३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

भक्तपुर बोडेस्थित होल्डिङ सेन्टरमा मृत भेटिएका पासवान परिवारलाई सरकारद्वारा जमिन उपलब्ध


३१ श्रावण २०८३, आइतबार  


भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा मृत फेला परेका ५७ वर्षीय हीरालाल पासवानका परिवारलाई सरकारले तत्काल जमिन उपलब्ध गराउने भएको छ ।

सरकारले बाराको सुवर्ण गाउँपालिकामा सुकुमवासी परिवारले पाउने जमिन तत्काल उपलब्ध गराउने भएको हो ।

यस्तै, मृतकका परिवारका दुईजना सदस्यलाई रोजगारी, विद्यालय तहसम्मको शिक्षा र औषधोपचारको व्यवस्था मिलाउने सहमति पनि भएको छ । सहमतिपछि पासवान परिवार मृतकको शव पोस्टमार्टम गरी दाहसंस्कारका लागि तयार भएका थिए ।

शुक्रबार सरकार र पीडित पक्षबीच ५ बुँदै सहमति भएको हो । भएको सहमतिमा मृतक परिवारका तर्फबाट छोरा(बुहारी रवि(अञ्जलीले र सरकारका तर्फबाट सांसद पुरुषोत्तम यादव, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट, भूमि समस्या समाधान समितिका सदस्य अमिर न्यौपाने र उपसचिव सञ्जीव साहले हस्ताक्षर गरेका छन् ।

थापाथलीस्थित सुकुमवासी बस्तीबाट विस्थापित भएको पासवान परिवार कृषि विकास बैंक केन्द्रीय तालिम प्रतिष्ठान बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएको थियो । सरकारले सुकुमवासी बस्ती भत्काएपछि सुरुमा उनीहरु कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रस्थित होल्डिङ सेन्टरमा पुगेका थिए । २७ असारमा होल्डिङ सेन्टरभित्रै बाढी पसेपछि सरकारले उनीहरूलाई बोडे सारिएको थियो ।

हीरालालका छोराबुहारी र दुई नातिनी पनि छन् । छोरा रवि ज्याला मजदुरीको काम गर्दै आएका थिए ।

प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार बिहीबार हीरालाल कोठाभित्र मृत फेला परेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  २ : १९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित