्था पोखरा–३० का अध्यक्ष मुरारी शर्माको सभापतित्व रहेको थियो। शर्माले विभिन्न समयमा मन्त्रीहरूसमक्ष गुनासो राख्दै आएको उल्लेख गर्दै व्यवसायीसरह कर तिर्न बाध्य उपभोक्ता संस्थालाई प्यान र भ्याटमा सेवामुखी छुटको व्यवस्था हुनुपर्ने माग गरे। उनले आम्दानीको २५ प्रतिशत कर तथा कुल महसुलको १ प्रतिशत नेपाल सरकारको राजस्व खातामा जम्मा गर्ने अघिल्लो सरकारको निर्णय पुनरावलोकन गर्नुपर्ने, विद्युत् महसुलमा ५० प्रतिशत छुट कार्यान्वयन हुनुपर्ने, टिडिएफबाट १ प्रतिशत ब्याजदरमा ऋण लिएर ७५ प्रतिशत लगानी गरेका खानेपानी उपभोक्ता संस्थालाई ५ प्रतिशतमा ऋण लगाइने व्यवस्था लगायतका समस्या समाधान गर्न माग गरे।
कार्यक्रममा संस्थाका श्रव्य–दृश्य कार्यालय प्रमुख शिव अमात्यले हराएको पानी पत्ता लगाउने प्रविधि, नेपालमै पहिलो पटक खानेपानी बीमा, स्मार्ट पानी वितरण प्रणाली, अनलाइन भुक्तानी, मूलदेखि धारासम्म शुद्ध खानेपानी आपूर्ति, जलवायु अनुकूलित वितरण प्रणाली, आधुनिक प्रयोगशालाको स्थापना तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट प्राप्त प्रविधि र मर्मत सहयोगबारे प्रस्तुति दिएका थिए।
कार्यक्रममा धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष पुष्प कलम ढुंगानाले गरेका थिए भने कार्यक्रम सञ्चालन राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालकी कोषाध्यक्ष एवं लेखनाथ खानेपानी उपभोक्ता संस्थाकी सचिब नारायणी भट्टराई (रक्षा) ले गरेकी थिइन्।








