सनककाे भरमा लुम्बिनीमा निर्माण गरिएको लुम्बिनी सभाहलकाे अवस्था दयनीय छ।
सरकारी लगानी बालुवामा पानी भने झै भएको छ, लगानी खरानी भएको छ। सभा हलकाे दैनिक सञ्चालन गर्नेसम्मकाे आय -आर्जन नहुँदा सञ्चालनमा समस्या हुन थालेको छ।
लुम्बिनी विकास गुरुयोजनाविपरीत निर्माण गरिएको ५ हजार जना क्षमताको अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालन गर्न धौधौ हुन थालेको हाे। लुम्बिनीमा आयोजना गरिने सम्मेलन र ध्यान लक्षित गरेर बनाइएको हल निर्माण पूरा भएको साढे दुई वर्ष भइसकेपनि कमाइ ज्यादै न्यून छ ।
२५६० औं बुद्ध जयन्तीका बेला लुम्बिनीमा आयोजित कार्यक्रमस्थलको टेन्ट हावाहुरीले उडाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७३ सालमा सभाहल केन्द्र निर्माण गर्ने घोषणा गरेका थिए । लगत्तै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ मा हलको शिलान्यास गरेकी थिइन् । गुरुयोजनाले निर्माणमा रोक लगाएको क्षेत्रमा सम्मेलन सभाहल निर्माण गर्न लागिएको भन्दै त्यति बेला विरोध भएको थियो । विरोधका बाबजुद पनि तत्कालीन ओली सरकारले हल निर्माणमा लगानी गरेको थियो
सभाहल निर्माण पूरा भए पनि त्यसमा कार्यक्रम आयोजना नहुँदा आम्दानी शून्य छ । जसले गर्दा सभाहलको सरसफाइ खर्च उठाउनसमेत समस्या भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । २०७९ जेठ २ मा बुद्ध जयन्तीको अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले हलको उद्घाटन गरेका थिए । दुई चरणमा गरेर ७० करोड रुपैयाँ लागतमा सभाहल निर्माण भएको हो ।
अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न सभाहल निर्माण भएपछि लुम्बिनीका आन्तरिक र बाह्य कार्यक्रम बढ्ने विश्वास गरिएको थियो । तर अहिले सभाहल प्रयोगविहीन छ । सभाहलमा अहिलेसम्म ११ वटा मात्र कार्यक्रम भएका छन्, जसबाट २७ लाख ३० हजार रुपैयाँ आम्दानी भएको कोषले बताएको छ । २०७९/८० मा हलमा सात वटा कार्यक्रम आयोजनाबापत १३ लाख ५० हजार रुपैयाँ संकलन भएको थियो ।
२०८०/८१ मा ३ वटा कार्यक्रमबापत आठ लाख रुपैयाँ संकलन भएको कोषका लेखा प्रमुख नवल यादवको भनाइ छ । चालु आर्थिक वर्षमा एउटा मात्र कार्यक्रम भएको छ । उक्त कार्यक्रमबाट ५ लाख ८० हजार भाडा लिइएको लेखा अधिकृत यादवले जनाए । सभाहल प्रयोग गर्दा प्रतिदिन १ लाख ५० हजार रुपैयाँसम्म भाडा लिने कार्यविधि बनाइएको छ । यस्तै आधा दिन कार्यक्रम गरेको १ लाख रुपैयाँ लिने गरिन्छ । ‘तर यस अवधिमा निकै कम कार्यक्रम आयोजना भएका छन्, यतिठूलो लगानी गरेर संरचना बनाए पनि त्यसको लाभ भने नगन्य छ।
सभाहलको लागत खर्च नै धेरै पर्ने भएकाले साना कार्यक्रम गर्ने संस्थाले भाडामा लिन पनि नसक्ने अवस्था रहेको लुम्बिनी विकास कोषका सूचना अधिकारी हरिध्वज राईले जनाए । अहिले सुरक्षा गार्ड, सरसफाइ, विद्युत् र पानीको व्यवस्था कोषले नै गरेको छ । ‘यसका लागि छुट्टै कर्मचारी राख्ने हो भने भाडा उठेभन्दा धेरै खर्च हुने उनलेे बताए।
सभाहल निर्माण भएपछि लुम्बिनीको पर्यटन विकास बढ्ने अपेक्षा रहे पनि सोहीअनुसारको कार्यक्रम हुन नसकेको राईले बताए । विकास कोषले सभाहल चलाउन नसक्ने लुम्बिनी होटल एसोसिएसनका सल्लाहकार खिम श्रेष्ठले बताए । स्थानीयसित साझेदारी गरेर भए पनि हल चलाउनुपर्ने उनको भनाइ छ । यसको प्रचार गरेर कार्यक्रम आयोजनाका लागि संघसंस्थालाई आह्वान गर्नुपर्ने उनको सुझाव छ ।