२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

दसैँअघि राजमार्ग सञ्चालन गर्ने सरकारी तयारी,वर्षातकाे जाेखिम उत्तिकै


१७ आश्विन २०८१, बिहिबार  


यही असाेजमा तीन दिनसम्मको अविरल वर्षापछि आएको बाढी र पहिरोले देशका अधिकांश राजमार्गमा ठूलो क्षति पुगेको छ।

दशैसम्मुखमा परेको झरीले २ सय ३३ जनाकाे ज्यान लियो भने कराेडाैकाे भा‌ैतिक नाेक्शानी भएको छ। झरीले ललितपुरको कोन्ज्योसोम, महांकाल र बागमती तथा काभ्रेको बेथानचोक गाउँपालिकाका केही गाउँ अझै राजधानी काठमाडौंबाट सम्पर्कविच्छेदको अवस्थामा छन् । क्षतिग्रस्त विद्युत् जडान हुन सकेको छैन । विद्युत् नहुँदा टेलिफोनका टावर सञ्चालन हुन सकेका छैनन् । ती गाउँपालिकामा खानेपानीको चरम अभाव देखिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले विशेष गरी ललितपुरको गोटिखेल, मानिखेल, आस्राङलगायत गाउँमा सात दिनदेखि टेलिफोन सिग्नल अवरुद्ध छ । पहिरोले बिजुलीको पोल ठाउँठाउँमा ढालेकाले यी ठाउँ अन्धकार छन् । त्यस्तै, सडक नहुँदा गाउँमा उद्धार सामग्री पुर्‍याउन सकस भएको छ । बाढी र पहिरोले ध्वस्त बनाएको ६ दिन(बुधबार)पछि मात्रै उक्त क्षेत्रमा हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याउन सकिएको एसएसपी खनालले बताए । 

‘बिजुलीका पोल ढलेका छन् । गाउँमा विद्युत् छैन । टेलिफोनका टावर चल्न सकेका छैनन् । सडक भत्किएका छन् । आज मात्रै सुरक्षाकर्मीले डिजेल बोकेर पुर्‍याएका छन् । अब केही ब्याकअप होला । टावरसँगै टेलिफोन सञ्चालनमा आउला,’ उनले भने, ‘राहत सामग्री लैजान पनि सहज छैन । आजै केही ठाउँमा हेलिकोप्टरबाट राहत सामग्री झारिएको छ ।’

त्यस्तै, काभ्रेको बेथानचोक र रोशी गाउँपालिका तथा नमोबुद्ध र पनौती नगरपालिकाका गाउँमा टेलिफोन चल्न सकेको छैन । विद्युत् नहुँदा गाउँ अन्धकार छन् । सडक पूर्ण रूपमा ध्वस्त हुँदा राहत सामग्री लैजान सकिएको छैन । जिल्ला प्रहरी कार्यालय  काभ्रेका प्रमुख एसपी वसुन्धरा खड्काले बेथानचोक, रोशी गाउँपालिका तथा नमोबुद्ध र पनौती नगरपालिकाका गाउँ सम्पर्कविच्छेदको अवस्थामा रहेको बताइन् । उनले भनिन्, ‘काभ्रेका दुई गाउँपालिका र दुई नगरपालिकाका गाउँमा अझै टेलिफोन चल्न सकेको छैन । सडकछेउमा रहेका विद्युत्का पोल ढलेका छन् । विद्युत् सुचारु छैन । त्यसो हुँदा टेलिफोन चल्न सक्ने अवस्था छैन । विशेष गरी बिपी राजमार्गअन्तर्गतका क्षेत्रमा सञ्चार सम्पर्क अवरुद्ध छ । ती क्षेत्रमा राहतको सामग्री भने गएको छ ।’

बाढी र पहिरोले मकवानपुर, काठमाडौं र ललितपुर जोड्ने काठमाडौं–दक्षिणकाली–सिस्नेरी सडकखण्ड, लेले–टीकाभैरव सडकखण्ड, कुलेखानी–भीमफेदी–फाखेल–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन् । त्यस्तै, बिपी राजमार्गको काभ्रे रोशी खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ भने सिन्धुलीको सुनकोशी गाउँपालिका– १ मा पनि पूर्णरूपमा बन्द छ । त्यस्तै, अरनिको राजमार्ग सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ३ क्षेत्रमा तथा सिन्धुली–खुर्कोट जोड्ने सडक रामेछापको मन्थली नगरपालिका–६ क्षेत्रमा पूर्ण रूपमा बन्द छ । यी सडकलाई दसैँअघि ट्रयाक मात्रै खोलेर भए पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको गृह मन्त्रालयका सूचना अधिकारी तामाङले जानकारी दिए । ‘दसैँअघि ट्रयाक मात्रै खोलेर भए पनि सबै सडक सञ्चालन गर्ने तयारीमा सरकार लागेको छ । सडक विभागलाई दु्रत गतिमा काम गर्न निर्देशन भइसकेको छ । काम पनि सोही ढंगले अघि बढेको छ,’ उनले भने ।

बाढी र पहिरोमा मृत्यु हुने २३३ पुगे, २५ अझै बेपत्ता 

तीन दिनसम्मको अविरल वर्षापछि आएको बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या २३३ पुगेको छ भने २५ जना अझै बेपत्ता छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार काभ्रेमा सबैभन्दा धेरैको मृत्यु भएको छ । काभ्रेमा मात्रै ६९ जनाले ज्यान गुमाएका छन् भने ६ जना अझै बेपत्ता छन् । काठमाडौंमा ५२ को मृत्यु भएको छ । दुईजना बेपत्ता छन् । ललितपुरमा ४४ को मृत्यु हुँदा सातजना बेपत्ता रहेको गृहको तथ्यांक छ । त्यस्तै, सिन्धुपाल्चोकमा १३, मकवानपुरमा ११, दोलखामा सात, सोलुमा पाँच, धादिङमा चारजनाले ज्यान गुमाएका छन् । बाँकी २८ मृतक अन्य जिल्लाका हुन् । गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले भने, ‘अविरल वर्षापछि आएको बाढी र पहिरोमा हालसम्म २३३ को मृत्यु भएको छ । २५ अझै बेपत्ता छन् । सुरक्षाकर्मी परिचालन गरेर उनीहरूको खोजी जारी छ ।’ 

धादिङका राजमार्गको यात्रा असहज

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले संघीय राजधानी जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको यात्रा सहज बनाउने बताएका छन् । केही दिनअघि मात्र प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा धादिङ आएका उनले बुधबार पत्रकार भेटघाटमा राजमार्गको यात्रा सहज बनाउने प्रयास भइरहेको बताएका हुन् । ‘हामी विपत्पछि छौँ । केही दिनअघि मात्रै ठूलो विपत्तिको सामना गरेका गर्‍यौँ । ठूलो जनधनको क्षति व्यहोरेका छौँ,’ उनले भने, ‘विपत्लगायत सडक सुरक्षामा विशेष ध्यान दिनेछौँ । ट्राफिक प्रहरीलगायतको टोली परिचालन गरेर होस् या सडक मर्मत तथा अन्य काम गरेर भए पनि चाडपर्वको समयमा सहज रूपमा यात्रा गर्ने वातावरण बनाउँछौँ ।’ पृथ्वी राजमार्गमा चाडपर्वका समयमा गत वर्ष दैनिक १७ हजारभन्दा बढी सवारी आवतजावत गरेका थिए । यस वर्ष बिपी राजमार्ग अवरुद्ध बनेका कारण २५ हजारभन्दा बढी सवारी गुड्ने अनुमान गरिएको छ । 

रामेछाप–दोलखा हुँदै काठमाडौंसम्म गाडी चल्ने
अविरल वर्षापछि एक सातादेखि अवरुद्ध रामेछाप–काठमाडौंसम्मको सडक बिहीबारबाट नियमित रूपमा सञ्चालन हुने भएका छन् । अत्यधिक वर्षाका कारण रोशीखोला, सुनकोशी र तामाकोशी नदीमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने सुनकोशी नदीमा रहेको पुष्पलाल राजमार्गको मोटरेबल पुल बगाएसँगै बिपी राजमार्गका विभिन्न स्थानमा सडक तहसनहस बनाएको थियो ।

दोलखाको तामाकोशी गाउँपालिकाको किर्नेटारस्थित हाइड्रोपावरनजिकैको सडकसमेत कटान गरी सडक अवरुद्ध भएको हुँदा रामेछापबाट काठमाडौंसम्मको यात्रा अवरोध हुन पुगेको थियो ।अस्थायी रूपमा सडक खुलेसँगै बिहीबारबाट रामेछापबाट दोलखा हुँदै काठमाडौंसम्म नियमित यातायातका साधन सञ्चालन गरिने अरनिको यातायात सेवा समितिका रामेछाप काउन्टर प्रमुख सुवास फुयाँलले बताए । ‘वर्षाले ग्रामीण सडक क्षतविक्षत पारेका कारण अहिले तत्काल गाउँगाउँसम्म यातायातका साधन सञ्चालन गर्न कठिनाइ भएको छ । जति सडक सुरक्षित छन्, ती सबै रुटमा निर्विवाद रूपले यातायात सेवा सञ्चालन गरिनेछ,’ उनले भने । 

उता माैसमविद् मनसुन सक्रिय रहेको बताए छन् ।उनीहरूका अनुसार बिहीबार काेशी,बागमती र गण्डकी सामान्यदेखि मध्यम वर्षा भएको छ। वर्षातकाे जाेखिम भएकोले यात्रा गर्दा सतर्क रहन सुझाएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ११ : २० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित