किसानबाट लिएको दूधको बक्यौता तिर्न नसकेको दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध किसानमाथि फेरि बेईमानी गरेको छ।
बटर र धूलो दूध मौज्दात रहेको बहाना बनाउदै डीडीसीले कोटा तोकेर दूध किन्न आयोजनालाई निर्देशन दिएको पाईएकाे छ ।
बढी दूध उत्पादन हुने सिजनमा निजी डेरीले दूध संकलन कम गर्नु स्वाभाविक मानिए पनि सरकारी स्वामित्वको डीडीसीले कोटा तोक्नु गलत भएको किसानहरू बताउँछन् ।
डीडीसी ‘किसानका लागि सरकार हो,तर निजी डेरीले व्यवहार गरेर किसानमाथि अन्याय गरेको उनीहरू बताउँछन् । निजी डेरीले नकिनेको दूध पनि डीडीसीले खरिद गरेर बजारको सुनिश्चितता गरिदिनुपर्ने सरकारी संस्थान भने किसानामारा नीति लागू गरेको छ।
कात्तिक, मंसिर, पुस, माघ, फागुन र चैत महिना बढी दूध उत्पादन सिजन हो । त्यसपछि सुक्खा सिजन सुरु हुन्छ । सामान्यतः डेरीले बढी दूध उत्पादन हुने सिजनमा दूध खरिद गरेर पाउडर बनाउँछन् । सुक्खा सिजनमा दूध अभाव हुन नदिन पाउडर दूधमार्फत बजारको माग पूर्ति गर्ने हो । तर, बढी उत्पादन हुने सिजनमा स्टक देखाउँदै दूध संकलमा कोटा लगाइएको छ । कोटाभन्दा बढी खरिद गरे आयोजना स्वयं जिम्मेवारी हुनेसम्मको निर्देशन दिइएपछि डीडीसीकाे सुनियोजित बाहाना खुलासा भएको हाे।
केही दिन अघि उद्योग मन्त्री दामोदर भण्डारीले आ न्तरिक उत्पादनले माग पूरा नगरे पाउडर दूध आ यात हुने बताएका थिए। त्यसको केही दिनपछि डीडीसीले यस्तो बाहना गर्न थालेको हाे। हाल संस्थानसँग करिब ५ सय टन धूलो दूध र ५ सय टन मखन मौज्दात रहेको छ । डीडीसीले गएको कार्तिक २५ गते स्टक भएको भन्दै दैनिक औसत कोटाअनुसार दूध संकलन गर्ने निर्णय गरेको थियोे । डीडीसीका महाप्रबन्धक सूर्यप्रसाद पौडेलको अध्यक्षतामा बसेको उच्च व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको बताईएकाे छ।
दैनिक संकलनको अनुगमन गरी महाप्रबन्धकलाई रिपोर्टिङसमेत गराउनुपर्ने निर्णय गरिएको छ । रिपोर्टिङको जिम्मेवारी प्राविधिक व्यवस्थापन विभाग तथा आयोजनामा संकलन हुने दूधको गुणस्तरको अनुगमन गरी महाप्रबन्धकलाई रिपोर्टिङ गर्ने जिम्मा गुण नियन्त्रण तथा प्रविधि विकास विभागलाई दिएको छ । निर्णयअनुसार मंसिरमा दिनको १ लाख २ हजार लिटर मात्रै खरिद गरिनेछ, जसमध्ये काठमाडौं दुग्ध वितरण आयोजनाबाट दिनको ५० हजार, विराटनगर दुग्ध वितरण आयोजनाबाट १५ हजार, जनकपुर दुग्ध वितरण आयोजनाबाट ३ हजार, हेटौंडा दुग्ध वितरण आयोजनाबाट १२ हजार, लुम्बिनी दुग्ध वितरण आयोजनाबाट १२ हजार, नेपालगन्ज दुग्ध वितरण आयोजनाबाट ६ हजार र धनगढी दुग्ध वितरण आयोजनाबाट ४ हजार लिटर खरिद गर्नेछ ।
यी वितरण आयोजनाबाट पुसमा दिनको १ लाख १८ हजार लिटर, माघमा १ लाख १८ हजार लिटर, फागुनमा १ लाख २ हजार लिटर र चैतमा १ लाख २ हजार लिटर दूध खरिद गर्न कोटा तोएिको छ । गत मंसिरमा दिनको १ लाख ३० देखि १ लाख ३५ हजार लिटरसम्म संकलन गर्ने निर्णय भएको डीडीसी कर्मचारी बताउँछन् । यसपालि पनि यही हाराहारीमै उत्पादन हुन्छ । यो सामान्य प्रक्रिया पनि हो।
‘चैतबाट उत्पादन घट्न थाल्छ । अहिले खरिद गरेर पाउडरमा कन्भर्सन गर्ने हो । सरकारको अनुदानमा चलेको डीडीसीले दूध खरिद गर्दिनँ भन्न नमिल्ने पनि डीडीसी कर्मचारी बताउँछन् ।
उता,किसानले ६ महिनादेखि भुक्तानी नपाउँदा पनि दुध बेचेकै छन् । अहिले खरिद गरेर राख्न डीडीसीलाई सुनौलो अवसर हो ।तर, डीडीसी काेटा निर्धारण गरेर किसानलाई अलपत्र पार्न खाेजेकाे देखिन्छ ।
डीडीसीले करिब १२ सय दुग्ध उत्पादक सहकारीमार्फत काभ्रे, सिन्धुपाल्चोक, इलाम, मोरङ, पाँचथर, बुटवल, कपिलवस्तु, तौलिहवालगायत ४६ भन्दा बढी जिल्लाबाट दूध संकलन गर्छ । १२ सय सहकारीमा करिब २ लाख किसान परिवारको संलग्नता छ । कोटा नै तोकेर दूध खरिदको परिमाण घटाउनु भनेको ‘मिल्क होलिडे’ गराउन खोजेको केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले बताए ।
उनी भन्छन्,’अहिले दूध उत्पादन हुने सिजनमा कोटा तोक्नु भनेको किसान मार्ने खेल हो । दूध किन्ने दायित्व राज्यको हो, डीडीसीको हो । तर कोटा तोकेर किसानलाई निरुत्साहित गरिएको छ, निजीलाई कोटा प्रोत्साहन गरिएको छ।’
दूध उत्पादन हुने सिजनमा दिनको १ लाख लिटर दूध बढी हुने नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जनाए । बढी दूध उत्पादन हुने सिजनमा कोटा तोकेर डीडीसीले किसानमाथि अत्याचार गरेको उनको दाबी छ ।
कृषि मन्त्रालयको अध्ययनअनुसार दिनको औसत ७५ लाख लिटर दूध उत्पादन हुन्छ । ३७.५ लाख लिटर घर–घरमा सकिन्छ । बाँकी व्यापारिक प्रयोजनका लागि बजारमा आउँछ । ३७.५ लाख लिटरलाई शतप्रतिशत (१०० प्रतिशत) मान्ने हो भने ३४ प्रतिशत औपचारिक रूपमा कारोबार हुन्छ । बाँकी अनौपचारिक कारोबार हुने अनुमान गरिएको छ।
डीडीसीका महाप्रबन्धक सूर्य पौडेलले भने भण्डारण र बिक्री क्षमताका आधारमा दूध खरिदको कोटा तोकिएको दाबी गरे । यद्यपि किसानको उत्पादन खेर जान नदिने उनको भनाइ छ।