११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

चीनमा पूर्व कृषि मन्त्रीलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड !


१३ आश्विन २०८२, सोमबार  


चीनमा पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई भ्रष्टाचार मामिलामा मृत्युदण्डको सजाय सुनाइएको छ।


ताङले सन् २००७ देखि २०२४ सम्म ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी घुस लिएका थिए।
अदालतले ताङलाई राजनीतिक अधिकारबाट वञ्चित गरी सम्पत्ति जफत गर्ने निर्णय गरेको छ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नगद र सम्पत्ति घुसस्वरूप लिएका थिए।

यद्यपि, उनलाई दुई वर्षको समयावधि दिइएको छ। अदालतले आफ्नो फैसलामा ताङलाई उनका राजनीतिक अधिकारहरूबाट वञ्चित गरेको छ। अदालतले ताङको सम्पूर्ण सम्पत्ति जफत गरिने र घुसमार्फत संकलन गरिएको सम्पत्ति राष्ट्रकोषमा जम्मा गरिने उल्लेख गरेको छ ।

अदालतका अनुसार, यस घुसप्रकरणले देश र जनताको हितमा ठूलो क्षति पुर्‍याएकोले ताङलाई मृत्युदण्ड दिइएको हो।

सिन्ह्वाका अनुसार, ताङले आफ्ना अपराध स्वीकार गरेका छन् र पश्चाताप पनि गरेका छन्।

यो सजायलाई राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरुद्धको अभियानको हिस्सा भनिएको छ । यसअन्तर्गत धेरै ठूला नेताहरूलाई सजाय भइसकेको छ। समर्थकहरूको भनाइमा यो अभियानले स्वच्छ शासनलाई प्रोत्साहन दिन्छ ।

उता, आलोचकहरू यसलाई सीले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने हतियारका रूपमा प्रयोग गरिरहेको बताएका छन् ।

ताङ यसअघि गान्सु प्रान्तका गभर्नर र ग्वाङ्सी स्वायत्त क्षेत्रका उपाध्यक्ष पनि रहिसकेका छन्। उनका पछि पूर्व रक्षा मन्त्रीहरू ली शाङफु र वेई फेङहे पनि भ्रष्टाचार अनुसन्धानको दायरामा परेका छन्।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ८ : १९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित